१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

आजको मन्त्रिपरिषद् बैठकले स्थानीय तहको संख्या बढाउँदै : प्रधानमन्त्री

तस्बिर : चुमन बस्नेत

विराटनगर- प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय तहको संख्या थपिएपछि असन्तुष्ट मधेसी मोर्चा पनि निर्वाचनमा सहभागी हुने बताएका छन्। उनले स्थानीय तहको थपिएको संख्यासहित सीमांकन तोकेर निर्वाचन आयोगलाई प्रतिवेदन बुझाइने बताए।

‘आज साँझ बस्ने मन्त्रिपरिषद्को बैठकले स्थानीय तहको सीमांकनसहितको प्रतिवेदन पारित गर्दैछ,’ प्रधानमन्त्री दाहालले भने, ‘तराई-मधेसमा स्थानीय तहको संख्या थपिएपछि मधेसी मोर्चा पनि चुनावमा आउँछ।’

पूर्वाञ्चल विश्वविद्यालय(पियू)को दीक्षान्त समारोहमा सहभागी हुन् नेपाली सेनाको हेलिकोप्टरले आइतबार विराटनगर आइपुगेका प्रधानमन्त्री दाहालले संविधान संशोधन प्रकृया टुंग्याउने, स्थानीय तहको संख्या थप्ने वा कुनै अर्को प्रकृया अपनाएर मधेसी मोर्चालाई मनाउने प्रयास भइरहेको बताए।

 ‘चुनाव स्थगित हुँदैन, मधेसी मोर्चालाई चुनावमा ल्याउने वातावरण बन्छ,’ उनले भने, ‘चुनाव कुनै पनि हालतमा रोकिँदैन, चुनाव हुन्छ, मोर्चा पनि आउँछ।’

प्रधानमन्त्री दाहालले संविधान संशोसनको विषयमा एमाले र मधेसी मोर्चासित सल्लाह भइरहेको बताए। ‘संशोधन स्थानीय चुनावको लागि आवश्यक होइन। प्रदेश र केन्द्रको चुनावसँग जोडिएका कुरा संशोधनमा छ,’ उनले भने।

प्रधानमन्त्री दाहालले मधेस, पहाड र हिमाल सबैलाई मिलाएर चुनावमा सहभागी गराउने आफ्नो प्रयत्न जारी रहेको बताए। विपक्षी दल एमालेले सुरु गरेको मेची-महाकाली यात्राले चुनावलाई सहयोग पुर्‍याउने उनले बताए।

‘एमालेको मेची-महाकाली यात्राले चुनावलाई सहयोग नै पुर्‍याउँछ,’ प्रधानमन्त्री दाहालले भने, ‘यात्राको क्रममा व्यवधान आउन नदिन सरकार गम्भीर छ।’

उनले बिहानमात्रै कांग्रेस सभापति शेरवहादुर देउवा, गृहमन्त्री बिमलेन्द्र निधिसित यात्राको क्रममा अपनाइने सुरक्षा बन्दोबस्तको बारेमा आफ्नो छलफल भएको बताए।

‘यात्राको क्रममा द्वन्द्वको स्थिति पैदा नहोस् भनेर सरकार गम्भीर छ,’ प्रधानमन्त्री दाहालले भने, ‘यो विषयमा एमाले र मोर्चासित पनि सरकारको छलफल भइरहेको छ।’

प्रकाशित: २२ फाल्गुन २०७३ ०७:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App