९ मंसिर २०८१ आइतबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री आलोपालो

कांग्रेस नेतृत्वको सत्ता गठबन्धनमा आबद्ध तीन दलका शीर्ष नेताहरू आलोपालो गरेर सरकारको नेतृत्व सम्हाल्न सकारात्मक देखिएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार साँझ बसेको शीर्ष नेताहरूको बैठकमा अहिलेकै गठबन्धनलाई कायम राखेर नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी (नेकपा एस) ले आलोपालोमा सरकारको नेतृत्व गर्ने सहमति जुटेको छ। तर सुरुमा सरकारको नेतृत्व कसले गर्ने भन्ने निष्कर्ष निकाल्न भने बैठक असमर्थ भएको छ। पहिलो चरणमा को प्रधानमन्त्री बन्ने भन्ने विषयमा आइतबार पुनः बैठक बसेर टुंगो लगाउने सहमतिसहित बैठक टुंगिएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्री दाबी गर्न दिएको समय सकिनै लाग्दा शनिबार साँझ कांग्रेस नेतृत्वको गठबन्धनको बैठक बसेको थियो।

प्रतिनिधिसभाको ठुलो दल कांग्रेसले पहिलो चरणमा सरकारको नेतृत्व आफ्नो दलले स्वाभाविक रूपमा पाउनुपर्ने अडान राख्दै आएको छ। सुरुमा सरकारको नेतृत्व आफूले गरेपछि माओवादी केन्द्रले पालो पाउने र अन्तिममा चुनावी सरकारको नेतृत्व नेकपा एसलाई दिने पक्षमा कांग्रेस रहेको देखिन्छ। तर माओवादी केन्द्रले भने पहिलो चरणमै आफ्नो नेतृत्वमा सरकार गठन हुनुपर्ने अडान राख्दै आएको छ। कांग्रेस नेतृत्वमा डेढ वर्षदेखि सरकार रहेको बताउँदै संसदीय निर्वाचनपछिको प्रधानमन्त्री आफूले पाउनुपर्ने अडान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राख्दै आएका हुन्। प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा त्यसका लागि सकारात्मक देखिए पनि पार्टीका अन्य नेताहरू जनमतको सम्मान गर्दै सुरुमा सरकारको नेतृत्व कांग्रेसले पाउनुपर्ने पक्षमा छन्।

कांग्रेस र माओवादी केन्द्रका शीर्ष नेताहरूले अडानमा कायमै राखेपछि आआफ्ना पार्टीमा आन्तरिक छलफल गरेर आइतबार पुनः छलफलमा बस्ने समझदारी गरेका छन्। आन्तरिक छलफलपछि आइतबार बिहान १० बजे बस्ने शीर्ष नेताहरूको बैठकले प्रधानमन्त्रीसहित शक्ति बाँडफाँटबारे सहमति निकाल्ने नेताहरूको दाबी छ।

‘नयाँ सरकार अहिलेकै गठबन्धनको नेतृत्वमा बन्छ,’ बैठकपछि कांग्रेस नेतासमेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भने, ‘छलफल सकारात्मक भएको छ। भोलि (आइतबार) एकपटक बसेर फेरि छलफल गरी सहमति निकाल्छौं।’ मन्त्री कार्कीले प्रधानमन्त्री को पहिले र को पछि बन्ने भन्ने कुरा गौण भएको दाबी गरे। देशको हितमा कसरी अगाडि कसरी बढ्ने भन्ने कुरा महत्त्वपूर्ण भएको उनको भनाइ थियो। ‘निर्वाचनबाट प्रकट भएको जनमतअनुसारको नयाँ सरकार बन्छ,’ उनले भने।

राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार साँझ ५ बजेभित्र संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्री दाबी गर्न तोकिएको समय सीमाभित्रै नयाँ प्रधानमन्त्रीको दाबी गर्ने पनि उनले जानकारी दिए।

प्रधानमन्त्री बन्ने दौडमा रहेका माओवादी केन्द्रका अध्यक्ष दाहाल शुक्रबार बिहानै नेकपा एकीकृत समाजवादी (नेकपा एस) का अध्यक्ष माधवकुमार नेपाल निवास पुगेका थिए। शुक्रबार साँझ त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज भएका नेपाललाई भेट्न र सरकार गठनबारे छलफल गर्न दाहाल नेपाल निवास पुगेका हुन्। दुई नेताबीच कोटेश्वरमा वान टु वान छलफल भएको स्रोतको भनाइ छ।

 नेपाली कांग्रेसको नेतृत्वको वर्तमान सत्ता गठबन्धनमा रहेका यी दुई दलका शीर्ष नेताबीच करिब आधा घन्टा छलफल भएको बुझिएको छ। नयाँ सरकार गठन र सत्ता गठबन्धनको भविष्य नै वार्ताको मुख्य विषय रहेको स्रोतको दाबी छ। नेपाली कांग्रेस संसदीय दलका नेता तथा प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नै नेतृत्वमा नयाँ सरकार गठन गर्न कसरत गरिरहेको अवस्थामा दाहाल र नेपालबीचको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

प्रकाशित: १० पुस २०७९ ०१:२३ आइतबार

प्रधानमन्त्री आलोपालो