१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

तानातानमा गच्छदार

काठमाडौं- नेपाली कांग्रेससँग पार्टी एकीकरण प्रक्रिया अघि बढाएका फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले वाम गठबन्धनमा आउन प्रस्ताव गरेका छन् ।

फोरम लोकतान्त्रिकलाई कांग्रेसबाट पार्टी एकीकरण गर्न र माओवादी केन्द्रबाट वाम गठबन्धनमा सामेल हुन प्रस्ताव भएको छ ।

आफ्नै निवास लाजिम्पाटमा बुधबार साँझ भएको भेटमा दाहालले गच्छदारसँग यस्तो प्रस्ताव गरेका हुन् । जबाफमा गच्छदारले आफ्नो दललाई वाम गठबन्धनमा आउन कठिन हुने भन्दै यसबारे पार्टीमा छलफल गरेर आधिकारिक धारणा बनाउने बताएका थिए ।
यसअघि नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले अध्यक्ष गच्छदारलाई कांग्रेससँग पार्टी एकीकरण गर्न प्रस्ताव गरिसकेका छन् । कांग्रेससँग गच्छदारले उपसभापति पाउनुपर्ने माग गरेका छन् ।
गच्छदारको सँगको भेटमा दाहाललाई उधृत गर्दै स्रोतले भन्यो, ‘तपाईं हाम्रो गठबन्धनमा आउनुहोस् । हामी तपार्इंलाई सम्मानजनक सिट दिन्छांै ।’ गच्छदारले ‘कम्युनिस्ट  गठबन्धनमा हामीलाई आउन कठिन हुन्छ । गठबन्धनको पहिचान फेर्नु भयो भने पार्टीभित्र छलफल गर्छौं’ भनेका थिए ।
दाहालले भने फोरम लोकतान्त्रिकलाई वाम गठबन्धनमा ल्याएमा तराईमधेस केन्द्रित एक दल गठबन्धनमा सहभागी भएको सन्देश तराई मधेमा पुग्ने  बताएका थिए । ‘माओवादी केन्द्रबाट वाम गठबन्धनमा सहभागी हामीलाई प्रस्ताव आएको हो । तर हामीले यसबारे प्रस्ट जबाफ दिएका छैनौं,’ फोरम लोकतान्त्रिकका एक शीर्ष नेताले भने ।
यसैगरी संघीय फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र गच्छदारबीच बिहीबार बिहान चुनाव तालमेलका बारेमा टेलिफोन वार्ता भएको छ ।
नेपाली कांग्रेससँग चुनावी तालमेल गर्ने या एकीकरण गर्ने भन्नेबारेमा शनिबारसम्म टुंगो लाग्ने  फोरम लोकतान्त्रिकका एक नेताले बताए । कांग्रेससँग एकीरकण गर्ने कि चुनावी तालमेल मात्र गर्ने भन्नेमा गच्छदारले पार्टीभित्र छलफल तीव्र पारेका छन् ।

प्रकाशित: २७ आश्विन २०७४ ०२:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App