२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री दाहालका सात सारथि

वाम गठबन्धनका सूत्रधार

नवनियुक्त अर्थमन्त्री विष्णु पौडेल २०१६ सालमा स्याङ्जामा जन्मिएका हुन्। हाल नेकपा एमालेका उपाध्यक्ष पौडेलले तेस्रो पटक अर्थमन्त्रीको पदभार ग्रहण गरेका छन्। २०४७ सालमै नेकपा एमालेको केन्द्रीय कमिटीमा प्रवेश पाएका पौडेल सातौं महाधिवेशनपछि अशोक राईसँगै स्थायी कमिटी सदस्य बनेका थिए। उनी २०६५ सालको आठौं महाधिवेशनबाट केन्द्रीय कमिटीको सचिव र २०७१ को नवौं महाधिवेशनबाट उपमहासचिव निर्वाचित भए। संसदीय राजनीतिमा उनी २०५१ सालदेखि प्रवेश गरेका हुन्। २०५१ मा पाल्पा क्षेत्र नम्बर ३ बाट सांसद जितेका पौडेल २०५४ सालमा युवा तथा खेलकुदमन्त्री बनेका थिए।

उनी २०६५ सालमा पुष्पकमल दाहाल नेतृत्वको सरकारमा जलस्रोत मन्त्री बनेका थिए भने झलनाथ खनालको पालामा रक्षामन्त्री भएका थिए। ओली प्रधानमन्त्री भएको बेला अर्थमन्त्रीका रूपमा उनले आफूलाई सफल बनाएका थिए। त्यसपछि पुनः कोरोनाको बेला उनी अर्थमन्त्री भएका थिए। एमालेभित्र संगठन विभागप्रमुखको भूमिका कुशलतापूर्वक निर्वाह गरिसकेपछि २०७५ साल जेठ ३ गते एमाले र माओवादीबीच एकता भएपछि उनी पार्टी महासचिव बनेका थिए। एमाले र माओवादीबीच एकताको सूत्रधार र अहिले माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउने गरी भएको समझदारीको मुख्य सूत्रधार पनि उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेल नै हुन्।

दोस्रोपटक उपप्रधानमन्त्री

नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ सोमबार गठन भएको सरकारमा उपप्रधान तथा भौतिक योजना एवं यातायातमन्त्रीमा नियुक्त भएका छन्। आफ्नै पार्टीका अध्यक्ष पुष्पकमल दाहालले पार्टीको नेतृत्व गर्दा श्रेष्ठ सरकारका तीन उपप्रधानमन्त्रीमध्ये दोस्रो नम्बरको उपाध्यक्ष लिएर सरकारमा सहभागी भएका हुन्। २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा आफ्नै पूर्वसहकर्मी बाबुराम भट्टराईसँग पराजित भएका उनी तीन वर्षअघि २०७६ माघमा राष्ट्रियसभा सदस्य निर्वाचित भएका थिए। श्रेष्ठ २०६८ भदौमा माओवादी नेतृत्वकै सरकारमा उपप्रधान तथा परराष्ट्रमन्त्री बनेका थिए।

२०१६ सालमा गोरखाको जौबारीमा जन्मिएका श्रेष्ठ २०३३ सालमा एचए पढ्न काठमाडौं आएका थिए। महाराजगन्ज कलेजबाट एचए पूरा गरेपछि उनले करिब एक वर्ष नुवाकोटको सामरी भन्ज्याङ स्वास्थ्य केन्द्रमा स्वास्थ्यकर्मीका रूपमा काम गरे। त्यसपछि उनी आफ्नै गाउँ जौबारी गए। त्यहाँ रहेको स्वास्थ्य केन्द्रमा पनि उनले केही समय काम गरे। २०४१-४२ सालतिर उनले काठमाडौंको सिद्धार्थ वनस्थली स्कुलमा गणित तथा नेपाल परिचय विषयको शिक्षकका रूपमा समेत काम गरेका थिए।  

