धनगढी – नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले जारी हिमाल, पहाड, तराई–मधेस–थरुहट राष्ट्रिय अभियानको मुख्य लक्ष्य नेपालको जातीय, क्षेत्रीय विविधतालाई सम्बोधन गर्दै राष्ट्रिय एकता बलियो बनाएर देशलाई समृद्धिको दिशामा लैजानु रहेको बताएका छन्। उनले आइतबार बिहान धनगढीमा पत्रकारहरुसँग कुराकानी गर्दै यस्तो बताएका हुन्।
संयोजक भट्टराईले संविधान संशोधनले असन्तुष्ट पक्षहरुको माग सम्बोधन गर्ने र त्यसले चुनावको वातावरण बनाउने उल्लेख गर्दै संविधान संशोधनमार्फत संघीयता र सीमांकनको विषय टुंगोमा पुर्याएर तीनवटै तहको चुनाव एकैचोटी गर्दा उपयुक्त र सहज हुने बताए।
पत्रकारहरुको जिज्ञासा सम्बोधन गर्दै उनले राज्यको पुनःसंरचना आयोग र समितिको प्रतिवेदन अनुसार संघीय स्वरुप बनाएको भए संघीयताको व्यवस्थापन सहज हुने तर्क गर्दै अहिले कायम गरिएको ७ प्रदेशमै गएपनि प्रदेशहरुको सीमा हेरफेर गरेर समाधान खोज्न सकिने बताए। ‘सीमा हेरफेर गर्नुहुँदैन भन्ने केही छैन, आवश्यकता अनुसार हेरफेर गर्न सकिन्छ, गर्नुपर्छ’ उनले जोड दिए।
‘संविधान संशोधनको प्रस्ताव भारतको स्वार्थमा आएको हो ?’ भन्ने पत्रकारको प्रश्नको जवाफ दिंदै संयोजक भट्टराईले भने – ‘हामीले हरेक विषयलाई भारतसँग जोडेर हिनाताबोध प्रदर्शन गर्नु हुँदैन। यो हाम्रा पुर्खाले खुकुरीको भरमा लडेर बनाएको मुलुक हो । गोविन्द गौतमहरुको वीरतापूर्ण सहादतले यो देशको एक मुठी जमिन पनि हामी मिच्न दिंदैनौ भन्ने प्रमाणित गरेको छ । यसर्थ, संविधान संशोधन हाम्रो आफ्नै आन्तरिक मामिला हो, यसमा कुनै छिमेकीलाई दोष दिनु उचित होइन ।’
संयोजक भट्टराईले नयाँ शक्तिले आन्दोलनकारी र सत्तापक्षको बिचमा रहेर समन्वय गर्दै देशलाई राजनीतिक निकास दिन खोजेको कुरामा पनि जोड दिए। राजनीतिक समस्या हल गर्नमा नयाँ शक्तिको कुनै पनि कठोर र कट्टर अडान नरहेको बताउँदै उनले सबै तहको चुनावमा नयाँ शक्तिको सशक्त उपस्थिति हुने उल्लेख गरे।
‘हामी सबै ७ सय ४४ स्थानीय तहहरुको चुनावमा सहभागी हुन्छौं, प्रदेश र केन्द्रमा पनि स्वतः हुन्छौं’ उनले जोड दिए– ‘तर, यो स्थानीय तहको चुनाव भएपछि सबै समस्याहरु हल हुन्छन् भन्ने जुन भ्रम छ, त्यो सत्य होइन तीनवटै चुनावहरु अन्तरसम्बन्धित छन् । सबै समस्या हल हुनेगरी तीनवटै चुनाव एकैचोटी गर्नुपर्छ भन्ने हाम्रो भनाइ हो।’
प्रकाशित: १३ चैत्र २०७३ १२:२० आइतबार