१९ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

राष्ट्रपतिले नेताहरुलाई भनिन्– ‘ढिलो नगर्नुस्, चुनाव गर्नुस्’

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक व्यवस्थाअनुसार तीनै तहको निर्वाचन गरेर मुलुकलाई आर्थिक संमृद्धिको बाटोमा अघि बढाउन प्रमुख राजनीतिक दलका नेताहरुलाई आग्रह गरेकी छिन्।

नयाँ संविधानमै व्यवस्था भएअनुसार आगामी माघ ७ भित्र स्थानीय, प्रदेश र केन्द्रको निर्वाचन हुनेमा संसय बढ्दै गएका बेला राष्ट्रपति भण्डारीले सोमबार अपरान्ह् उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहालसहित प्रमुख राजनीतिक दलका शीर्ष नेतालाई शीतल निवास बोलाएर अविलम्ब निर्वाचनमा जुट्न आग्रह गरेकी हुन्। निर्वाचनले मात्र लोकतान्त्रिक व्यवस्था र पद्धतिहरुलाई मजबुत बनाउनेतर्फ राजनीतिक दलको ध्यान खिच्दै राष्ट्रपतिले त्यसका लागि समयसीमा घर्कंदै जाँदा पनि निर्वाचनको वातावरण नबनेको प्रति चासो र चिन्ता व्यक्ति गरिन्।

माघ ७ गतेभित्र स्थानीय तह, प्रदेश र संघीय संसदको निर्वाचन गरिसक्नुपर्ने संवैधानिक व्यवस्थाले भावी राजनीतिक दिशाबोधमा अहम् भूमिका राख्ने कुरा भन्दै राष्ट्रपतिले निर्वाचन प्रक्रिया पूरा गर्ने दायित्व पूरा गर्न पनि दललाई आग्रह गरेकी छिन्।

‘अब बाँकी रहेको समयको पूर्णरुपमा सदुपयोग गर्दै कत्ति पनि समय खेर नफाली संविधानले निर्दिष्ट गरेको समयसीमाभित्र सबै तहका निर्वाचन सम्पन्न गरेर संघीय लोकतान्त्रिक गणतन्त्रलाई अझ समृद्ध र सुदृढ पार्ने नेपाली जनताको आकांक्षालाई साकार पार्न सबै राजनीतिक दलहरु अग्रसर हुनुपर्दछ,’ राष्ट्रपतिको लिखित मन्तव्यमा भनिएको छ।

माघ ७ भित्र तीनै तहको निर्वाचन गर्नु पर्ने व्यवस्था आकस्मिक रुपमा आएके विषय नभएको स्मरण गराउँदै राष्ट्रपति संविधान जारी हुँदाकै बखत विस्तृत छलफलपश्चात तय भएको संवैधानिक प्रावधान उल्लेख गरेकी छिन् । निर्वाचनले  मात्र मुलुकलाई अगाडि बढाउने जनाउँदै राष्ट्रपतिले भनेकी छिन्, ‘निर्वाचनको कुनै विकल्प छैन । आवधिक निर्वाचन नागरिकको अधिकार हो र यो कुण्ठित हुनुहुँदैन ।’

निर्वाचनले दललाई आम जनसहभागिताको माध्यमबाट थप उर्जाशील बनाउने विश्वास व्यक्त गर्दै राष्ट्रपतिले मुलुकलाई राजनीतिक अस्थिरता र संवैधानिक संकटबाट पार लगाउनु सबैको दायित्व भएकोतर्फ ध्यान पनि नेताहरुको ध्यान खिचेकी छिन्। निष्पक्ष, स्वतन्त्र, शान्तिपूर्ण र धाँधलीरहित निर्वाचनको वातावरण बनाउन सरकार, निर्वाचन आयोग, राजनीतिक दल र सम्बद्ध सबै पक्ष र निकायको ध्यानाकर्षण गराउँदै राष्ट्रपतिले आर्थिकरुपले सुखी र सम्पन्न समाजमा नै लोकतन्त्रको जरा मजबूत हुने कुरा शाश्वत सत्य भएको उनले जनाएकी छिन् ।

