८ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

निर्वाचन नजिकिएसँगै आचारसहिंता उल्लंघन वृद्धि

ललितपुर –  निर्वाचन नजिकिँदै गर्दा जिल्लाका विभिन्न स्थानमा उम्मेदवार र तिनका समर्थकले आचारसंहिताको उल्लंघन गर्ने क्रम बढेको छ। 

उम्मेदवारी दर्तापछि शुरुका दिनमा आचारसहिंता पालना भइरहे पनि निर्वाचन नजिकिँदै गर्दा उल्लंघन बढेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका आचारसहिंता अनुगमन अधिकृत भीम पाण्डेले बताए। उनले भने, “जिल्लाका विभिन्न भागमा ब्यानर, पम्प्लेट टाँस्ने काम बढिरहेको छ।” 

शहरका भित्री भागभन्दा पनि चक्रपथ बाहिर उम्मेदवारका प्रचार सामग्री टाँसिएको र झुण्ड्याएको बढी पाइएको छ। दलका उम्मेदवार मात्रै होइन, आचारसहिंताको उल्लंघन गर्नेमा स्वतन्त्र उम्मेदवारसमेत छन्। 

आचारसहिंता पालना गराउनका लागि जिल्लास्तरमा सर्वदलीय बैठक भइरहेका छन् । बैठकमा आचारसहिंता विपरीत राखिएका पर्चा, पम्प्लेट हटाउन दल र उम्मेदवारलाई पटक पटक सम्झाइएको पाण्डे बताउँछन्। कार्यालयले लिखित र मौखिक दुवै रुपमा उम्मेदवारलाई आचारसंहिताको पालना गर्न सम्झाइरहेको छ। उनले भने, “हामीले यही मंसिर १४ गते लिखित रुपमा नै बढी प्रचार सामग्री भएका दल र उम्मेदवारलाई हटाउन भनेका थियौंँ।” 

आचारसहिंता विपरीत राखिएका प्रचार सामग्री हटाउन कतिले माने पनि कतिपयले अटेर गर्ने गरेको पाण्डे बताउँछन्। उनले भने, “हामीले भनेपछि कतिपयले भने भोलिपल्ट आफैंँ हटाएका पनि थिए।” अटेर भएका कतिपय स्थानमा भने सुरक्षाकर्मीको सहयोगमा हटाइएको छ। सुरक्षाकर्मीले केही दिन पहिले जाउलाखेल, पुल्चोक, सानेपालगायत स्थानमा आचारसहिंता विपरीत राखिएको प्रचार सामग्री हटाएको थियो। 

आचारसहिंता उल्लंघन भएको भन्दै कार्यालयमा मौखिक उजुरी परिरहेको छ । पाण्डेले भने, “ठूलो स्पिकर बजाएको भन्दै केही दिन पहिले उजुरी परेको थियो।” 

केन्द्रमा निर्वाचन आयोगले आचारसंहिताको कार्यान्वयनको अवस्था अनुगमन गरिरहेको छ। जिल्लामा भने एक अधिकारीलाई आचारसंहिता कार्यान्वयनको अनुगमन गर्ने जिम्मेवारी दिइएको छ। एक जना मात्रै हुँदा रिपोर्टिङ भन्दा अरु कामगर्न नभ्याइने पाण्डे बताउँछन्। उनले भने, “एक जना व्यक्तिले आचारसंहिताको पालना भए÷नभएको मात्रै हेर्न भ्याउँछ, पालना गर्न लगाउनेसम्मको काम गर्न भ्याउँदैन।” 

जिल्ला निर्वाचन कार्यालयका प्रमुख सीता साम्बा लिखितभन्दा पनि मौखिक उजुरी आउने गरेको बताउँछन्। केही दिन पहिले ठेचोमा झण्डालगायत प्रचार सामग्रीको प्रयोग भएको उजुरी आएको थियो । उनले भने, “लिखित रुपमा भने एउटा पनि उजुरी हामीकहाँ आएको छैन।” 

मुख्य निर्वाचन अधिकृत बालमुकुन्द दवाडीले निर्वाचन आचारसहिंता विपरीत प्रचार सामग्री राख्ने काम ग्रामीण क्षेत्रमा मात्रै रहेको बताए। उनले भने, “शहरी क्षेत्रमा छिटफुट भए पनि हामीले हटाउन लगाएका छौँं।” मुख्य निर्वाचन अधिकृतको कार्यालयमा लिखित उजुरी एउटा पनि छैन। दलहरुबीचमा एउटाले राखेपछि उजुरी गर्नुभन्दा पनि राख्नेमा नै होडबाजी हुने उनी बताउँछन्। 

जिल्लामा तीन प्रतिनिधिसभा सदस्यका लागि ४७ जनाको र छ प्रदेशसभा सदस्यका लागि ६३ जनाको उम्मेदवारी परेको छ। जिल्लाभरमा दुई लाख २८ हजार ३३८ जना मतदाता छन् । क्षेत्र नं ३ मा सबैभन्दा बढी ८६ हजार ४३९ र क्षेत्र नं १ मा सबैभन्दा कम ६५ हजार ९१८ मतदाता छन् । क्षेत्र नं २ मा ७५ हजार ९८१ मतदाता छन्। 

स्थानीय निकायको निर्वाचनमा भन्दा अहिले झण्डै १५ हजार मतदाता थप भएको कार्यालयले जनाएको छ । जिल्लामा १३१ मतदानस्थलमा २७७ मतदान केन्द्र छन्। निर्वाचनमा खटिने कर्मचारी र सुरक्षाकर्मी आवश्यक सामग्री लिएर सम्बन्धित केन्द्रमा मंगलबार नै पुगिसकेका छन्। सञ्चिता घिमिरे /रासस

प्रकाशित: २० मंसिर २०७४ १०:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App