गत मंसिर ४ मा सम्पन्न भएको निर्वाचनमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले सहज जित हासिल गरेका छन्। नेपालले सहज जित हासिल गरेपछि कार्यकर्ता, समर्थक तथा शुभचिन्तकहरुमा बधाई साटासाट गरिरहेका छन्।
रौतहट सदरमुकाम गौरका स्थायी निवासी पूर्व प्रधानमन्त्री नेपाललाई यसपटक चुनाव जित्न निकै सकस हुने विश्वास गरिएको थियो। पहिले पनि प्रतिद्वन्द्वी रहिसकेका अजयकुमार गुप्ताले बलियो टक्कर दिने पूर्वानुमान थियो।
गत बैसाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा नेकपा एसले पूर्ण बहुमतसहित जित हासिल गरेको गौर नगरपालिका र राजदेवी नगरपालिकाका स्थानीयबासी रुष्ट छन् भन्ने पूर्वानुमान पनि थियो। गौर नगरप्रमुख शम्भु साह कानु र राजदेवी नगरप्रमुख भिखारी राय यादव पक्षका खास मानिसबाहेक सबै यत्रतत्र रहेको अनुमान चियापसलदेखि जमघटसम्म भइरहेको थियो।
रौतहट क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेपालले मनोनयन गर्दै प्रदेश सभा १ र २ दुवैमा नेपाली काँग्रेसलाई उम्मेदवार बनाएपछि केही आफ्नै कार्यकर्ता पनि नेपालदेखि रुष्ट थिए। तर आफैँ पनि चुनावमा निरन्तर खटेर नेता नेपालले सहजता ल्याउँदै गए। चुनावको लागि स्थिर अवधि सुरु हुनुभन्दा एक दिन अगाडि सबैले भन्न थाले – नेपालको जित सुनिश्चित भयो।
चुनाव प्रचारको क्रममा नेता नेपाल जहाँ जहाँ पुगेका थिए, अहिले त्यहीँबाट बधाईको ओइरो लागेको छ। नेता नेपाललाई भेटेर माला, अबिर र खाँदा लगाइदिँदै बधाई दिनेको दिनभर भीडभाड हुने गरेको छ। कतिपयले त मिठाइ नै लिएर पनि पुग्ने गरेका छन्।
सदरमुकाम गौरस्थित जुद्ध माध्यमिक विद्यालयमा सँगै पढेका साथीहरु, केही पढाएका गुरुहरु तथा गौरमा सँगै बसे खेलेका साथीहरुले बधाई दिँदा नेपाल झन् धेरै खुसी हुने गरेका छन् । बाल्यकालको सम्झनामा मित्रहरु रमाइलो स्मरण सुन्दा अरुहरु पनि गर्वले जिल्लाको गौरवमय नेता नेपाल भन्दै नारा पनि लगाउन थाल्छन्।
बधाईसँगै स्थानीयबासीले नेपालसित विकास र निर्माणका लागि केही आशा र अपेक्षाहरु राखिरहेका छन् । अबको दिनमा कृषि, भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य लगायतको क्षेत्रमा विकासले गति लिने आश्वासन पनि दिइरहेका नेपाल।
चुनाव प्रचारको समयमा कुनै असम्भव नारा नदिएका नेता नेपालले स्थानीय बज्जिका मातृभाषामा कुराकानी गर्दा र बज्जिकामै मन्तव्य दिँदा पुराना मित्र तथा साथीहरु झन् खुसी देखिन्छन् । चुनावको समयमा सर्वसाधारण सामु गरेका वाचाहरु पूरा गर्ने र सधैँभरि आम नागरिकका दुःख र सुखमा साथ रहने भनी नेता नेपालले बताउँदा बधाई दिनेहरु पनि भावुक बन्ने गरेका छन्।
प्रकाशित: ९ मंसिर २०७९ ०९:५८ शुक्रबार