२३ आश्विन २०८१ बुधबार
image/svg+xml
राजनीति

निर्वाचन दिवस पहिलो पटक फागुन ७ गते मनाइने

काठमाडौँ- निर्वाचन आयोगले अव प्रत्येक वर्ष फागुन ७ गतेलाई निर्वाचन दिवसको रुपमा मनाउने भएको छ।

नेपालमा पहिलो पटक २०१५ साल फागुन ७ गते आम निर्वाचन भएको थियो । सोही आम निर्वाचन प्रारम्भ भएको दिनलाई आयोगले निर्वाचन दिवसका रुपमा मनाउन लागेको हो।
२०१५ सालको आम निर्वाचनमा नेपाली काँग्रेसले दुई तिहाइ बहुमत अर्थात ७४ सिट प्राप्त गरेका थिए । उक्त निर्वाचनमा १६ वटा राजनीतिक दलले भाग लिएका थिए।

उक्त दिवसमा अवसरमा आयोजना हुने मूल समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश र सभामुखले मुख्य अतिथिका रुपमा भाग लिने छन्।

लोकतन्त्रको मेरुदण्डका रुपमा रहेको आवधिक निर्वाचन प्रारम्भ भएको ५८ वर्षपछि आयोगले पहिलो पटक भव्यताका साथ दिवस मनाउने तयारी गरेको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए।

मुलुकमा २०५४ सालपछि स्थानीय निकायको चुनाव हुन सकेको छैन । जसका कारण ३५ वर्ष उमेर समूहका ८० लाख नागरिकले स्थानीय तहको निर्वाचनको मतदानमा भाग लिन पाउने नागरिक अधिकारबाट वञ्चित हुँदै आएका छन् ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानअनुसार आगामी २०७४ साल माघ ७ गतेभित्र सङ्घीय, प्रदेश र स्थानीय तहको निर्वाचन गरिसक्नुपर्ने पूर्वसन्ध्यामा आयोगले निर्वाचन दिवसको समेत किटानी गरेको छ ।

दिवसका अवसरमा आयोगले प्रभातफेरी, अन्तरसंवाद, आयोगका पूर्व पदाधिकारीको सम्मानका साथै नेपालमा निर्वाचनको इतिहास सम्बन्धी पुस्तकको विमोचन गर्ने जस्ता कार्यक्रम तय गरेको सूचना अधिकारी सूर्यप्रसाद अर्यालले बताए।

निर्वाचन दिवसलाई कसरी भव्य र सभ्य तुल्याउने भन्नेबारेमा आयोग विभिन्न तयारीमा जुटिरहेको बताइएको छ। रासस

 

प्रकाशित: १६ माघ २०७३ १०:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App