२९ कार्तिक २०८१ बिहीबार
image/svg+xml
राजनीति

महरा राष्ट्रसंघ महासभाको उद्घाटनमा सहभागी

काठमाडौं- उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरा संयुक्त राष्ट्रसंघको ७२ औं महासभाको उद्घाटन समारोहमा सहभागी भएका छन् । न्युयोर्कस्थित राष्ट्रसंघको मुख्यालयमा मंगलबारदेखि सुरु भएको महासभा ‘जनता केन्द्रित ः शान्तिका लागि प्रयास तथा दिगो ‘प्लानेट’ का लागि मर्यादित जीवन’ भन्ने मुख्य विषयमा केन्द्रित छ ।

महासभाको उद्घाटनमा राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेजले वार्षिक प्रतिवेदन पेस गरेका थिए । त्यसलगत्तै महासभालाई ब्राजिलका राष्ट्रपति माइकेल टेमेर र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्बोधन गरेका थिए ।  

सो अवसरमा परराष्ट्रमन्त्री महरा बेलायती प्रधानमन्त्री थेरेसा मेले प्रस्तुत गरेको जबर्जस्ती श्रम, आधुनिक दास तथा मानव तस्करीसम्बन्धी कार्यक्रममा सहभागी भएका थिए । कार्यक्रममा उनले संयुक्त राष्ट्रसंघअन्तर्गतका संस्था तथा गैरसरकारी संस्था शिक्षा तथा जागरुकतामा केन्द्रित हुनुपर्ने बताए । उनले नेपाल जबरर्जस्ती श्रम, दास तथा मानव तस्करीबाट मुक्तिका लागि नेपालले प्रतिबद्धता जनाएको स्पस्ट पारेका थिए ।

त्यसअघि उनी ‘दिगो विकासका लागि पानी’ भन्ने अन्तक्र्रियामा सहभागी भएका थिए । अन्तक्र्रिया सन् २०३० सम्म सबैलाई सुरक्षित र खरिद गर्न सक्ने पानीको  पर्याप्तता तथा त्यसका लागि पूर्वाधारमा ठूलो लगानी गर्ने विषयमा केन्द्रित थियो ।

त्यसैगरी सोही क्रममा युरोपेली संघ, जापान तथा संयुक्त राष्ट्रसंघले आयोजना गरेको गुणस्तरीय पूर्वाधारमा लगानी प्रवद्र्धनसम्बन्धी कार्यक्रममा पनि परराष्ट्रमन्त्री महराले सहभागिता जनाएका थिए । त्यसलगत्तै उनी महासचिव एन्टोनियोले आयोजना गरेको भोजमा सहभागी भएका थिए ।  

 

प्रकाशित: ५ आश्विन २०७४ ०३:२१ बिहीबार

महरा राष्ट्रसंघ महासभाको उद्घाटनमा सहभागी