१० माघ २०८१ बिहीबार
image/svg+xml
फोटो फिचर

अाेली र गाैतम साक्षी राखेर मदन भण्डारीका फोटो लुटिँदा...

नामै काफी छ–जननेता मदन भण्डारी। मदनले देखाएको बाटो हिँड्दै नेकपा एमाले देशको दोस्रो ठूलो दलका रुपमा स्थापित छ। मदन नाम जोडिएका दर्जनौं संघ संस्था खोलिए र चलिरहेछन्। पार्टी, ट्रष्ट र सरकारको ढुकुटीबाट मदनका नाममा वर्षेनी करोडौं रकम परिचालित भएको छ। नफा र घाटाको हिसाब लगाउने हो भने पार्टी, नेता र कार्यकर्ताले मदनका नाममा अथाह असुल गरिसकेका छन्।

***

एकातिर मदन नेपालीको दिलमा गाढा छाप छोड्दै थिए, अर्कोतिर क्यामेराको नेगेटिभमा मदनलाई उतार्दै थिए फोटो पत्रकार नरेश श्रेष्ठ। पञ्चायती व्यवस्था ढाल्न २०४६ सालको जनक्रान्तिको आगो दन्किदै थियो। पञ्चायती मन्त्रीहरु आफ्नो तस्विर खिच्न खोजीखोजी फोटोग्राफर डाक्थे र गोरखापत्रमा छपाउँथे।

मदनजस्ता पञ्चायत विरोधी नेताको फोटो खिच्नेलाई पक्रन तिनै मन्त्रीले सुरक्षाकर्मी खटाउँथे। निरंकशु शासन व्यवस्थालाई छक्याएर बहुदलवादीको फोटो खिच्न चानचुन सहासले पुग्थेन। 'देशकै लागि त्यो प्रशव क्षण थियो,' फोटो पत्रकार नरेश भन्छन् 'दलका गतिबिधि र नेताहरुको फोटो खिच्ने कुरा कल्पना भन्दा बाहिर थियो।' त्योबेला फोटो छाप्ने राष्ट्रिय दैनिक थियो– गोरखापत्र। नरेश सम्झन्छन् '२०४६ साल पछि पनि फोटो खिच्ने र छाप्ने प्रचलन निकै कम थियो।'
madanimage4
मदन भण्डारीले निधनको दुई दशक पूरा भइसेकेको छ। एमाले र २०४६ सालको जनआन्दोलनमा सामेल लाखौंको मनमा मदनको सम्झना अझै गाढा छ। त्यो भन्दा गाढा चित्र नरेशले आफ्नो नेगेटिभमा बचाएका छन्। 'उबेला अहिलेजस्तो डिजिटल क्यामेरा थिएन,' नरेश सम्झन्छन् 'मैले घाम, पानी, धुलो र ढुँसीबाट अहिलेसम्म श्रदेय नेता मदन भण्डारीको नेगेटिभ बचाइराखेको छु ।'

madanimage11
नरेशले खिचेका धेरै नेगेटिभहरु धमिला भएर नष्ट भए। जसरी मदन अमिट बनेर रहेका छन् उसैगरी उनको नेगेटिभलाई पनि नरेशले मेटिन दिएनन्। देशकै महान नेतालाई सचित्र जिवन्त राख्न एउटा फोटो पत्रकारले निर्वाह गर्ने औषत कर्तव्य भन्दा नरेशले बढी नै योगदान गरेका छन्।

madanimage2

***
उनै फोटो पत्रकार नरेश श्रेष्ठ मंगलबार दिउसो लुटिएको बटुवा जस्तै अधिर भएर गुहार खोज्न नागरिकन्युजको कार्यालय आइपुगे। 'म न्याय माग्न आएको,' अनुहारमा झल्केको पीडा ओँठबाट ओराल्दै उनले सुनाए 'म लुटिएँ, मेरो सम्पत्ति डकैत भयो।' उनी रोकिएनन् 'श्रदेय नेता मदनलाई अकालले हर्यो...,' उनका ओँठ थर्थराए । आँखा रसाए ।

