१० मंसिर २०८१ सोमबार
image/svg+xml
राजनीति

मतदानमा हस्तक्षेप भए बल प्रयोगको अधिकार

सरकार र निर्वाचन आयोगले आइतबार हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। आयोगले ढुक्क भएर मताधिकार प्रयोग गर्न मतदातालाई आग्रह पनि गरेको छ। एकै चरणमा हुन लागेको संघ–प्रदेशको चुनाव गराउन निर्वाचन सामग्रीसहित २ लाख ४६ हजार ९६० कर्मचारी मतदानस्थल पुगिसकेका छन्। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र म्यादी प्रहरी गरी करिब ३ लाख जनशक्ति परिचालन गरिएको छ। मतदानका लागि खटिएका कर्मचारीले आवश्यक प्रबन्ध शनिबारसम्म मिलाइसक्ने निर्वाचन आयोगले जनाएको छ।

गृहमन्त्री बालकृष्ण खाणले पनि निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय बनाउन सरकारले आवश्यक सुरक्षा प्रबन्ध मिलाइसकेको जनाएका छन्। उनले ढुक्क भएर मताधिकार प्रयोग गर्न पनि सबैलाई आग्रह गरेका छन्। सरकारले विगतमा मतदान केन्द्रमा भएका हस्तक्षेप तथा मतपेटिका लुटपाटका घटनाबाट पाठ सिक्दै यसपटक मतदान प्रक्रिया र मतपेटिका लुटपाटका प्रयास भए सुरक्षा निकायलाई गोली हान्नेसम्मको अधिकार दिएको छ। निर्वाचन सुरक्षाका लागि प्रत्येक मतदान केन्द्रमा सुरक्षाकर्मीसहित तीन घेराको सुरक्षा व्यवस्था हुनेछ। कुनै मतदान केन्द्रमा विवाद भए १० मिनेटभित्रमा पुग्न सक्ने गरी प्रहरीको रिजर्भ फोर्सको पनि व्यवस्था गरिएको छ भने आधा घन्टाभित्र नेपाली सेनासमेत पुग्ने गरी अस्थायी ‘अपरेटिङ बेस’ स्थापना गरिएको छ।

नेपाल प्रहरीले सुरक्षा जोखिमका आधारमा उपत्यकामा नेपाल प्रहरीका तर्फबाट प्रहरी उपरीक्षक (एसपी) को नेतृत्वमा, तराईमा प्रहरी नायब उपरीक्षक (डिएसपी) तथा पहाडमा प्रहरी निरीक्षकको नेतृत्वमा गस्ती टोली परिचालन गरिरहेको र हिमाली क्षेत्रमा हेलिकोप्टरमार्फत सेनाबाट गस्ती भइरहेको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डिआइजी) टेकप्रसाद राईले जानकारी दिए। ‘चारदेखि पाँच निर्वाचन केन्द्रलाई समेट्ने गरी सेक्टरअनुसार पोसाक तथा सादा पोसाकका प्रहरी गस्ती टोली परिचालन भइरहेको छ,’ उनले भने। कुनै ठाउँमा सुरक्षा जोखिम देखिए १०० नम्बरमा सम्पर्क गरेको खण्डमा पनि तत्कालै सुरक्षाकर्मी सम्बन्धित ठाउँसम्म पुग्नेगरी व्यवस्था मिलाइएको प्रवक्ता राईले बताए ।

निर्वाचन सुरक्षाका लागि हरेक जिल्लामा निर्वाचन जिल्ला समितिअन्तर्गत प्रमुख जिल्ला अधिकारी (प्रजिअ) को नेतृत्वमा चारैवटा सुरक्षा निकायलाई परिचालन गरिएको छ। निर्वाचनका दिनमा हरेक मतदान केन्द्रको सुरक्षाका लागि नेपाल प्रहरीलाई पहिलो घेरामा परिचालन गरिनेछ। नेपाल प्रहरीले मतदाताको सुरक्षाका लागि उनीहरू हिँड्ने बाटोमा पनि गस्ती गर्नेछ। त्यसका अलावा सिभिल पोसाकका प्रहरी र राष्ट्रिय अनुसन्धानका सुरक्षाकर्मी पनि खटिनेछन्। साथै मतदानलाई व्यवस्थित बनाउन म्यादी प्रहरी पनि परिचालित हुनेछ । मतदान केन्द्रमा विवाद वा हिंसाको अवस्था भए सुरुमा नेपाल प्रहरीले त्यसलाई सामान्य बनाउन प्रयास गर्नेछ।

