१३ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

मनाङेद्वारा नेकपा एकीकृत समाजवादीको केन्द्रीय परिषद सदस्य अस्वीकार

गण्डकी प्रदेशसभा सदस्य राजिव गुरुङ (दीपक मनाङे) ले नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को केन्द्रीय परिषद सदस्य अस्वीकार गरेका छन्।

मनाङ (ख) बाट गण्डकी प्रदेशसभा सदस्यमा निर्विरोध निर्वाचित मनाङेले सो पार्टीको केन्द्रीय परिषद सदस्य अस्वीकार गरेका हुन्। मनाङेले शुक्रबार दिउँसो सामाजिक सञ्जाल फेसवुकमा स्टाटस लेख्दै पार्टीले मनोनित गरेको केन्द्रीय परिषद सदस्य अस्वीकार गरेको जनाएका हुन्।

मनाङेलाई एमालेबाट फुटेर बनेको नेकपा एकीकृत समाजवादी पार्टीको सचिवालय बैठकले पार्टीको केन्द्रीय परिषद सदस्यमा मनोनित गरेको थियो। उनले आफूसँग सल्लाह नगरी आफूलाई परिषद सदस्यमा मनोनित गरिएको भन्दै असन्तुष्टी जनाएका छन्। जनताबाट निर्वाचित सांसद जनताप्रति नै उत्तरदायी हुनुपर्ने भएकाले आफूले पार्टी काममा ध्यान दिन नसक्ने उनको भनाई छ।

उनले भनेका छन्, ‘यो निर्णय र जिम्मेवारी मसँग सल्लाह गरि गरिएको होईन। जनताबाट निर्वाचित जनप्रतिनिधिहरु जनताप्रति नै जिम्मेवार हुनुपर्दछ। जसका कारण पार्टीका काममा समय दिन नभ्याईने पनि हुनसक्छ।’

सांसद मनाङेले ‘एकव्यक्ति एकपद’ पार्टीको नीति भएकाले त्यसलाई व्यहारमा उतार्न आग्रह गरेका छन्। एउटै व्यक्तिले अनेक पदको भारी बोक्नु राम्रो होईन भन्दै उनले भनेका छन्, ‘एक व्यक्ति एक पदको नारा नारामा मात्र सिमित् नगरी कार्यान्वयनमा पनि ध्यान दिन पार्टी नेतृत्वलाई अवगत गराउन चाहन्छु।’ सांसद मनाङेले बरु आफूलाई दिइएको पद पार्टीकै अन्य योग्य युवालाई दिन आग्रह गर्दै त्यसो गर्दा पार्टीलाई बढी फाईदा हुने उल्लेख गरेका छन्।

सांसद मनाङेले आफू पदको लोभी नभएको र पार्टीको पदप्रति रुची नभएको बताए। टेलिफोनमा कुरा गर्दै उनले भने, ‘पार्टीले मलाई बनाउने होईन। मैले पार्टी बनाउने हो। त्यसैले पार्टीले दिएको यो पद, उ पदको मलाई मतलव छैन।’ उनले अहिले दिएको भन्दा उपल्लो पदको लोभले परिषद सदस्य पद अस्वीकार नगरेको बताए। आफूलाई जनताबाट निर्वाचित हुन पार्टी आवश्यक नरहने भन्दै उनले भने, ‘त्यसैले जनताको काम गर्न पार्टीको पद चाहिंदैन। मलाई जनताले चुन्छन। अनि म पार्टी भन्दा जनताप्रति नै जिम्मेवार र उत्तरदायी हुन्छु।’

२०७९ सालको आवधिक चुनावमा स्वतन्त्रबाट निर्विरोध निर्वाचित मनाङे गठबन्धनबाट गण्डकी प्रदेश सरकार बनाउने कसरत भएपछि नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका थिए। मन्त्री बनाउने आश्वासनपछि सो पार्टीमा प्रवेश गरेपनि कांग्रेस र माओवादी मिलेर सरकार बनाउँदा मन्त्री मण्डलमा अटाएनन्। त्यसपछि पार्टी नेतृत्वप्रति असन्तुष्ट बनेका उनले सो पार्टीको युवा संघमा समानान्तर गतिविधिसमेत गर्दै आएका छन।

प्रकाशित: २९ भाद्र २०८० ०९:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App