केहीबेर संवाद रोकियो। सजिलै बुझ्न सकिन्थ्यो उनी कति पीडा संगालेर अडिएका थिए। 'मेरा डेढसय फोटो चोरियो' नरेशले विस्तार लगाए 'दुःखले जोगाएर राखेको मदन भण्डारीका तस्विर दिनदहाडै डकैत भयो।'

madanimage3

***
असार १० गते नरेश उत्सुक मन लिएर बबरमहलको नेपाल आर्ट काउन्सिल पुगे। त्यहाँ उनले असाध्यै श्रद्धा गर्ने उनै जननेता मदन भण्डारीको जीवन झल्कने फोटो प्रदर्शनी थियो। प्रदर्शनी हलमा छिरेपछि नरेश एकाएक निःशब्द बने। परेली झिम्कनै नदिइ फोटामा आँखा डुलाए। आँखा झन् पछि झन् प्यासी बने। मनमा आँधी र हुण्डरी चल्यो। उनी आश्चर्यमा परे।

नपरुन कसरी ? उनले खिचेका डेढसय फोटो प्रदर्शनीमा राखिएका थिए तर नरेशलाई थाहै थिएन।

madanimage5

'कसैले तपाईँको गहना लुटेर पसलमा बेच्न राख्यो भने के हुन्छ ?' नरेशले पीडा पोखे 'सर्वस्व हरण भन्ने सुनेको थिएँ आज भेगेँ ।'

संस्कृतिक संग्राहलय नेपाल संस्थाको ब्यानरमा असार १० देखि १६ गतेसम्म आयोजना गरिएको फोटो प्रदर्शनीमा नरेशका डेढसय फोटो बिना अनुमति प्रदर्शनीमा राखिएका थिए। प्रदर्शनी स्थलमा एमाले अध्यक्ष केपी ओली लगायत एमालेका बरिष्ठ उपस्थित थिए। पछि एमाले उपाध्यक्ष तथा गृहमन्त्री बामदेव गाैतमले पनि फाेटाे हेर्दै पुराना दिन सम्झिए।

madan image
'श्रदेय नेता मदन भण्डारीलाई पछ्याएका चारदशक पुराना ती दिन सम्झेर म केहीबेर टहलिएँ,' नरेशले सुनाए 'त्यहाँ मेरै माल चोरेर मेला लगाइएको थियो र एमालेकै नेता तथा देशका उपप्रधानमन्त्री र पार्टी अध्यक्षलाई साक्षी राखिएको थियो', उनले थपे, 'मनमनै कुँडिएर म धैर्य भएँ, आफैँले खिचेको श्रदेय नेता मदन मुस्कुराएको फोटो हेरेर मैले औडाह रोकेँ ।'
madanimage6
नरेशले प्रतिलिपि अधिकार ऐन २०५९ अन्तर्गत नेपाल प्रतिलिपि अधिकार रजिष्टारको कार्यालय र महानगर प्रहरी परिसर टेकुमा उजुरी दर्ता गराएका छन्। 'एउटा फोटोग्राफरको यतिधेरै फोटो चोरी गरेर सार्वजनिक प्रदर्शनी गरिएको यो विश्व इतिहासकै दुर्लभ घटना हो,' नरेशको दाबी छ । बौद्धिक सम्पत्ति चोरी गर्नेलाई कारवाही हुने र सर्जकले न्याय पाउने नरेशले आशा गरेका छन्।

अाफ्नै फाेटाे चोरेर गरिएको प्रदर्शनीमा पुगेका उनले त्यहाँका फोटा पनि क्यामेरामा कैद गर्न भ्याए। हेर्नोस् अार्ट काउन्सिलमा नरेस श्रेष्ठले खिचेका तस्विरहरू:

madanimage10

madanimage7

madanimage8

madanimage9

 सबै फाेटोहरु: नरेश श्रेष्ठ

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App