अर्थशास्त्र र जनप्रशासनबाट स्नाकोत्तर तह पूरा गरेका श्रेष्ठको राजनीतिक यात्रा कांग्रेस विद्यार्थी संगठनबाट सुरु भएको थियो। कांग्रेसका संस्थापक नेता बिपीको विचारबाट प्रभावित उनी २०३३ सालबाट जनमतसंग्रहको समयसम्म करिब तीन वर्ष नेपाली कांग्रेसको विद्यार्थी राजनीतिमा सक्रिय रहे। कप्तान यज्ञबहादुर थापाको फाँसीबारे बिपीले चित्तबुझ्दो जवाफ नदिएपछि उनको कांग्रेससँगको मोह भंग भयो। त्यसपछि उनी कम्युनिस्ट राजनीतिमा होमिए। २०४३ सालमा निर्मल लामा नेतृत्वको नेकपा चौमको केन्द्रीय सदस्य चयन भएका उनी २०४८ मा नेकपा एकता केन्द्र मसालको पोलिटब्युरो सदस्य बने। पुष्पकमल दाहाल नेतृत्वको एकता केन्द्र फुटेर पुष्पकमल दाहालको नेतृत्वमा नेकपा माओवादी गठन भई सशस्त्र युद्ध सुरु भएपछि श्रेष्ठ एकता केन्द्रमै रहेर महासचिव बने। त्यसपछि उनले मोहनविक्रम सिंहसँग गरेको पार्टी एकीकरण सफल भएन।

श्रेष्ठ सशस्त्र युद्धमा सहभागी हुने दाहालको निर्णयप्रति सहमत नभए पनि उनी पनि भूमिगत नै भइरहे। माओवादी शान्तिप्रक्रियामा आएपछि श्रेष्ठले २०६५ मा पुनः माओवादीसँग एकीकरण गरे। त्यसपछि माओवादीभित्र धेरैपटक विभाजन आए पनि श्रेष्ठ भने उक्त पार्टीको महत्वपूर्ण जिम्मेवारीमा रहँदै आएका छन्।

रविको छलाङ  

६ महिनाअघि मात्रै राष्ट्रिय स्वतन्त्र पार्टी गठन गरेर निर्वाचनमा होमिएका रवि लामिछाने एकाएक उपप्रधानमन्त्री तथा गृहमन्त्री बनेका छन्। गृहलाई हरेक विषयको जवाफ दिने र कानुन कार्यान्वयन गर्ने मन्त्रालय भएकाले प्रधानमन्त्रीपछि सबैभन्दा महत्वपूर्ण मानिन्छ।  

७७ वटै जिल्ला प्रशासन कार्यालय, दुईवटा सुरक्षा निकाय तथा सबै मन्त्रालयको संयोजनकारी भूमिकामा रहेकाले गृह मन्त्रालय निकै महत्वपूर्ण मन्त्रालय हो। नेपाली नागरिकता त्यागेर अमेरिकी नागरिक भएका लामिछानेले पुनः नेपाली नागरिकता लिने प्रक्रिया पूरा नगरेको भन्दै उनी विवादमा तानिएका छन्।  

