काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीले आफूविरुद्ध सर्वोच्च अदालतमा दायर मुद्दाको तारेख बिहीबार वारेसमार्फत बुझेका छन्। मंसिर १६ का लागि मूल मुद्दा (अख्तियारमा कार्कीको नियुक्ति र योग्यतासम्बन्धी) को पेसी तोकिएकाले उनका तर्फबाट अधिवक्ता तेजबहादुर कटवाललेे अदालतबाट तारेख बुझेका हुन्। कार्कीले तारेख बुझ्न कटवाललाई वारेसनामा दिएका थिए।
वारेसमार्फत तारेख बुझेपछि पेसी तोकिएका दिन निलम्बित प्रमुख कार्कीको योग्यता र नियुक्तिसम्बन्धी विवाद मुद्दामा बहस हुनेछ। अख्तियारमा कार्कीको नियुक्ति र उनको योग्यतामाथि प्रश्न उठाउँदै अधिवक्ता ओमप्रकाश अर्यालले एक वर्षअघि रिट दायर गरेका थिए।
कार्कीको नियुक्तिविरुद्धको रिट खारेज गर्ने आफ्नै फैसला सर्वोच्चले गत भदौ ३१ मा पुनरवलोकन गर्न अनुमति दिएको थियो।
त्यसैगरी, कार्की निलम्बनमा परेपछि उनको सेवा सुविधा रोक्न माग राखेर दायर मुद्दामा पनि मूल मुद्दासँगै मंसिर १६ मा बहस हुने छ। उनको सेवा सुविधा रोक्न अन्तरिम आदेश माग राखेर दायर रिटमा सर्वोच्च अदालतमा बिहीबार सुनुवाइ भएको थियो। उनको सेवा, सुविधा रोक्काको विषय पनि मूल मुद्दाको पेसीसँगै रहने सर्वोच्च अदालत स्रोतले जनाएको छ।
यसअघि सर्वोच्चले दोस्रो जनआन्दोलन २०६२/०६३ पछिको सरकारले कार्कीलाई सोधेको स्पष्टीकरण र अख्तियारमा उनको नियुक्तिसम्बन्धी सक्कल फाइल र संवैधानिक परिषद्को निर्णय सरकारसँग मागेको थियो। सरकारले फाइल नभेटिएको जबाफ भदौ २१ मा अदालतलाई दिएको थियो। संवैधानिक परिषद्ले २०७० वैशाख २२ गते पूर्व मुख्यसचिवसमेत रहेका कार्कीलाई आयोगको प्रमुख आयुक्त पदमा नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो।
म्याद तामेली कार्की आफैलें बुझे
सर्वोच्च अदालतले सातदिन भित्र लिखित जवाफसहित उपस्थित हुन दिएको अर्को आदेशको म्याद तामेली भने कार्कीले बिहीबार आफैंले बुझेका छन्। सर्वोच्चले यसअघि पठाएको म्याद तामेली नबुझेका कारण सात दिनभित्र अदालतमा उपस्थित हुन दिएको म्याद तामेली उनी आफैंले बुझेका हुन्। सर्वोच्च अदालतका तामेलदार वालकृष्ण पौडलले टंगालस्थित कार्कीनिवास पुगेर उनको हातमा म्याद तामेली थमाएको सर्वोच्च स्रोतले जनाएको छ। यसभन्दा अघि म्याद तामेली गर्न रोकेको सार्वजनिक भएपछि कार्कीको आलोचना भएको थियो।
सर्वोच्च अदालतले कार्कीको म्याद तामेलीमा अवरोध पुर्याउनेलाई सात दिनभित्र आफैं अदालतमा हाजिर हुन मंगलबार आदेश जारी गरेको थियो। म्याद तामेली बुझेपछि आदेश अनुसार सात दिनभित्र सर्वोच्च अदालतमा कारण पेस गर्नुपर्नेछ।
न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासले अदालतको म्याद तामेलीमा अवरोध गर्नुको कारणसहित लिखत जवाफ लिएर स्वयं अदालतमा उपस्थित हुन कार्कीसहित चारजनाका नाममा आदेश जारी गरेको थियो।
अधिवक्ता ओमप्रकाश अर्यालले कार्कीसहित उनका ज्वाईं प्रबल थापालगायत म्याद तामेली 'प्रतिकार समूह' मा संलग्नलाई विपक्षी बनाउँदै कातिक १२ गते अवहेलना निवेदन दर्ता गराएका थिए। आदेशसँगै कृषि विकास बैंकका अध्यक्ष एवं पूर्व कानुन सचिव प्रमोद कार्की, महानगरिय प्रहरी वृत्त बानेश्वरका सई नकुलराज गौतम र कार्कीका कान्छा ज्वाईं थापा पनि अदालत तानिएका छन्।
प्रकाशित: २६ कार्तिक २०७३ ०१:४६ शुक्रबार