‘लोकतन्त्रमा फरक विचार र मतलाई एउटा महत्वपूर्ण पूँजी ठानेर विधि र प्रक्रियासम्मतरुपमा सहीढंगले त्यसको टुंगो लगाउनु नै जनमतलाई सर्वोपरी ठान्ने दलहरुको नैतिक दायित्वसमेत भएको कुरातर्फ ध्यानाकर्षण गराउँदै सहकार्यमार्फत लोकतान्त्रिक प्रणालीको सुदृढीकरणमा लाग्न म आह्वानसमेत गर्न चाहन्छु,’ उनले भनेकी छिन् ।

राष्ट्रपति भण्डारीले संविधान जारी भएको लामो समय बित्दासमेत संवैधानिक व्यवस्थाअनुसार कतिपय निकाय र आयोगहरु गठन हुन नसकेको प्रति पनि चासो व्यक्त गरेकी छिन्। राज्यको पुर्नसंरचनासहितका विषयमा दलीय विवाद जारी रहेका बेला राष्ट्रपति भण्डारी संविधानले राज्यको पुनःसंरचनामार्फत कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकालगायतका क्षेत्रमा नयाँ आयाम थपेको परिप्रेक्ष्यमा यी प्रावधानको सुदृढीकरणका निमित्त सम्बद्ध सबै पक्षले गहिरोसँग मनन गर्न पनि आग्रह गरेकी छिन्।

‘राज्यका कतिपय अंग र निकाय संविधानले नै सीमा अवधि तोकेर निर्धारित समयभित्र गठन गरिसक्नु पर्ने बाध्यकारी संवैधानिक प्रावधानप्रति हामी सबै सचेत रहनु पर्छ,’ उनले भने, ‘संवैधानिक सर्वोच्चता भन्नु नै संविधानले तोके बमोजिम रहेर राज्यका काम कारवाही र क्रियाकलाप हुनु हो।’

जवाफमा प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रमुखप्रतिपक्षी दलका नेता केपी शर्मा ओलीसहितका सबै दलका नेताहरुले संवैधानीक व्यवस्थाअनुसार निर्वाचनका लागि दलहरु प्रतिवद्ध रहेको राष्ट्रपतिसमक्ष दोहो¥याएका थिए । तर, उनीहरुले निर्वाचनका लागि दलहरुले पुरानै पूर्वसर्त र अडानहरु दोहो¥याएका छन्।

प्रधानमन्त्री दाहालले सरकार निर्वाचन गराउन आतुर रहेको जनाउँदै त्यसका लागि संविधान संशोधन प्रस्तावअघि बढाउन दलीय सहयोग आवश्यक रहेको जनाएका थिए। फागुन १०भित्र संविधान संशोधनसहित निर्वाचनको मिति घोषणा गर्नसके जेठको पहिलो साता स्थानीय निर्वाचन गराउन सकिने धारणा राख्दै माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्रीले संविधान संशोधन र परिर्माजनमा दलीय सहयोगको आग्रह गरेको संघीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिए । ‘चुनाव गराउन सबै राजनीतिक दलहरु तयारै छन्,’ उनले भने, ‘संशोधन नभई निर्वाचन हुँदैन भन्ने पनि सबैले बुझेकै छन् त्यही कुरा राष्ट्रपति समक्ष नेताहरुले राख्नुभयो ।’

राष्ट्रपतिसँगको भेटमा कांग्रेस सभापति शेरबहादुर देउवा, महामन्त्री शशांक कोइराला, नेता कृष्णप्रसाद सिटौला, एमाले अध्यक्ष ओली, संसदीय दलका उपनेता सुवाचन्द्र नेम्वाङ, महासचिव इश्वर पोखरेल, राप्रपा अध्यक्ष कमल थापा, पशुपति संशेर राणा, प्रकाशचन्द्र लोहनी, मधेसी जनअधिकार फोरम लोकतान्त्रिक अध्यक्ष विजयकुमार गच्छदार, नेता जितेन्द्र देव, तराई मधेस लोकतान्त्रिक पार्टी अध्यक्ष महन्थ ठाकुरसहितका नेताहरु सहभागि थिए ।

संवैधानिक सीमाअनुसार निर्वाचनका लागि समयको चाप पर्दै जाँदा राष्ट्रपति भण्डारीले पछिल्ला दिनमा राजनीतिक दलका नेताहरुलाई शीतल निवासमै बोलाएर चुनावमा केन्द्रीत हुन आग्रह गर्दै आएकी छिन्।   

 

प्रकाशित: २ फाल्गुन २०७३ १५:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App