मुलुकको कार्यकारी प्रमुखको काम दैनिक प्रशासन सञ्चालन तथा सुशासन कायम गर्दै देशको आर्थिक विकास र समृद्धिका आयोजना कार्यक्रम निर्माण गर्ने र त्यसलाई कार्यान्वयनमा लैजाने हो। तर प्रधानमन्त्री पुष्पकमल दाहालको दैनिकी भने ज्ञापनपत्र बुझ्ने र सानातिना कार्यक्रमको उद्घाटन गर्नेमै बित्ने गरेको छ। त्यो पनि एक दिन होइन, हरेक दिन सानातिना कार्यक्रममा सहभागी हुन उनलाई भ्याइनभ्याइ छ।
तेस्रोपटक मुलुकको कार्यकारी प्रमुख प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेको एक वर्षका अवसरमा विगतको कार्यशैली बदल्ने दाहालले घोषणा गरेका थिए। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा नियमित जाने मात्र होइन, समय दिएर काम गर्ने वाचासमेत गरेका दाहाल सोमबार मात्र राष्ट्रपति भवन शीतल निवासदेखि सिंहदबारसम्मका कार्यक्रममा सहभागी भए। त्यति मात्र होइन, अर्घाखाँचीमा महोत्सवको उद्घाटनदेखि टुँडिखेलमा माघीका अवसरमा आयोजित दुई कार्यक्रममा सहभागी हुनसमेत उनले भ्याएका छन्।
प्रशासनिक क्षेत्रको सर्वोच्च निकायको प्रमुखका रूपमा समेत रहने प्रधानमन्त्री दाहालले सोमबार खानीपानीको धारो खोल्नेसमेत गरी पाँचवटा कार्यक्रममा भाषण दिन भ्याए। राजनीतिक र प्रशासनिक दुवै दृष्टिकोणले उच्च निर्णय लिने, निर्देशन दिने र समन्वय एवं नियन्त्रण गर्ने प्रधानमन्त्री मुलुकको प्रशासनका केन्द्रबिन्दु पनि हुन्। सबै मन्त्रालयको कामको रेखदेख, नियन्त्रण, निरीक्षण, परीक्षण, समन्वय, अनुगमन तथा मूल्यांकनसम्बन्धी काम प्रधानमन्त्री कार्यालयको कार्यक्षेत्रभित्र पर्छ। प्रधानमन्त्रीलाई मात्रै होइन, मन्त्रीहरूलाई पनि प्रायजसो सार्वजनिक कार्यक्रम उद्घाटनदेखि भाषण गर्न भ्याइनभ्याइ हुन्छ।
प्रधानमन्त्री दाहाल सोमबार बिहानै संघीय संसद्मा प्रतिनिधित्व गर्ने दलका नेतासँग शीतल निवासमा शुभकामना आदानप्रदान कार्यक्रममा पुगे। बिहानै निर्धारित समयभन्दा अघि नै प्रधानमन्त्री त्यहाँ पुगेर फर्केका थिए। त्यसपछि उनले सिंहदरबारमा आएर मेलम्ची खानेपानीको वितरण कार्यक्रम उद्घाटन गरे। यसअघि पनि चारपटक उद्घाटन भइसकेको मेलम्ची खानेपानी वितरण कार्यक्रममा प्रधानमन्त्री दाहालले सिंहदरबारभित्रै बनाइएको धारो खोलेर उद्घाटन गरे। उनीसँगै मन्त्रीको लस्कर पनि उद्घाटन कार्यक्रममा उपस्थित थियो।
सोमबार नै प्रधानमन्त्री दाहाल अर्घाखाँची पुगे। नेपाल पत्रकार महासंघ अर्घाखाँचीद्वारा सन्धिखर्कमा आयोजित ‘आर्थिक विकास, पर्यटन प्रवद्र्धन, स्थानीय रोजगारीका लागि अर्घाखाँची प्रवद्र्धन’को उद्घाटन गर्न उनी त्यहाँ पुगेका थिए। उनी नेपाली सेनाको हेलिकोप्टरबाट त्यहाँ पुगेका थिए। त्यहाँबाट फर्केर आएका प्रधानमन्त्री दाहाल टुँडिखेल गए। काठमाडौंको टुँडिखेलमा आयोजित थारू समुदायको ‘माघी’ पर्व र मगर समुदायको ‘माघे सकराती’ पर्वमा भाषण गर्न उनले भ्याएका थिए दुवै कार्यक्रम प्रधानमन्त्री दाहालले नै उद्घाटन गरेका थिए।
