७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
राजनीति

श्रेष्ठ रास्वपाबाट बर्खास्त

क्याप्शन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अडियो प्रकरणमा मुछिएका सांसद ढाकाकुमार श्रेष्ठलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरेको छ। केन्द्रीय समितिको बुधबार बसेको बैठकले अडियोमा भएको आवाज श्रेष्ठकै रहेको ठहर गर्दै उनलाई पार्टीबाट निष्कासन गरेको हो। उनलाई प्रतिनिधिसभा सदस्य पदबाट पनि हटाउने प्रक्रिया थाल्ने निर्णय भएको रास्वपाले जनाएको छ।

‘त्यो कुराकानी उहाँ (ढाकाकुमार श्रेष्ठ) ले नै गर्नुभएको हो। त्यसमा पैसा मागिएको छ,’ केन्द्रीय समितिको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा सभापति रवि लामिछानेले भने, ‘एउटा सांसदजस्तो सार्वजनिक व्यक्तिले त्यसरी पैसा माग्नु नै गलत हो। हामी जुन विधानमा बसेका छौं, त्यसले शून्य सहनशीलता मान्छ। कारबाही गर्न यथेष्ट प्रमाण छन्।’

श्रेष्ठलाई पार्टीभित्र पुनरावेदन गर्ने अवसर भने रहेको सभापति लामिछानेले बताए। ‘उहाँले चाहे पार्टीभित्रै पुनरावेदन गर्न सक्नुहुन्छ। पार्टीमा पुनरावेदन समिति छ, सो समितिको निर्णयमा सभापतिको चित्त बुझे पार्टीमा फर्किने अवसर छ,’ उनले भने।

सांसद श्रेष्ठ अदालतबाट सफाइ पाएर आए पनि पार्टीमा फर्किन सक्ने उनले बताए। लामिछानेले भने, ‘अधिकार सम्पन्न निकाय र सम्मानित अदालतबाट ‘क्लिन चिट’ लिएर आए पार्टी विधान अनुसार निर्णय गर्न सकिन्छ।’

श्रेष्ठले पार्टीभि पनि ‘ब्ल्याकमेल’ गरेको आरोप सांसद श्रेष्ठले पार्टीको केन्द्रीय अनुशासन तथा आचरण समितिलाई बयान दिँदा ‘ब्ल्याकमेल’ गरेको सभापति लामिछानेले बताए। ‘उहाँले भनेका कुरा एकदमै चेन्ज भएर आएका छन्। केन्द्रीय समिति बैठकमा हामीले कुरा राख्नुभन्दा उहाँले मैले बोलेकै होइन भन्नुभएको छ। अडियो मेरो होइन भन्नुभयो,’ लामिछानेले भने, ‘समिति (अनुशासन तथा आचरण समिति) सँग बयान दिँदा मलाई फसाए, सिध्याइदिन्छु भन्नुभएको छ।’

आफूसँगको व्यक्तिगत कुराकानीमा पनि सांसद श्रेष्ठले ‘म डुबें’ भनेर सुनाएको लामिछानेले बताए। ‘उहाँले म डुबें भन्नुभएको छ। कुन किसिमले भन्नुभयो थाहा छैन। आफू डुबे अरूलाई नछाड्ने कुरा पनि आएका छन्,’ लामिछानेले भने।

सांसद श्रेष्ठले बार्गेनिङ गरेका सबै कुरा रेकर्डमा रहेको लामिछानेको दाबी छ। ‘सबै कुरा रेकर्डमा छन्, अनुशासन समितिले स्पष्ट रूपमा दिएको छ। अधिकार सम्पन्न निकायले मागे दिन सक्छौं,’ उनले भने। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अनुसन्धान गर्न चाहे वा संकलित प्रमाण मागे सहयोग गर्ने सभापति लामिछानेले बताए। ‘अख्तियारले यस विषयमा छानबिन थालेको सुनेको छु,’ उनले भने, ‘हामी पूरा सहयोग गर्छौं। आवश्यक परे यी सबै प्रमाण पनि दिन सक्छौं।’

‘कोर टिम’बारे आलटाल

सभापति लामिछानेलाई पत्रकारले ‘कोर टिम’ बारे पनि प्रश्न तेस्र्याए। ‘कोर टिमबारे छानबिन किन नभएको?’ भन्ने प्रश्नमा उनले कोर टिम नै नभएको जवाफ दिए। उनले भने, ‘मैले केन्द्रीय समितिको बैठकमा नै उहाँ (श्रेष्ठ) सँग सोधेको छु। कोर टिम भनेको को हो? पार्टी स्थापना गर्दाको टिम हो कि मेरो सचिवालय? कसले मन्त्रीको अफर गरेको हो? भनेर सोध्दा वाफ नै दिनुभएन। खै कसरी चिन्ने?’ श्रेष्ठले ‘आफूमाथि कारबाही भए कोर टिमको तथ्यसहित सार्वजनिक गर्छु’ भनी दिएको अभिव्यक्तिका विषयमा पनि लामिछानेसँग पत्रकारले प्रश्न राखे। त्यसको जवाफमा लामिछानेले तथ्यसहित आए कारबाही गर्ने बताए।

