७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
राजनीति

छानबिनमा तीन हजार शैक्षिक प्रमाणपत्र

पक्राउ पर्नेको संख्या आठ

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले फरकफरक विधामा कार्यरत सरकारी कर्मचारी, प्रहरी र सार्वजनिक ओहोदामा ३ हजारभन्दा बढी व्यक्तिको शैक्षिक प्रमाणपत्र सन्दिग्ध भएको भन्दै छानबिनमा राखेको छ। विभिन्न समयमा परेका लिखित उजुरीका आधारमा सिआइबीले शैक्षिक प्रमाणपत्र छानबिनमा राखेको हो। चिकित्सकहरू पक्राउ पनि त्यसकै एक पक्ष भएको सिआइबी स्रोतको भनाइ छ।

‘अहिले शैक्षिक प्रमाणपत्रको अनुसन्धान भइरहेको विषयमा मैले केही बोल्न मिल्दैन,’सिआइबीका प्रमुख एवं एआइजी किरण बज्राचार्यले भनिन्। उनका अनुसार यतिबेला नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर चिकित्सक भएकाहरूमाथि अनुसन्धान चलिरहेको छ। ‘चिकित्सकहरूले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्रका आधारमा पढेको पाइएको छ, त्यसमा अनुसन्धान हुँदैछ,’ सिआइबीका प्रवक्ता एसपी नवराज अधिकारीले भने। उनले अनुसन्धानमा रहेका सबै विषय अहिले खुलाउन नमिल्ने बताउँदै चिकित्सकबाहेक अन्य पेसाकर्मीहरूको पनि शैक्षिक योग्यतामाथि परेका उजुरीमा अनुसन्धान भइरहेको संकेत गरे। ‘उजुरीका आधारमा सबै प्रकारका पेसाकर्मी र सार्वजनिक तहमा बसेका व्यक्तिहरूको शैक्षिक प्रमाणपत्रबारे अनुसन्धान हुन सक्छ तर अहिले नै यही तह र पेसा भन्ने अवस्था छैन, चिकित्सकहरूको विषयमा छानबिन चलिरहेको छ,’ सिआइबीका प्रवक्ता एसपी अधिकारीले भने।

गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतमाथि पुराना मुद्दा ब्युँताएर सांसद सुनिल शर्माप्रति प्रतिशोध साँधेको आरोप लागेको छ।

सिआइबीले बिहीबार काठमाडौं मेडिकल कलेजका सञ्चालक तथा सांसद सुनिल शर्मालाई पक्राउ गरेपछि नक्कली शैक्षिक प्रमाणपत्र लिएर विभिन्न ओहोदामा बसेका पेसाकर्मीहरू सरकारी सेवामा पनि क्रियाशील रहेको देखिएको स्रोतको दाबी छ। ‘नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर चिकित्सक बनेको भन्दै धेरै व्यक्तिविरुद्ध उजुरी परेको छ, अरू पेसाकर्मीविरुद्ध पनि उजुरी परेका छन्। त्यसमा सरकारी कर्मचारी, सेना, प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीहरू। इन्जिनियरहरूको पनि उजुरी परेको छ। यी सबैलाई केलाएर हामीले अनुसन्धान गरिरहेका छौ,’ स्रोतले भन्यो। उनीहरूले केही सञ्चारकर्मीबारे पनि अनुसन्धान गरिरहेको र केहीलाई अदालत पठाएको दाबी गरे।

‘शिक्षक, प्रहरी र सेनामा सबैभन्दा बढी यस्तो समस्या देखिएको छ,’सिआइबी स्रोतले भन्यो। यसअघि पनि अख्तियार दुरूपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्र र प्रहरीले पनि शैक्षिक प्रमाणपत्रको छानबिन गर्दै आएका थिए। त्यतिबेला नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर जागिर खाएका कर्मचारीहरूले अनुसन्धानमा पर्ने भएपछि बीचैमा राजीनामा दिएर जागिरबाट बिदा भएका थिए। पछिल्लोपटक नेपाल प्रहरीकै उच्च अधिकारीहरूको शैक्षिक योग्यता र नागरिकताको प्रमाणपत्रमा उल्लेख गरेको मिति विवादमा परेपछि छानबिन चलिरहेको सिआइबी स्रोतले जनाएको छ। नेपाली सेनाको शैक्षिक प्रमाणपत्रबारे अनुसन्धान गर्न उजुरी परे पनि आफ्नो कार्यक्षेत्र नपर्ने भएकाले त्यता प्रवेश नगरेको सिआइबी स्रोतको भनाइ छ। नेपाली सेनामा पनि शैक्षिक योग्यताका प्रमाणपत्र र नागरिकता प्रमाणपत्र पनि उमेर नमिल्दा पटकपटक विवादमा पर्ने गरेका छन्।

मेडिकल व्यवसायीसमेत रहेका कांग्रेस सांसद शर्मा आइएस्सी उत्तीर्णको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको आरोपमा पक्राउ परेका हुन्।

