९ आश्विन २०८१ बुधबार
image/svg+xml
राजनीति

सरकार गठनको मार्गप्रशस्त गर्न वाम गठबन्धनको आग्रह

काठमाडौं- नेकपा एमाले र माओवादी नेतृत्वको वाम गठबन्धनले ताजा जनादेशलाई सम्मान गर्दै सरकार गठनका लागि मार्गप्रशस्त गर्न आह्वान गरेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रियसभा अध्यादेश पारित भएपछि मात्रै सरकार छाड्ने अडान राखिरहेका बेला वाम गठबन्धनका प्रमुख नेताले भने नयाँ सरकार निर्माणका लागि मार्गप्रशस्त गर्न सामूहिक रूपमा आह्वान गरेका हुन् ।
निर्वाचन परिणाम आइसकेपछि सार्वजनिक भएका कामचलाउ सरकारका अभिव्यक्ति र क्रियाकलाप संविधान, अन्तर्राष्ट्रिय प्रचलन र विगतका अभ्यासविपरीत रहेको आरोप वाम गठबन्धनका नेताहरुको छ । ‘सरकारको यस किसिमको व्यवहारबाट नयाँ सरकार गठन, संविधान कार्यान्वयन र लोकतन्त्रको सहज अभ्यासमा अवरोध हुनुका साथै जनमतको अवमूल्यन तथा अनादरसमेत भएको छ,’ गठबन्धनले भनेको छ, ‘हामी प्रधानमन्त्रीलाई संविधानको गलत व्याख्या नगर्न, संविधानको सहज कार्यान्वयनमा अवरोध नगर्न र संविधानसम्मत एवं लोकतान्त्रिक विधिका साथ प्रकट भएको जनमतलाई अवमूल्यन तथा अनादर नगर्न र ताजा जनादेशअनुरुप नयाँ सरकार गठन गर्नका लागि मार्गप्रशस्त गर्न आह्वान गर्दछौं ।’
सरकार गठनका लागि सुविधाजनक बहुमत प्राप्त गरेलगत्तै एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आइतबार संयुक्त रुपमा पत्रकार सम्मेलन गरी यस्तो आह्वान गरेका हुन् । केन्द्रीय एकता संयोजन समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा दुवै नेताले छिट्टै पार्टी एकीकरण हुने बताए ।
ओली र दाहाल दुवैले राष्ट्रियसभा गठनसम्बन्धी प्रधानमन्त्री देउवाको अडानलाई अस्वीकार गरेका छन् । ‘संविधानमा पनि कहींकतै एकल संक्रमणीय भनेर उल्लेख गरिएको छैन । यो बाध्यकारी छैन तर यो राजनीतिक सहमतिमा भने गर्न सकिन्छ,’ दाहालले भने । दाहालले तोकिएको समयमै निर्वाचन सम्पन्न गराएर जस लिन पाएका प्रधानमन्त्री देउवालाई झिनामसिना कुरामा अड्किई अपजसको भारी बोकेर नबाहिरिन सुझाव दिएका छन् ।
ओलीले राष्ट्रियसभा गठन र सरकार गठनबारे कुनै सम्बन्ध नभएकोसमेत प्रस्ट पारेका छन् । प्रतिनिधिसभाले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, उपसभामुखलगायत निर्वाचित गर्नेछ, जसका लागि राष्ट्रियसभा नचाहिने तर्क ओलीको छ । ‘प्रदेश र जनप्रतिनिधिले राष्ट्रियसभा सदस्य निर्वाचन गर्ने हो, यसमा सरकार गठनको के साइनो छ ?’ ओलीले भने, ‘असंवैधानिक प्रस्तावहरु राष्ट्रपतिले जारी गर्नु हुँदैन र प्रधानमन्त्रीले पनि असंवैधानिक काम गर्न राष्ट्रपतिलाई उक्साउनु हुँदैन ।’
सरकार गठनका लागि कम्तीमा प्रतिनिधिसभाले पूर्णता पाउनुपर्नेमा भने ओलीले सहमति जाहेर गरेका छन् । उनले भने, ‘प्रतिनिधिसभा पूर्ण नभईकन सरकार छाड्नु भनेको होइन, पहिला मत हाल्ने उम्मेदवार त हुनुप¥यो नि । सरकारले जुन अभिव्यक्ति दिइरहेको छ, हामीले त्यसप्रति आपत्ति जनाएका हौं ।’ ओलीले आफू प्रधानमन्त्री भएका बेला बाधाअड्काउ फुकाएर भए पनि सरकार छाडेको स्मरण गरे ।
‘नयाँ सरकार बनेपछि राष्ट्रियसभा गठन हुन्छ, त्यसअघि हुँदैन,’ ओलीले भने, ‘बिएल गरेको छु भन्छन्, संविधानको व्याख्या पोलिटिकल्ली गर्छन्,’ ओलीले व्यंग्य गरे ।
वामपन्थीको सरकार आएमा विदेशी लगानी नआउने जस्ता अभिव्यक्तिप्रति पनि ओलीले आपत्ति जनाए । ‘मुलुकको अर्थतन्त्र बलियो नहोस्, विदेशी पुँजी नआओस् भनेर कथित बुद्धिजीवीहरु देशको अर्थतन्त्रलाई दूरगामी नोक्सान पार्न विष छर्ने काम गरिरहेका छन्,’ ओलीले भने । उनले यी सबै कुराको जबाफ नयाँ सरकार गठनको तीन महिनाभित्र प्राप्त हुनेछ भन्दै प्रतीक्षा गर्न आग्रहसमेत गरे ।

