७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
राजनीति

पूर्नसंरचना आयोगको प्रतिवेदन अनुसार जेठमा चुनाव असम्भव: नेता महत

काठमाडौं- सत्तारुढ दल नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा पूर्वमन्त्री डा. रामशरण महतले अहिलेको स्थानीय पूर्नंरचना आयोगको प्रतिवेदन अनुसार अघि बढ्ने हो भने जेठमा चुनाव नै हुन नसक्ने दाबी गरेका छन्।

शनिबार रिपोर्टर्समा बोल्दै नेता महतले भने,‘पूर्नसंरचना आयोगको प्रतिवेदनलाई अझै मिलाउनुपर्छ, यसलाई मधेसी मोर्चाले स्विकार गरेको छैन, दलहरु भित्रपनि विवाद छ, आयोगको प्रतिवेदन अहिले कार्यान्वयन हुन सक्दैन्, यसले चुनाव पनि टार्छ, बैशाखको अन्त्यसम्म चुनाव हुन सकेन भने जेठ १५ नीति तथा कार्यक्रम ल्याउनुपर्ने भएकोले त्यसपछि चुनाव हुँदैन्, गर्यो भने त्यो नैतिक रुपमा उपर्युक्त हुँदैन्।’

महतले जेठ १५ पछि चुनाव गर्नेगरि मिति घोषणा गर्न नैतिक रुपमा नमिल्ने प्रष्ट पारे।

नेता डा. महतले सुशासनको बेथितीका कारण निर्वाचन अन्यौल र अनिश्चितको स्थिति देखिँदै गएको बताए।

उनले थपे,‘प्रधानमन्त्री प्रचण्डको बोलीको ठेगान छैन, एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट्दा ७ गतेभित्रै चुनावको मिति घोषणा गर्छु भन्नुहुन्छ, मोर्चासँग संविधान संशोधनपछिमात्रै चुनावको मिति घोषणा गर्ने भन्नुहुन्छ, उहाँको बोली नै विराधाभाषपूर्ण छ।’

उनले अहिले स्थानीय निकायको निर्वाचन सम्भव भएको जिकिर गरे। डा. महतले भने,‘वर्तमान संरचना अनुसार चुनाव गर्नुपर्छ, अहिले स्थानीय निकायको चुनाव संभव छ, काँग्रेसको धारणा पनि यही हो, मैले त सूरुदेखि नै यही भनेको छु।’

उनले प्रधानमन्त्री देशको बागडोर सम्हाल्ने व्यक्ति भएकोले देश र जनतालाई के आवश्यक पर्छ भन्ने कुरामा ध्यान दिएर सके सर्वसहमतिमा नसके अधिकतम सहमतिको बाटो पहिल्याएर भएपनि अघि बढ्नुपर्ने बताए।

उनले स्थानीय तह पूर्नसंरचना आयोगको प्रतिवेदन कस्तो छ भन्ने कुरामा जनताहरु नै स्पष्ट नभएको जिकिर गर्दै भने,‘प्रतिवेदन आएपछि पनि प्रशासकीय केन्द्र कहाँ हुने भन्नेमै विवाद हुन्छ।’

उनले संविधान संशोधन प्रक्रिया किन रोक्नुपर्यो भन्दै प्रश्न समेत गरे। उनले अघि भने,‘संशोधन भनेको महिनौं लामो प्रक्रिया हो, त्यो भन्दा राम्रो चुनाव र संशोधन प्रस्ताव सँगसँगै अघि बढाउनुपर्छ, चुनावको मिति घोषणा गर्न रोक्नुहुँदैन्।’

नेता महतले काँग्रेस–माओवादीवीच भएको समझदारी नतोडिने समेत स्पष्ट पारे। उनले भने,‘काँग्रेससँग समझदारी भएको हो भने त्यो तोडिँदैन्, के के सहमति भएको थियो भन्ने कुरा केन्द्रिय समितिमा पनि छलफल भएको छैन, गोप्य सहमति भएको छ भन्ने कुरा आएको छ, यदि त्यसो हो भने सहमति ब्रेक हुँदैन्।’

उनले हालै नेपाल प्रहरीको २५ औं प्रमुख को बन्ने भन्नेबारे देखिएको विवादपनि कुशासनको कारण भएको टिप्पणी गरे। उनले भने,‘हरेक नियुक्तीमा भागबण्डा गर्नु गलत हो, यो सबै कुशासनको कारणले भैरहेको छ, मेरो, आफ्नो र पार्टीगत स्वार्थका कारण यस्तो भैरहेको छ।’

 

 

प्रकाशित: २९ माघ २०७३ ११:३४ शनिबार

पूर्नसंरचना आयोगको प्रतिवेदन जेठमा चुनाव असम्भव नेता महत