जहाँ पुग्छन्, खुसी पार्ने गरी बोल्छन्
प्रधानमन्त्री दाहालले सोमबार जहाँजहाँ पुगे त्यहाँ भएका कार्यक्रमअनुसार मिलाएर फरकफरक बोले। उनले आफू पुगेका कार्यक्रममा कुनै पनि कसर बाँकी नराखेर सबै समस्या समाधान गर्ने प्रतिबद्धता जनाउँदै आएका छन्।
प्रधानमन्त्री दाहालले थारू समुदायको कार्यक्रममा वर्तमान संविधान राजनीतिक सन्तुलन र सहमतिको दस्तावेज भएकोप्रति जोड दिँदै अधिकारको रक्षा र सुदृढ नगर्दा वर्तमानका उपलब्धिहरूसमेत गुम्न सक्ने बताए। उनले संविधानमा लेखिएका सबै अधिकार सम्बोधन गर्ने प्रतिबद्धता जनाए।
‘नेपालको संविधान देशमा विद्यमान राजनीतिक शक्तिहरूको सन्तुलन र सम्झौताको दस्तावेज भएका कारण उत्पीडित वर्ग, जाति, क्षेत्र, लिंग र समुदायका महŒवपूर्ण मागहरू सम्बोधन भए पनि संविधानमा सम्पूर्ण अधिकार न्यायोचित ढंगले व्यवस्था गर्न सकिएको छैन,’ उनले भने, ‘यसका लागि प्राप्त अधिकारको रक्षा र सुदृढीकरणसहित थप अधिकारका निम्ति रचनात्मक पहल लिनु आवश्यक छ।’
टुँडिखेलमै मगर समुदायको ‘माघे सकराती’ पर्वको पनि आयोजना भइरहेको थियो। उक्त कार्यक्रममा पनि प्रधानमन्त्री दाहालले लखन थापालाई राष्ट्रिय विभूति घोषणा गर्ने प्रतिबद्धता जनाए। उनले निरंकुशताविरूद्ध संघर्ष गरेका योद्धा लखन थापा मगरलाई राष्ट्रिय विभूति घोषणा गर्नु न्यायोचित हुने बताउँदै त्यसका लागि आफ्नो तर्फबाट पहल हुने बताए। ‘शासक वर्गको कठोर निरंकुशताविरूद्ध लड्न जनस्तरबाट उठेका एक क्रान्तिकारी नेता लखन थापालाई राष्ट्रिय विभूति बनाउनुपर्छ भन्ने तपाईंहरूको मागप्रति म पूर्ण रूपमा सहमत छु,’ प्रधानमन्त्री दाहालले भने, ‘यसले देशभक्तिको पक्षमा, जनताको परिवर्तनको पक्षमा, निरंकुशताविरूद्ध लोकतन्त्रको पक्षमा, बलिदान गर्ने सम्पूर्ण सहिदहरूप्रति उच्च सम्मान हुनुका साथै नेपालको क्रान्तिकारी आन्दोलन र राजनीतिक योद्धाहरूको सम्मान हुनेछ।’
अर्घाखाँचीको कार्यक्रममा प्रधानमन्त्री दाहालले आफू सत्तामा आएपछि अर्थतन्त्रमा सुधार भएको दाबी गरे। उनले भने, ‘यस अवधिमा अर्थतन्त्रमा महŒवपूर्ण सुधार आएको छ। विदेशी मुद्राको सञ्चितिमा इतिहासमै ठुलो प्रगति भएको छ।’ पर्यटन आगमनमा गुणात्मक वृद्धि भएको उनले बताए। साथै बैंकको ब्याजदरमा कटौती, सहकारी, लघुवित्तको समस्या सम्बोधन भएको समेत बताए। उनले विप्रेषणमा वृद्धि भएको बताउँदै शिथिल भएको उद्योग व्यवसाय चलायमान हुन थालेको दाबी गरेका छन्।
प्रकाशित: २ माघ २०८० ००:३२ मंगलबार