प्रहरीको एक्लो प्रयासबाट विवाद समाधान नभई बल प्रयोग गर्नुपर्ने अवस्थामा सशस्त्र प्रहरी र नेपाली सेनाको ‘रिजर्भ फोर्स’ पनि परिचालन हुनेछ। मतदान प्रक्रिया सम्पन्न भइसकेपछि प्रहरीको सुरक्षामा जिल्ला प्रशासन कार्यालयले मतपेटिकालाई क्षेत्रीय निर्वाचन कार्यालयमा लैजानेछ। विगतमा मतगणनास्थलमा अनधिकृत व्यक्तिको प्रवेश र मतपत्र च्यात्नेसम्मका घटना भएकाले यसपटक मतगणनास्थलको सुरक्षाका लागि सिसिटिभीको व्यवस्थादेखि तारबारका लागि निर्वाचन आयोगलाई सुझाव दिइएको प्रहरी प्रवक्ता राई बताउँछन्। नेपाल प्रहरीले निर्वाचन सुरक्षाका लागि ७१ हजार ६९३ जनशक्ति तैनाथ गरेको छ। त्यसका अलावा १ लाख १५ हजार म्यादी प्रहरी पनि निर्वाचन सुरक्षाका लागि परिचालित छन्।

६७९ स्थानमा सैनिक अपरेटिङ बेस

नेपाली सेनाले निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै ६७९ स्थानमा अतिरिक्त अपरेटिङ बेस स्थापना गरेको छ। निर्वाचन एकीकृत सुरक्षा योजनाअन्तर्गत आफूलाई दिइएको सुरक्षा जिम्मेवारीअन्तर्गत सेनाले हाल रहेका स्थायी बेसबाहेक अतिरिक्त अपरेटिङ बेस स्थापना गरेको सैनिक प्रवक्ता सहायक रथी नारायण सिलवालले जानकारी दिए। ‘नेपाली सेनाका स्थायी बेसबाहेक ५९९ स्थानमा प्लाटुन अपरेटिङ बेस र १८० स्थानमा कम्पनी अपरेटर बेस गरी ६७९ अतिरिक्त अपरेटिङ बेस स्थापना गरिएको छ,’ प्रवक्ता सिलवालले भने।

नेपाली सेनालाई निर्वाचन सुरक्षाअन्तर्गत मतपत्र छपाइ, मतपेटिका सुरक्षादेखि प्रहरीसँगको संयोजनमा मतदान केन्द्रको सुरक्षासम्मको जिम्मेवारी दिइएको छ। सेनाले मतदान केन्द्रको बाहिरी सुरक्षाको जिम्मेवारी पाएको छ। जसअन्तर्गत ३० मिनेटभित्र मतदान केन्द्रमा पुग्नेगरी सेना तैनाथ हुने प्रवक्ता सिलवालले जानकारी दिए। त्यसका अतिरिक्त ७७ वटै जिल्लामा रिजर्भ फोर्स पनि तैनाथ गरिएको उनले जानकारी दिए। निर्वाचनलाई लक्षित गर्दै सेनाले कारागार र विमानस्थलसहित १११ संवेदनशील स्थानको सुरक्षा जिम्मा पनि लिएको छ। हाल ती ठाउँमा खटिएका नेपाल प्रहरी तथा सशस्त्र प्रहरी निर्वाचन सुरक्षामा खटिने भएकाले सुरक्षाको जिम्मा नेपाली सेनाले लिएको हो। सेनाले निर्वाचनका बेला सुरक्षा खतरा र विस्फोटक पदार्थ निस्तेज पार्न विभिन्न निर्वाचन क्षेत्रमा ९३० ठाउँमा बम डिस्पोजल टोली तैनाथ गरेको सेनाले जनाएको छ। साथै सेनाले हवाई गस्ती र पेट्रोलिङको काम पनि गरिरहेको छ। हवाई गस्तीका लागि सेनाले इटहरी, सुर्खेत र पोखरामा हेलिकोप्टर तैनाथ अवस्थामा राखेको प्रवक्ता सिलवालले जानकारी दिए। त्यस्तै बर्दिबासमा पनि हेलिकोप्टर तैनाथ गर्ने तयारी भइरहेको उनले जानकारी दिए। 

प्रकाशित: ३ मंसिर २०७९ ००:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App