जसले गर्दा लामिछानेलाई कानुनी झमेला भए पनि उनी आफैं मन्त्री पदमा भएकाले अनुसन्धानलाई पर धकेल्ने र अनुसन्धान प्रभावित हुनसक्ने सम्भावना रहेको गृहका अधिकारीले बताएका छन्। यी सबै विषय हुँदाहुँदै पनि लामिछानेले नेपाली राजनीतिमा छलाङ मारेका छन्। ६ महिनाअघि पार्टी गठन गरी ६ महिनापछि सत्ता समीकरणको खेलमा उपप्रधानमन्त्री तथा गृहमन्त्री हात पारेका छन् उनले। माओवादी अध्यक्ष पुष्पकमल दाहालविरुद्ध ‘नो नट एगेन’ अभियान चलाए पनि उनकै नेतृत्वमा सरकारमा गएर सुधार गर्छु भन्ने उद्घोष गरेका छन्। २०७२ सालदेखि नै नेपाली सञ्चारमाध्यममा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएका थिए। त्यसै क्रममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘सिधा कुरा जनतासँग’ भन्ने कार्यक्रममा जोडेपछि उनको लोकप्रियता चुलिएको थियो। उनले बुद्ध नेपालमै जन्मिएका हुन् भन्ने विश्वमा सबैभन्दा लामो टेलिभिजन कार्यक्रम सञ्चालन गरेर विश्व कीर्तिमानी कायम गरेका छन्। पछिल्लो समय टेलिभिजन कार्यक्रममा थिति र विधिको कडा विवेचना गर्ने र त्यसअनुसारको कार्यक्रम सञ्चालन गर्दागर्दै राजनीतिमा आएका लामिछानेले अब कस्तो थिति र कस्तो विधि कायम गर्छन्, त्यो भने हेर्न बाँकी नै छ।  

‘क्लिन स्विप’को पुरस्कार

धनकुटाको मुगामा जन्मेका राजेन्द्र राई २०४२ सालमा एसएलसी दिएलगत्तै उनी पार्टीको ‘होलटाइमर’ भएका थिए। विद्यार्थीकालदेखि नै उनी राजनीतिमा होमिएका थिए।  

उनी अनेरास्ववियुको जिल्ला उपाध्यक्ष, विराटनगरस्थित जनता ल क्याम्पसमा अखिलको नगर कमिटी सचिव हुँदै राजनीतिमा प्रवेश गरेका राई अन्नतः  

मन्त्री भएका छन्। २०४६ सालमा अखिलका अध्यक्ष बनेका राजेन्द्र पार्टीको जिल्ला कमिटीको पनि सदस्य भएका थिए। राई २०४९ सालमा जिविस सदस्य र २०५१ सालमा उपसभापतिमा निर्वाचित भएका थिए।

त्यसपछि पार्टी सचिवालय सदस्य, किसान महासंघको केन्द्रीय सदस्य हुँदै राष्ट्रिय कफी तथा चिया विकास बोर्डको उपाध्यक्ष बनेका र २०६६ असारमा भएको जिल्ला अधिवेशनबाट उनले धनकुटाको नेतृत्व सम्हालेका थिए। २०७८ सम्म निरन्तर नेतृत्व गरेका उनी अहिले एमाले केन्द्रीय कमिटी सदस्य र धनकुटा इन्चार्ज छन्। उनले २०७४ र २०७९ दुवै निर्वाचनमा आफूसहित दुवै क्षेत्रमा एमालेलाई विजयी गराएका थिए।

ह्याट्रिक सांसदलाई मन्त्री

बैतडीका दामोदर भण्डरी २०४६ सालको जनआन्दोलनबाट प्रभावित भई राजनीतिमा होमिएका थिए। २०४८ सालमा अनेरास्ववियु बैतडीको जिल्ला कमिटी अध्यक्ष भएका भण्डारी २०५० सालमा नेकपा एमालेको बैतडी जिल्ला कमिटी सदस्य बनेका थिए। त्यसपछि भण्डारी २०५४ सालमा जिल्ला कमिटी उपसचिव भए। २०५६ देखि २०६४ सम्म नेकपा एमाले बैतडीको पार्टी प्रमुख (सचिव) हुँदै अध्यक्ष बनेका थिए। २०७५ मा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सुदूरपश्चिम प्रदेश कमिटी सदस्य भएका भण्डारी हाल एमाले सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्षको जिम्मेवारीमा छन्।  