‘खेलको बीचमा नियम घुसाउन पाइँदैन’
राष्ट्रियसभा गठनबारे कांग्रेस सरकारले बहुमतीय प्रणाली भनेर विधेयक तयार पारी लैजाने प्रयास गरेको थियो । एमालेले त्यसमा आपत्ति जनाउँदै एकल संक्रमणीयअनुरुप हुनुपर्ने अडान राख्यो । तर कांग्रेसले एमाले प्रस्तावलाई स्वीकार नगरी बहुमतीयकै अडानमा बस्यो । कांग्रेसले बहुमतीयमा अडान लिनुको कारण माओवादी–कांग्रेसबीच गठबन्धन ‘ब्याकअप’ मा थियो ।
कांग्रेस सरकारमै रहँदाको बखतमा माओवादी–एमाले गठबन्धनमा मिसिन आयो र चुनावी मैदानमा उत्रियो । त्यसपछि आफ्नै पूर्वअडानका कारण कांग्रेस अप्ठ्यारोमा प¥यो । एमालेले भने माओवादीसँग तालमेल भएलगत्तै कांग्रेसले राखेको बहुमतीय प्रस्ताव स्वीकार गरिदियो । जसका कारण संसद्को अन्तिम बैठकको कार्यसूचीमा राखिए तापनि एकल संक्रमणीय प्रणाली पारित हुन नसक्ने देखिएपछि सरकारले त्यसलाई टेबुल नै गराएन । अहिले त्यसलाई अध्यादेशमार्फत राष्ट्रपतिसमक्ष पेस गरिएको छ । त्यहाँबाट प्रमाणीकरण हुन सकेको छैन ।
अहिले एमाले सुरुमा कांग्रेसले राखेको प्रस्तावका पक्षमा उभिएको छ भने कांग्रेस पूर्ववत् अडान छाडेर एकल संक्रमणीयमा झरेको छ । एमाले अध्यक्ष ओलीलाई खेल सुरु भएपछि नियम परिवर्तन गर्न खोजेको भन्दै कांग्रेसको आलोचना गरेका छन् । उनले भने, ‘खेल सुरु भएपछि बीचमा नियम परिवर्तन गर्न पाइँदैन, खेल खेल्नुअघि नै नियम बनाइनुपर्छ । हामी खेलअगाडिको नियम मान्छांैं, बीचमा घुसाइएको नियम मान्दैनौं ।’

प्रकाशित: ३ पुस २०७४ ०३:३१ सोमबार

सरकार गठनको मार्गप्रशस्त गर्न वाम गठबन्धनको आग्रह