१२ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

टीकापुरका मेयर र उपमेयरबीच योजना भागबण्डामा जुट्यो सहमति

टीकापुर नगरपालिकाका मेयर र उपमेयरबीचको विवाद योजना भागबण्डामा टुङ्गिएको छ। दुई जना बीचको विवादले उग्र रूप लिएपछि तेह्रौं नगर सभा समेत प्रभावित बनेको थियो। २०८० जेठ ८ गते सुरु भएको नगर सभा विवादका कारण एक दिन स्थगित भएको थियो।

दुई करोड ४८ लाख बराबरका ३८ योजना भागबण्डामा सहमति जुटेपछि जेठ ९ गते नगर सभा सम्पन्न भएको थियो। भागबण्डामा रकम र योजनाका हिसाबले मेयर भन्दा उपमेयर हाबी देखिएका छन्।

मेयरले १ करोड २० लाखका ७ योजनामा चित्त बुझाएका छन् भने उपमेयरले ३१ योजना बनाएका छन्। जुन योजनाका लागि १ करोड २८ लाख रुपैयाँ विनियोजन गरिएको छ।

मेयरले ठूलो रकमका योजना अघि सारेका छन्। जसमध्ये वडा नं. १ मा ४५ लाख रुपैयाँको कभर्ड हल उल्लेख छ। त्यस्तै वडा नं. १ देखी ९ सम्म आधुनिक खेती प्रवर्द्धनमा ३० लाख, नगर प्रमुख नवप्रवर्द्धन कार्यक्रम तथा विविध कार्यक्रममा २० लाख, सिकलसेल एनिमियाको निदान तथा उपचारमा १० लाख बजेट छुट्ट्याइएको छ।

उपमेयरले भने धेरैजसो टुक्रे योजनालाई समेटेका छन्। उनले १० लाखमा एक कालोपत्रे सडक र १० लाखमा सबै वडामा ग्राभेल गर्ने योजना अघि सारेका छन्। उनका अन्य योजनाहरु २/३ लाखसम्मका पनि छन्।

नगरपालिकाको लेटरप्याडमा अनुसूची–५ अन्तर्गत केन्द्रको पुँजीगत तथा चालु अन्त्रगतका कार्यक्रमहरु भन्दै नगर प्रमुख र नगर उपप्रमुखका योजना भनेर छुट्ट्याइएको छ। मेयर र उपमेयरले योजना भागबण्डा गरेको कुरालाई स्थानीयले विरोध गरिरहेका छन्। उनीहरुले अनुसूची–५ अन्त्रगतका योजनाहरु सामाजिक सञ्जालमा सार्वजनिक गर्दै विरोध जनाएका छन्।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मंगलबहादुर शाहीले सार्वजनिक भएको कागजात आधिकारिक नभएको बताए। उनले कसैले नक्कली कागजात बनाएर बदनाम गर्न खोजेको जिकिर गरे।

‘यो कागजातमा कुनै सत्यता छैन’ उनले भने ‘खै कसरी सार्वजनिक भयो थाहा छैन।’

उनले यो कागजात मेयर र उपमेयरकाबीच सहमति हुँदाको आधार भने हुनसक्ने बताए। उनले यी मध्येका केही योजना आगामी आर्थिक वर्षमा कार्यान्वयन हुने गरी रातो किताबमा समेटिएको बताए।

‘यी सबै योजना हुबहु परेका छैनन्’ उनले भने ‘केही योजना भने यिनै मध्येका हुन।’

उनले मेयर र उपमेयरकाबीच योजना भागबण्डाको अधिकार नगर सभाले दिएको बताए। वडागत रुपमा आएका योजना बाहेक मेयर र उपमेयरले समेत आफ्ना ढंगले योजना राखेको उनको भनाइ थियो। उनका अनुसार यसको कुल बजेट २ करोड मात्रै रहेको छ।

प्रमुख प्रशासकीय अधिकृत शाहीले सार्वजनिक भएको कागजातमा सत्यता नभएको बताए पनि स्रोतका अनुसार यी योजना नगर सभामै जस्ताको त्यस्तै प्रस्तुत भएका थिए। वडाध्यक्षहरुले मेयर र उपमेयरका छुट्टाछुट्टै योजना समावेश हुँदा राम्रो सन्देश नजाने भन्दै नगर सभामै विरोध गरेका थिए।

नगर प्रवक्ता बलिराम चौधरीले मेयर र उपमेयरका छुट्टाछुट्टै योजना नगर सभामा प्रस्तुत भएको बताए। उनले आफूहरुले नै विरोध गरेपछि ती योजना एकमुष्ठ रुपमा प्रस्तुत गर्ने गरी सहमति जुटेको जानकारी दिए।

नगरपालिकामा मेयर र उपमेयरकाबीच विगत एक वर्षदेखी विवाद छ। कतिपय मुद्दामा उनीहरुबीचको विवाद नागरिकले महशुस हुने गरी व्यक्त हुने गरेको छ। मेयर र उपमेयरबीचको विवादले नगरपालिकाको काम कारबाही प्रभावित हुने गरेको जनगुनासो छ।

प्रकाशित: २४ असार २०८० ०९:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App