१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

निर्वाचन आयोगका पदाधिकारीविरुद्ध अख्तियारमा उजुरी

गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको दाबीसहित निर्वाचन आयोगका पदाधिकारीविरुद्ध बुधबार अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ।

प्रमुख निर्वाचन आयुक्तलगायत पदाधिकारी, सचिव, उपसचिव, लेखा अधिकृत, जिन्सी व्यवस्थापकको नामै किटेर अख्तियारमा भ्रष्टाचारको उजुरी दर्ता गरिएको हो। ‘एन्टी करप्सन न्युज’ कम्पनीका अध्यक्ष विश्वनीति प्रकाशमान सिंह पाख्रिनले निर्वाचन प्रयोजनका लागि खरिद गरिएका सामग्रीमा करोडौं भ्रष्टाचार गरेको आरोप लगाउँदै उनीहरूविरुद्ध उजुरी दर्ता गरेका हुन्। निवेदकले इन्धन खर्च, सवारीसाधन खर्च सीमाभन्दा बाहिर गई गरेको, गाडी मर्मतमा नक्कली बिल भर्पाई बनाएर गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोप लगाउँदै छानबिनको माग गरेका छन्।

‘निर्वाचन प्रयोजनका लागि गुणस्तरहीन मतपेटिका, डोरी, मतपत्र, स्वस्तिक छाप खरिद गरेको तर बिल भर्पाई भने गुणस्तरीय सामग्रीको देखाएर व्यापक अनियमितता गरेको हुँदा निर्वाचन आयोगका पदाधिकारी र कर्मचारीविरुद्ध विस्तृत छानबिन तथा अनुसन्धान गराई पाऊँ’, उजुरीमा भनिएको छ।

उजुरीमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया, आयुक्तहरू ईश्वरीप्रसाद पौड्याल, रामप्रसाद भण्डारी, जानकीकुमारी तुलाधर, सगुनशमशेर जबरा, सचिव गोकर्णमणि दवाडी, उपसचिव मुकुन्दकेशरी पोख्रेल, लेखाअधिकृत विष्णुप्रसाद न्यौपाने, जिन्सी शाखाका विश्वराज दहालले भ्रष्टाचार गरेको दाबी गरिएको छ। 

प्रकाशित: ७ पुस २०७९ ०२:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App