‘तथ्यसहित आए कारबाही गरिन्छ। तर उहाँ (श्रेष्ठ) ले नाम लिँदैमा हुँदैन। उहाँ एक लेभलले बार्गेनिङमा आउनुभएको छ। उहाँमाथि कारबाही गर्न जुन प्रमाण छन्, त्यसैगरी आए कारबाही गर्छौं,’ उनले भने। सांसद श्रेष्ठलाई मन्त्री बनाउने विषयमा पार्टीबाट बार्गेनिङ गर्ने आधार नै नरहेको सभापति लामिछानेले बताए। ‘न उहाँ मन्त्री बन्ने लाइनमा हुनुहुन्थ्यो न हामीले बनायौं, न स्वाथ्य मन्त्रालय नै हाम्रो थियो,’ उनले भने, ‘बरु त्यो अडियो प्रकरणमा फलानोलाई बनाउनु हुँदैन भनिए पनि तोसिमा कार्की स्वास्थ्य राज्यमन्त्री बन्नुभयो। उहाँलाई कुनै जानकारी नै छैन।

हतास मनस्थितिमा श्रेष्ठ

सांसद श्रेष्ठले आफू स्वास्थ्यमन्त्री बन्न लागेको बताउँदै त्यसबापत रास्वपाको कोर टिमलाई दुई करोड बुझाउनुपर्ने भन्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग आर्थिक सहयोग मागेको अडियो आइतबार बाहिरिएको थियो। टेप बाहिरिएसँगै रास्वपा र सांसद श्रेष्ठको चौतर्फी आलोचना भइरहेको छ। रास्वपाले बुधबार उनलाई पार्टीबाट बर्खास्त गरेको छ। टेप बाहिरिएसँगै सांसद श्रेष्ठ निकै हतास मनस्थितिमा देखिएका छन्। मेडिकल व्यवसायी प्रसाईंसँग सहयोग माग्न उनले गरेका थप प्रयास पनि बाहिरिएका छन्।

मंगलबार पार्टी केन्द्रीय अनुशासन तथा आचरण समितिमा बयान दिँदा श्रेष्ठले आफूलाई बचाउन बार्गेनिङ गरेका थिए, जसलाई सभापति लामिछानेले पनि स्विकारेका छन्। बुधबार सांसद श्रेष्ठ आफ्नैबारे निर्णय गर्न बसेको केन्द्रीय समिति बैठकमा उपस्थित थिए। उनी अन्य सदस्यभन्दा अगावै केन्द्रीय कार्यालय बसुन्धरा पुगेका थिए। पार्टी कार्यालयमा पत्रकारले प्रतिक्रिया लिन चाहे पनि उनी बोलेनन्। उनी बैठक नसकिँदै बाहिरिएका थिए। त्यतिबेला उनले पत्रकारसँग आफ्ना भनाइ राखेका हुन्। रास्वपाले सधैं पत्रकार सम्मेलनका लागि प्रयोग गर्दै आएको कार्यालय बाहिरको खुला ठाउँमा पुगेर श्रेष्ठले ‘धेरै कुरा राख्दिनँ, मेरा कुरा राख्छु गइहाल्छु’ भनेर बोल्न सुरु गरे। झन्डै साढे तीन मिनेट कुरा राख्दा उनको बोली बाझियो। सुरुमा उनले मिडियामा आएको अडियो जसले पनि, जहाँ पनि बनाउन सकिने खालको रहेको बताए। ‘इडिटिङ गर्न सकिन्छ। मैले अहिले बोलेको भ्वाइस फेरि अर्को तरिकाले मोडेर, इडिटिङ गरेर बाहिर ल्याउन सकिन्छ। यो अडियो खास आधिकारिक होइन। ह्वाट्सएपमा कुरा गरेको भनिएको छ। मेरा कुराहरू कहाँकहाँबाट जोडेर अहिले मिडियामा ल्याइयो। यसप्रति म खेद प्रकट गर्छु,’ उनले भने।

आफूमाथि अन्याय भएको भन्दै उनले त्यसविरुद्ध मंगलबार नै अदालतमा गएको बताए। ‘म हिजै (मंगलबार) न्यायालय गइसक्या छु। मेरा शुभचिन्तक महानुभावहरू तपाईंहरू निश्चिन्त हुनुहोला,’ उनले भने, ‘केही समयपछि न्यायालयबाट क्लिन चिट पाएर तपाईंहरूमार्फत यसरी नै प्रेस मिट गर्नेछु। धैर्यधारण गर्नुहोला।’ श्रेष्ठले जनवरीमा रेकर्ड भएको अडियो अहिले ल्याएर हालेको भनेर बाझिने कुरा पनि गरे। उनले भने, ‘जनवरीमा भएको अडियो अहिले ल्याएर हाल्नु भनेको सुनुयोजित किसिमले हाम्रो पार्टीलाई चारैतिरबाट प्रहार गर्नु हो।’

प्रकाशित: ३० चैत्र २०७९ ००:४० बिहीबार

‘कोर टिम’बारे आलटाल हतास मनस्थितिमा श्रेष्ठ ४२औं दिनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रवि लामिछाने साढे दुई करोड जनसङ्ख्याक अडियो प्रकरण