निर्वाचनको इतिहासमा भने ९ वर्षअघि २०७० सालमा दोस्रो संविधानसभाको निर्वाचनमा बाजी मारेपछि भण्डारी पछि फर्कनुपरेको छैन। उनी २०७०, २०७४ र २०७९ मा ह्याट्रिक गर्ने सांसद हुन्। यसअघि पनि विष्णु पौडेल पहिलो पटक अर्थमन्त्री बनेका बेला उनी अर्थ राज्यमन्त्री भएका थिए।

एमालेकी ‘ज्वाला’

नेकपा एमालेको मधेस प्रदेशको सह–इन्चार्जसमेत रहेकी ज्वालाकुमारी साह मन्त्री बनेकी छन्। उनी तत्काललाई बिनाविभागीय मन्त्री भएकी हुन्। बारा ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित ज्वालाले लामो समय नेकपा माओवादी केन्द्रमा रहेर राजनीति गरेकी थिइन्।  

२०३८ कात्तिक ११ गते जन्मिएकी ज्वालाले राजनीति विरासतमै पाएकी हुन्। बाराको लौतन गाउँमा जन्मिएकी ज्वालाका बुवा खेदु साह कानुसमेत एमालेमा सक्रिय राजनीति गर्थे। बुवाबाटै प्रभावित भएर उनी सुरुका केही वर्ष एमालेमा रहेर राजनीतिक गतिविधिमा सक्रिय भएकी थिइन् ।  

तर बाल्यकालदेखि नै विद्रोही स्वभावकी ज्वालाले जनयुद्धमा होमिएको माओवादीको विद्यार्थी संगठनमा रहेर राजनीति गरिन् र २०५४ सालदेखि माओवादीको विद्यार्थी राजनीतिबाट २०५७ सालमा माओवादीको महिला संगठनको बारा जिल्ला अध्यक्ष भइन्। माओवादी जनयुद्ध त्यागेर मूलधारको राजनीतिमा आएलगत्तै २०६५ सालमा संविधानसभा निर्वाचनपछि संविधानसभा सदस्य भइन्। त्यसपछि ज्वाला साह २०६८ सालमा भूमि सुधार राज्यमन्त्री भइन्। त्यसपछि माओवादी केन्द्रको केन्द्रीय सदस्य हुँदै पार्टीको महिला संगठनको केन्द्रीय उपाध्यक्षसम्म भएकी ज्वाला २०७४ को निर्वाचनमा बारा ३ (क)बाट मधेस प्रदेशको प्रदेशसभा सदस्य पदमा निर्वाचित भएकी थिइन्। २०७४ को निर्वाचनपछि एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपामा ज्वालालाई बारा जिल्ला सह–इन्चार्जको जिम्मेवारी दिइएको थियो। दुई वर्षअगाडि फागुन २३ गते सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रलाई आ–आफ्नो बाटो लाग्न फैसला गरेपछि ज्वाला एमालेमै बसेकी थिइन् ।  

संसदीय राजनीतिको प्रतिफल

जनमत पार्टीका तर्फबाट सरकारमा गएका अब्दुल खान सोही पार्टीका वरिष्ठ उपाध्यक्ष हुन्। पदीय हिसाबबाट पनि खान पार्टी अध्यक्ष सिके राउतपछिका दोस्रा नेता हुन्। बर्दियाको गुलरियामा जन्मेका खान २०६८ सालदेखि राउतसँग छन्। जनमत पार्टीका अनुसार २०६८ सालमा राउतले आयोजना गरेको एक कार्यक्रममा पहिलोपटक खान उपस्थित भएका थिए। त्यसपछि उनी राउतसँग नजिक भएका हुन्।

राउतले नेतृत्व गरेको स्वतन्त्र मधेस गठबन्धनमा खान सक्रिय रूपमा सहभागी भएका थिए। राउत मूलधारमा आएपछि उनीसँगै खान पनि मूलधारमा फर्किएका थिए। उनी समानुपातिकतर्फ जनमत पार्टीबाट सांसद भएका हुन्।

प्रकाशित: १२ पुस २०७९ ०१:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App