९ मंसिर २०८१ आइतबार
image/svg+xml
राजनीति

पार्टी एकताअघि सहकार्य

जनता समाजवादी पार्टी (जसपा) र नेकपा एकीकृत समाजवादी (नेकपा एस) एकीकरण अगाडि सहकार्य गर्न सहमत भएका छन्। पार्टी एकीकरण प्रक्रियालाई सहज र सजिलो बनाउन पहिला सहकार्य गर्ने सहमति भएको दुवै पक्षका नेताहरूले बताएका हुन्।  

एकीकरणका लागि दुवै पार्टीले वार्ता समिति बनाएका छन्। वार्ता समितिका सदस्यहरूले पहिलो चरणमा कुराकानी गरेका छन्। एकदुई दिनभित्रै दोस्रो चरणको कुराकानी हुनेछ। पहिलो चरणमा वार्ता कसरी अगाडि बढाउने, वार्ताको कार्यविधि कस्तो बनाउने भन्ने विषयमा कुराकानी भएको जसपा वार्ता टोलीका संयोजक राजेन्द्र श्रेष्ठले बताए। ‘पार्टी एकीकरणअघि सहकार्य गर्ने सहमति भएको छ। एकीकरण प्रक्रिया सुरु गरेका छौं’, श्रेष्ठले भने, ‘अहिले हामी एकीकरणको प्रारम्भिक चरणमा छौं।’

स्रोतका अनुसार अब बस्ने वार्ताटोलीको बैठकमा दुवै पक्षले आ–आफ्ना पार्टीका राजनीतिक घोषणापत्र, दस्तावेज, विधान, चुनावी घोषणापत्रलगायतका कागजात प्रस्तुत गर्ने सहमति भएको छ। वार्ताटोलीमा रहेका एक नेताका अनुसार मिल्न सक्ने विषय मिलाउँदै जाने र मिल्न नसक्ने विषय सूचीकृत गर्ने सहमति भएको छ।  

जसपा वार्ताटोलीका संयोजक श्रेष्ठले एकताको ढाँचा विषयमा अझै छलफल नभएको बताए। स्रोतका अनुसार नेकपा एसका अध्यक्ष माधव नेपालले एमालेसँग भन्दा जसपासँगको एकीकरण प्रक्रियालाई महत्व दिएका छन्। अध्यक्ष नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवको चाहनाअनुसार दुवै पार्टीले वार्ताटोली गठन गरेका हुन्।  

स्रोत भन्छ, ‘जसपा अध्यक्ष यादव दुवै पार्टीलाई मिलाएर प्रतिनिधिसभामा चौथो ठूलो दल बनाउन चाहन्छन्। जसपा र नेकपा एसबीच एकता भए संसद्मा एकीकृत पार्टीको सिट २२ हुन्छ। अहिले २० सिट भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रतिनिधिसभामा चोथो ठुलो दल छ। प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १० सिट जितेको नेकपा एसले समानुपातिक निर्वाचनमा एउटा सिट पनि नपाएकाले राष्ट्रिय दलको मान्यता पाएको छैन।

लोसपा सरकारमा जाने

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सरकारमा जाने भएको छ। लोसपा कार्यकारिणी समिति सदस्य केशव झाले आफ्नो पार्टी पुष्पकमल दाहाल नेतृत्वको सरकारमा जान तयार भएको बताए। सरकारले ल्याएको न्यूनतम साझा कार्यक्रममा लोसपाका माग समावेश भएकाले सरकारमा जान आफूहरू तयार भएको झाले बताए। ‘हामीले उठाएका मुद्दा सम्बोधन गर्ने प्रतिबद्धता सरकारको न्यूनतम साझा कार्यक्रममा गरिएको छ’, झाले भने, ‘त्यसैले हामी सरकारमा जान तयार भएका हौं।’ स्रोतका अनुसार लोसपाले एउटा मन्त्रालय पाउने भएको छ। सरकारमा जान लोसपाका दुई सांसद शरत्सिंह भण्डारी र सर्वेन्द्रनाथ शुक्ल इच्छुक देखिएका छन्। प्रतिनिधिसभामा लोसपाका चार सांसद छन्। समानुपातिक निर्वाचनमा एउटा सिट पनि नपाएकाले लोसपाले राष्ट्रिय दलको मान्यता पाएको छैन।

प्रकाशित: ३० पुस २०७९ ००:४५ शनिबार

जनता समाजवादी पार्टी नेकपा एकीकृत समाजवादी