सिआइबीले आठ वर्षअघि नै डा. सुनिल शर्माको शैक्षिक प्रमाणपत्र नक्कली भएको प्रमाणित गरे पनि बिहीबार मात्रै अनुसन्धानका लागि पक्राउ परेको विषयले चर्चा पाएको छ। मेडिकल व्यवसायीसमेत रहेका कांग्रेस सांसद शर्मा आइएस्सी उत्तीर्णको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको आरोपमा पक्राउ परेका हुन्। प्रहरीले उनीसँगै डा. रामबाबु यादव, डा. रञ्जित यादव, डा. एलिना साह, डा. अमित चौधरी, डा. श्रद्धा शिल्पकार, डा. मनित चौधरी र डा. पुनम थापा चौधरीलाई पक्राउ गरेको छ। एकजनालाई रौतहटबाट काठमाडौं ल्याउँदै गरिएको पनि सिआइबीले जनाएको छ।

२०७३ सालमा सिआइबीका तत्कालीन प्रमुख डिआइजी नवराज सिलवालले ‘अप्रेसन क्वाक’सञ्चालन गर्दा फरार रहेका शर्मा हाल सिआइबी प्रमुख एआइजी किरण बज्राचार्यले नक्कली शैक्षिक प्रमाणपत्रहरूको अनुसन्धान गर्ने क्रममा सञ्चालन गरेको ‘अपरेसन चार्ली फक्सट्रोट’मा फेला परेका हुन्। नक्कली डाक्टर र नक्कली शैक्षिक प्रमाणपत्रधारी खोजी गर्न सिआइबीले ‘अपरेसन चार्ली फक्सट्रोट’ सञ्चालनमा ल्याएको हो। यो अप्रेसन देशभर चलिरहेको सिआइबीले जानकारी दिएको छ। सिआइबीले पुराना मुद्दाहरू अनुसन्धान भइरहेको थियो, त्यसकै निरन्तरताअन्तर्गत चिकित्सकहरू पक्राउ परेको जानकारी गराएको छ। तर शर्मालाई भने जिल्ला अदालत काठमाडौंले शुक्रबार थुनाबाहिर राखेर अनुसन्धान गर्न निर्देशन दिएको छ। सिआइबीले अनुसन्धानका लागि समय लिन उनलाई सरकारी वकिलमार्फत जिल्ला अदालतमा लगेको थियो। तर उनलाई बाहिर राखेर अनुसन्धान गर्न आदेश दिएसँगै सांसद थुनामुक्त भएका हुन्। उनी थुनामुक्त भए पनि अन्य चिकित्सकहरूलाई भने जिल्ला अदालतले अनुसन्धानका लागि पाँच दिनको समय दिएको छ।

सांसद शर्मा पक्राउ परेपछि पुराना मुद्दा ब्युँताएर उनीमाथि उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतले प्रतिशोध साँधेको आरोप लगाइएको छ। सांसद शर्माले गृह मन्त्रलायअन्तर्गत रहेका विभिन्न निकाय मूकदर्शक रहनु र अर्थ मन्त्रालयको जिम्मामा रहेको भन्सार विभागबाट सुन बाहिर गएपछि राजस्व अनुसन्धान विभागले बरामद गर्नुले सुन तस्करीमा गृहमन्त्री र अर्थमन्त्रीमाथि शंका उत्पन्न भएको बताउँदै उनीहरूले राजीनामा दिएर छानबिनमा सघाउनुपर्ने अभिव्यक्ति दिएका थिए। उनको सो अभिव्यक्तिलाई लिएर प्रतिशोध साँध्न पक्राउ गरिएको आशंका गरिएको हो।

शर्मा पक्राउप्रति देउवाको आपत्ति

बिहीबार दिउँसो सांसद शर्मा पक्राउ परेपछि साँझ पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर कांगे्रस सांसद पक्राउ गररे सत्ता गठबन्धनमा असर पारेको भन्दै आपत्ति जनाएका थिए। सत्ताको प्रमुख घटक नेपाली कांग्रेसका सांसदलाई पक्राउ पुरानो मुद्दामा पक्राउ गरेर कांग्रेसका अन्य सांसदलाई बिच्काएको र यसले समग्र कांग्रेभित्र नै सकारात्मक सन्देश नगएको तथा यसको असर कालान्तरमा सत्ता गठबन्धनमा पर्ने संकेत गरेको स्रोतको दाबी छ। ‘दुई नेताहरूबीच कुराकानी भएको सम्भवतः सुनील शर्मा पक्राउ प्रकरणमा केन्द्रित भएको हुनुपर्छ,’ बालुवाटार निकट स्रोतले भन्यो।

नेपाली कांगेसभित्र शेखर कोइरालानिकट सांसद शर्माले पक्राउ हुनुअघि आफूलाई पुरानो मुद्दा ब्युँताएर पक्राउ गर्न खोजेको भन्दै दुई महामन्त्रीलाई जानकारी गराएका थिए।  

बिहीबार बिहान महामन्त्रीलाई आफू पक्राउ पर्न सक्ने भन्दै जानकारी गराएको केही घन्टामा उनी पक्राउ परेका थिए।

प्रकाशित: २७ श्रावण २०८० ००:५० शनिबार

छानबिनमा तीन हजार शैक्षिक प्रमाणपत्र काठमाडौं मेडिकल कलेजका सञ्चालक तथा सांसद सुनिल शर्मा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)