२ मंसिर २०८१ आइतबार
image/svg+xml
राजनीति

सरकार गठन र एकता सँगसँगै

काठमाडौं– एमाले र माओवादीबीच जारी गतिरोध अन्त्य र सरकार निर्माण प्रक्रियालाई तीव्रता दिनेगरी दुईदलीय वार्ता अघि बढ्ने भएको छ । दुवै दलका अध्यक्षबीच बुधबार बिहान हुने छलफलमा पार्टी एकता र सरकार गठनको विषयमा सँगसँगै छलफल हुने भएको छ।

बिहान नौ बजे सुरुमा दुवै अध्यक्षबीच मात्रै र त्यसपछि एमाले र माओवादीका दोस्रो तहका नेताबीच वार्ता हुने दुवै दलले जनाएका छन् । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पहिले दुवै दलका अध्यक्ष र त्यसपछि दुवै दलका दोस्रो तहका नेताबीच छलफल अघि बढ्ने बताए । ‘अहिलेसम्म विषयहरुमा गम्भीर रुपमा छलफल सुरु भएको छैन । केही बिग्रेको पनि छैन । दुवै नेताहरु निरन्तर सम्पर्कमै हुनुहुन्छ,’ श्रेष्ठले भने, ‘राजनीतिक गतिरोध अन्त्य र नयाँ सरकार गठन प्रक्रिया अघि बढाउने विषयमा छलफल हुनेछ । पार्टी एकताको विषयमा पनि छलफल हुनेछ ।’

शुक्रबार चितवनतर्फ लागेका दाहाल मंगलबार अपराह्न राजधानी फर्किएका छन् । पार्टी एकतासहितका विषयमा दुवै दलबीच विवाद नभएको दाबी गर्दै एमाले सचिव प्रदीप ज्ञवालीले विषयलाई नियोजित रुपमा प्रस्तुत गरिएको बताए ।

‘दुवै अध्यक्षबीच निरन्तर रुपमा सम्पर्क हुँदै आएको छ । कुनै प्रकारको विषयमा कुनै समस्या पनि छैन,’ एमाले सचिव प्रदीप ज्ञवालीले भने, ‘विषयलाई नियोजित रुपमा प्रस्तुत गरिएको छैन । एकता र सरकार निर्माणको विषयमा कुनै समस्या छैन ।’

चुनावलगत्तै पार्टी एकीकरण प्रक्रिया सुरु गर्ने भने पनि एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष दाहालबीच दुईपटक मात्रै औपचारिक वार्ता भएका छन् । दुवै नेताले संयुक्त पत्रकार सम्मेलन आयोजना गरी सरकार गठनका लागि कांग्रेसलाई बाटो खोल्न आग्रह गर्नुका साथै पार्टी एकीकरणमा विषयमा उठेका जिज्ञासा मेटाउने कोसिस गरेका थिए ।

लामो समयसम्म दुवै दलबीच औपचारिक संवाद नहुँदा दुवै दलबीच असहमति बढेको आशंका विभिन्न पक्षबाट भएको छ । पार्टी र सरकारको नेतृत्व विषयमा एमाले र माओवादीका नेताबाट व्यक्त फरकफरक धारणाले आशंकालाई बल पु¥याउने काम गरिरहेको छ । एमाले अध्यक्ष ओलीको नेतृत्वमा नयाँ सरकार बने पनि एकीकृत पार्टीको नेतृत्वबारेमा असमझदारी देखिएको छ । पछिल्लो समयमा राष्ट्रियसभा निर्वाचन प्रणालीबारेमा पनि दुवै दलबाट फरकफरक धारणा सार्वजनिक भएको छ । बहुमतीय निर्वाचन प्रणालीबाट राष्ट्रियसभा गठन हुनुपर्ने एमालेको अडानसँग बाझिने गरी माओवादीका नेताका अभिव्यक्ति आएका छन् । कांग्रेसले एकल संक्रमणीय निर्वाचन प्रणालीबाट चुनाव हुनुपर्ने माग गर्दै आएको छ ।

पछिल्लो समयमा अध्यक्ष दाहालले नै एमालेले मधेसवादी दलहरुसँग मिलेर सरकार बनाउन खोजेको भन्ने अभिव्यक्ति दिएका थिए । एमाले नेताले माओवादीलाई बाहिर राखेर नभई मधेसवादी दललाई पनि सरकारमा ल्याउने कोसिस भएको बताएका थिए ।

एमाले र माओवादीले असोज तेस्रो साता दुवै पार्टी एकीकरण गर्ने घोषणा गर्दै त्यसको प्रारम्भ चुनावी तालमेलबाट सुरु हुने बताएका थिए । दुई चरणमा भएको प्रतिनिधि तथा प्रदेशसभाका चुनावमा दुवै दलले ४० र ६० को अनुपातमा तालमेल गरेका थिए । मंसिर १० र २१ गते भएको चुनावमा प्रत्यक्षतर्फ वामपन्थी गठबन्धनले करिब दुईतिहाइ बहुमत ल्याएको छ भने सात प्रदेशमध्ये छ प्रदेशमा सरकार बनाउने अवस्थामा छ । 

दुवै दलका नेताले जनताले पार्टी एकताको विषयलाई अनुमोदन गरेको भन्दै पाँच वर्ष स्थिर सरकारको विषयलाई अघि सारेका थिए। चुनावपछि भएका दुवै दलका बैठकले एकीकरणको विषय अघि बढाउने विषयमा औपचारिक निर्णय गरेका छन्।

प्रकाशित: १२ पुस २०७४ ०१:५० बुधबार

सरकार गठन एकता सँगसँगै