काठमाडौँ – राष्ट्रियसभा सदस्यकाे निर्वाचन शुरु भएको छ । २ नम्बर प्रदेश बाहेक अन्य प्रदेशमा बुधबार विहान १० बजेबाट मतदान शुरु भएको हो।
२ नम्बर प्रदेशमा आठै सिटमा निर्विरोध मनोनयन भैसकेकाे कारण बाँकी १,३,५,६ र ७ नम्बर प्रदेशमा निर्वाचन भएको हो।
संविधानअनुसार एकल संक्रमणीय मत प्रणालीअनुसार प्रत्येक प्रदेशबाट ८ जनाका दरले कुल ५६ जना निर्वाचित हुने र ३ जना राष्ट्रपतिबाट मनोनित हुनेछन् । ५६ पदमध्ये २४ जना निर्विरोध निर्वाचित भइसकेकाले ३२ पदका लागि निर्वाचन हुन लागेको छ । प्रत्येक प्रदेशबाट निर्वाचित हुने आठ जनामध्ये महिला तीन, दलित एक, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदायबाट एक र अन्य तीनजना हुनेछन्।
निर्वाचन आयोगका अनुसार राष्ट्रियसभा निर्वाचनमा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाका प्रमुख, उपप्रमुख र प्रदेश सभाका सदस्य गरी कुल २ हजार ५६ मतदाता छन्। गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र नगरपालिकाका प्रमुख, उपप्रमुख गरी १५ सय ६ जना र ५ सय ५० जना प्रदेशसभाका सदस्य छन्। निर्वाचनमा गाउँपालिका नगरपालिकाका प्रमुख उपप्रमुखको मतभार १८ र प्रदेशभा सदस्यको मतभार ४८ रहने व्यवस्था छ।
तस्बिर सबै दिपेश श्रेष्ठ