काठमाडौं- परराष्ट्र मामिला जानकारहरूले प्रधानमन्त्री पुष्पकमल दाहाललाई आसन्न भारत भ्रमणका बेला दुई देशबीचको सम्बन्ध सुधारमा केन्द्रित हुन सुझाव दिएका छन्। भदौ ३० गतेबाट सुरु हुने प्रधानमन्त्रीको भ्रमणमा नेपालमा भइरहेको भारतको 'माइक्रो म्यानेजमेन्ट' हटाउन र कर्मचारीतन्त्रबाट हुँदै आएको सम्बन्ध विस्थापित गरी राजनीतिक तहमा स्थापित गर्नुपर्नेसमेत उनीहरूले औंल्याएका छन्।
'भारतले नेपालमा माइक्रो म्यानेजमेन्ट गर्नुहुँदैन। आन्तरिक कुरा नेपाललाई आफैं मिलाउन दिनुपर्छ। भारतले नेपालमा माइक्रो म्यानेजमेन्ट नगरेको भए सम्बन्धमा समस्या आउँदैनथ्यो,' नेपाल–भारत मैत्री समाजले आइतबार राजधानीमा आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा नेकपा एमालेका नेता तथा पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीले भने, 'कर्मचारीतन्त्रबाट समस्या समाधान हुँदैन, राजनीतिक तहबाटै गर्नुपर्छ।'
नेपालसँग सम्बन्धमा भारतको कर्मचारीतन्त्र हाबी रहेको जनाउँदै उनले प्रधानमन्त्री दाहाललाई भारत भ्रमणका बेला राजनीतिक तहमा सम्बन्ध स्थापित गर्न आग्रह गरे। काठमाडौंस्थित भारतीय दूतावासका उपनियोग प्रमुख विनय कुमार समेत उपस्थित कार्यक्रममा उनले थप स्पष्ट पारे, 'प्रधानमन्त्रीले महत्वपूर्ण समयमा भारतको भ्रमण गर्दै हुनुहुन्छ। बितेका १० महिनामा भारतसँग जति राम्रो सम्बन्ध भयो त्यतिनै नराम्रो पनि। अब खुलेर राजनीतिक तहमा कुरा हुनैपर्छ।'
भारतका लागि पूर्व नेपाली राजदूत लोकराज बरालले भने परराष्ट्र नीति भावनामा चलेका कारण भारतसँग सम्बन्ध राम्रो हुन नसकेको बताए। भारतसँग सम्बन्ध सुधारका लागि पहिला घरभित्रको समस्या समाधान गर्न उनले प्रधानमन्त्रीलाई सुझाव दिए।
'भावनामा बहेर, उत्ताउलो भएर, चर्का भाषण गरेको भरमा परराष्ट्रनीति चल्दैन। हामीले परराष्ट्र नीतिलाई दलीयकरणको अभ्यासमा लग्यौं। आफूआफू हिलो छ्यापाछ्याप गरेर हुँदैन,' बरालले भने, 'अहिलेको ढर्रा परिवर्तन गर्नुपर्छ। घरको आन्तरिक राजनीति बलियो नभए भारतसँगको सम्बन्ध तलमाथि भइरहन्छ।'
नागरिक समाजका अगुवा डा. सुन्दरमणि दीक्षितले प्रधानमन्त्रीको भारत भ्रमणको उद्देश्य सम्बन्ध सुधार्ने मात्र हुनुपर्ने बताए। विकास र सहयोगका लागि अर्को 'बिजनेस भ्रमण' गर्न उनले सुझाए। उनले भने, 'भारतसँगको सम्बन्ध बिग्रेको छ, अब त्यसलाई राजनीतिक तहबाट मित्रतामा बदल्नुपर्यो जसको प्रभाव साउथ ब्लक (भारतीय विदेश मन्त्रालय) सम्म पुगोस्।' प्रधानमन्त्रीलाई भारतसँगको सम्बन्ध दिगो बनाएर आउने उनले आग्रह गरे।
पूर्वराजदूत नीलाम्बर आचार्यले नेपाल र भारतको सम्बन्ध 'आशंका' बीच जेलिएको जनाउँदै प्रधानमन्त्री दाहालले भारत भ्रमणको बेला यसलाई हटाउनुपर्ने बताए। सन् १९५५ देखि जब नेपालले बाह्य देशसँग सम्बन्ध विस्तार गर्न खोज्यो तबबाट नेपाल–भारत सम्बन्धलाई आशंकाले घेरेको उनले बताए।
'भारतसँग सम्झौता भए हामी ठगियौं कि भनेर आशंका गर्छौं। नेता भारत गए पनि हामी आशंका गर्छौं। नेपालले बाह्य सम्बन्ध स्थापित गर्न खोज्दा भारतले पनि आशंका गर्ने। यो आशंकालाई विश्वासको सम्बन्धमा बदल्नुपर्छ,' आचार्यले भने। उनले भारतसँग राजनीतिक सम्बन्ध विस्तार गर्न प्रधानमन्त्रीलाई आग्रह गरे।
'हामी २०औं शताब्दीको मानसिकतामा छौं। अहिले नेपाल पनि फेरिएको छ र भारत पनि। अब २१औं शताब्दी अनुकूल हुने गरी सम्बन्ध विस्तार गर्नुपर्छ। पारस्परिक सम्मान र हितको आधारमा विश्वास जगाउनुपर्छ,' उनले भने।
पूर्वपरराष्ट्रमन्त्री प्रकाशचन्द्र लोहनीले नयाँ संविधान जारी भएपछि नेपालमाथि लगाइएको नाकाबन्दीको विषय उठाउन प्रधानमन्त्रीलाई आग्रह गरे। उनले भने, 'दुई मित्रबीच नाकाबन्दीको कुरा हुनुपर्छ। भोलि नाकाबन्दी नहोस् भन्नको लागि हिजो भएका कुराको समीक्षा गर्दा राम्रो हुन्छ।' प्रधानमन्त्रीलाई धेरै भारी बोकाएर पठाउन नहुने जनाउँदै उनले पुराना सहमति कार्यान्वयनमा ल्याउन जोड दिनुपर्ने बताए।
प्रकाशित: २७ भाद्र २०७३ ०२:०७ सोमबार