१३ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

कार्यवाहक महासचिव पाण्डेयको नागरिकता छानबिन गर्दै समिति

प्रतिनिधिसभाका कार्यवाहक महासचिव पद्मप्रसाद पाण्डेयको दुई पटक नागरिकता सच्याएको प्रमाण संसदीय समितिमा पुगेको छ।

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले अध्ययन थालेपछि गृह मन्त्रालयले सप्रमाण समितिमा पठाएको हो। समितिमा प्राप्त कागजात अनुसार दुई पटक मिति परिवर्तन गरेर नागरिकता लिएको पाइएको छ। 

समिति सभापति रामहरि खतिवडाले भने गृहले पठाएको विवरण प्राप्त भएको छ, अब अध्यागमन र निजामती किताब खानाको विवरण हेरेपछि समितिले निष्कर्ष निकाल्ने छ। पाण्डेयले नागरिकता लिएर के के कुरामा दुरुपयोग भयो भन्ने कुराको अध्ययन गर्ने समितिको तयारी छ। समितिले सबै विवरण माग गरेपछि कार्यवाहक महासचिव पाण्डेयलाई पनि समितिले सोधपुछ गर्ने तयारी गरेको छ। पाण्डेयले नागरिकता र राहदानीमा किर्ते गरेको उजुरी परेपछि समितिले गृहलाई पत्राचार गर्दै विभिन्न मितिमा जारी भएका नेपाली नागरिकताको प्रमाणपत्रसँग सम्बन्धित कागजातहरू माग गरेको थियो।

गृहले जिल्ला प्रशासन कार्यालय पाल्पाबाट प्राप्त कागजातहरू समितिमा पठाएको हो। पाण्डेयले २०४६ असार २८ गते पहिलो नागरिकता लिँदा जन्म मिति २०२६ असोज १५ कायम गरेका थिए।

यसै गरी,२०६६ भदौ ८ गते लिएको दोस्रो नागरिकतामा जन्म मिति २०३२ पुस २६ गते कायम गरेका थिए। तेस्रो पटक २०७६ मंसिर २२ गते लिएको नागरिकतामा जन्म मिति २०२६ असोज १५ गते सुरुको जन्म मिति कायम गरिएको छ। पाण्डेयले दोस्रो पटक लिएको नागरिकताको आधारमा राहदानी बनाएको छ कि छैन अध्ययन भइरहेको छ।

गत मंसिर २४ गते सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना सहितको व्यवस्थापन समितिले संसद्को महासचिवका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको थियो। प्रतिनिधिसभाको सचिव रहेका उनले राजीनामा नदिईकन महासचिवमा सिफारिस भएको भन्दै राष्ट्रपतिबाट नियुक्ति प्रक्रिया रोकिएको छ। यसैबीच उनको नागरिकताको विषय पनि जोडिएकाले अब उनको नागरिकता दुरुपयोग भए नभएको यकिन नभएसम्म नियुक्ति प्रक्रिया लम्बिने देखिएको छ। अहिले महासचिव नभएकाले उनलाई कार्यवाहक महासचिवको जिम्मेवारी दिइएको छ।

प्रकाशित: १२ माघ २०८० १४:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App