५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

रूपान्तरण अभियानमा माओवादी

सत्तारूढ माओवादी केन्द्रले पार्टीभित्रको एकतालाई थप बलियो बनाउँदै ‘जनतासँग माओवादी, विशेष रूपान्तरण अभियान’ सञ्चालन गर्ने निर्णय गरेको छ। काठमाडौंको प्रज्ञा भवनमा आइतबार सम्पन्न केन्द्रीय कमिटीको बैठकले जनतासँग पार्टीको सम्बन्ध टुटेको निष्कर्षसहित तीन महिने अभियान सञ्चालन गर्ने निर्णय गरेको हो।

‘माओवादी विशेष अभियान भनेर जनतासँग जोडिने र ६ हजार ७ सय वडामा पुगेर तीन महिने अभियान चलाउने निष्कर्षमा हामी पुगेका छौं,’ केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भने।

पार्टीले सञ्चालन गर्ने तीन महिने अभियानका क्रममा सात प्रदेशका सात वटा वडाका कार्यक्रममा आफू पनि सहभागी हुने घोषणा गर्दै अध्यक्ष दाहालले पक्ष, प्रतिपक्ष नभनी सबैको घरमा पुग्न पार्टी नेताहरूलाई निर्देशन दिए। तीन महिने अभियानले पार्टीलाई नयाँ उचाइ दिने धारणा राख्दै दाहालले त्यसपछि पार्टी विधान सम्मेलनले प्रवेश पाउने जनाए।

सहिद, बेपत्ता, सबै घर परिवारसँग तीन महिने अभियान चलाएर विधान सम्मेलनमा फर्कनेछौं।

-पुष्पकमल दाहाल, अध्यक्ष

‘एउटा पनि जनताको घर नछोड्ने, सहिद, बेपत्ता, सबै घर परिवारसँग तीन महिने अभियान चलाएर विधान सम्मेलनमा फर्कनेछौं,’ दाहालले भने।

माओवादी केन्द्रले मंसिरमा विधान सम्मेलन गर्ने जनाउँदै भदौ १६ गतेबाट तीन महिने अभियान सुरु गर्ने निर्णय गरेको छ। मंसिरमा हुने विधान अधिवेशनले पार्टीका सबै तहमा आन्तरिक निर्वाचन गर्ने गरी विधान संशोधन गर्ने माओवादी निर्णय छ। सहमतिबाट नेतृत्व चयन हुने र आन्तरिक प्रतिस्पर्धा नहुँदा जनतासँग नेता टाढिँदै गएको माओवादी बुझाइ छ।

लामो समय पार्टी नेतृत्वमा बसे पनि दाहालले उत्तराधिकारी तयार नगरेको भन्दै नेता वर्षमान पुन, जनार्दन शर्मासहितकाले केन्द्रीय कमिटी बैठक बाहिर तीव्र असन्तुष्टि जनाएका थिए। अध्यक्षलाई हरसमय सहयोग गरे पनि नेतृत्वले त्यस ढंगले नबुझेको भन्दै उनीहरूले गुनासो गरेका थिए।

माओवादी केन्द्रले मंसिरमा विधान सम्मेलन गर्ने जनाउँदै भदौ १६ गतेबाट तीन महिने अभियान सुरु गर्ने निर्णय गरेको छ।

शर्मा र पुनबाट सहयोग नहुने बुझाइमा रहेका दाहालले पार्टीका पूर्वनेताद्वय बाबुराम भट्टराई र नेत्रविक्रम चन्द्रलाई माओवादी केन्द्रमा ल्याएर शक्ति सन्तुलन कायम गर्न खोजेको गुनासो असन्तुष्टहरूको थियो। तर केन्द्रीय कमिटी बैठक सकिँदा शर्मा, पुनसहितका नेताहरू नै दाहालको पक्षको नारा लगाउँदै बाहिरिएका छन्।

केन्द्रीय कमिटी बैठकले पार्टीमा एक ढिक्का भएकोमा आफू विश्वस्त बनेको दाबी गर्दै माओवादी केन्द्रका अध्यक्ष दाहालले भने, ‘अब यो बैठकबाट निक्लँदै गर्दा भन्न सक्छौं कि हामी एक ढिक्का भएका छौं, विधि पद्धतिभन्दा बाहिर जानेछैनौं।’

तीन महिने अभियानका क्रममा पार्टी नेतृत्व सरकारले सुशासन र जनहितका पक्षमा गरेका राम्रा काम जनतासमक्ष पु¥याउन पनि दाहालले पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन्।

पार्टीका सबै केन्द्रीय सदस्यलाई वडा तहसम्म परिचालन गर्ने माओवादीले निर्णय गरेको छ। अध्यक्ष दाहालले हरेक असफलताको प्रयोगबाट फेरि उज्यालो बाटो देखिन थालेको जनाउँदै भनेका छन्, ‘हामी माओवादी मात्र छैनौं, जनआन्दोलनबाट आएकाहरू पनि छौं। यो सबै कुरालाई बुझ्नु जरुरी छ। अब हामी नयाँ वैचारिक स्तरबाट उठ्नु जरुरी छ।’

तीन महिने अभियानका क्रममा पार्टी नेतृत्व सरकारले सुशासन र जनहितका पक्षमा गरेका राम्रा काम जनतासमक्ष पु¥याउन पनि दाहालले पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन्।

पार्टीलाई नयाँ ढंगबाट अघि बढाउन माओवादीले नेताहरूको जिम्मेवारी हेरफेर गरेको छ। अग्नि सापकोटालाई प्रचार विभागको जिम्मेवारी दिँदै माओवादीले उपाध्यक्ष कृष्णबहादुर महरालाई पार्टी एकता र समाजवादी मोर्चा र पम्फा भुसाललाई जनवर्गीय संगठन इन्चार्ज तोकेको छ। महरा नेतृत्वको विभागले भट्टराई र चन्दसहित नेतृत्व पार्टीसँग एकीकरणका लागि प्रयास गर्नेछ।

प्रकाशित: २२ श्रावण २०८० ०२:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App