पर्यटकलाई स्वागत गर्न नेपाल तयार
भक्तपुर-भूकम्पले उनको पुरानो घर भत्काएको छ। नयाँ घर चर्काएको छ। कक्षा १० मा अध्ययनरत भक्तपुरकी उर्मिठु सालाई त्योभन्दा बढ्दा चिन्ता सांस्कृतिक नगरमा पर्यटक घट्नाले भएको छ। पर्यटकको स्वागतका लागि आतुर उनी आफ्नो पीडा लुकाउँदै सोमबार भक्तपुरमा आयोजित कार्यक्रममा महाकाली नृत्यमा छमछम नाचिन्।
‘नगरमा पर्यटक आइदिए हाम्रो जीवन फेरि सहज हुनेछ,' कुमारीको मुखुण्डोमा सजिएकी उर्मिठुले भनिन्, ‘धेरै मानिस घुम्न आए हाम्रो आयस्तर उकासिने थियो। भूकम्पले ३ सयभन्दा बढी सर्वसाधारणको मृत्यु, २ हजारभन्दा बढी घाइते र करिब १९ हजार घर भत्किएको भक्तपुर जिल्लाका उर्मिठुजस्तै थुप्रै सर्वसाधारण सोमबार यही आशा बोकेर उज्यालो अनुहारसाथ कार्यक्रममा सहभागी भए।
भूकम्पअघिसम्म भक्तपुरमा दैनिक सरदर ७ सयदेखि ८ सयसम्म पर्यटक आउने गरेका पर्यटक सेवा केन्द्रका प्रमुख गौतम लासिवा बताउँछन्। ‘पर्यटक आगमनको प्रभाव यहाँका सर्वसाधारणको जीवनसँग जोडिएको छ,' उनी भन्छन्, ‘पर्यटकको चहलपहल बढे भूकम्पपछि रोकिएको जीवनले पुनर्जीवन पाउनेछ।'
पर्यटन व्यवसायलाई पुनर्जीवन दिन सरकारले काठमाडौं उपत्यकामा अवस्थित युनेस्कोमा सूचीकृत विश्व सम्पदाक्षेत्र सोमबारबाट खुला गरेको छ। भक्तपुर दरबार स्क्वायरमा आयोजित कार्यक्रममा पर्यटनमन्त्री कृपासुर शेर्पाले ‘नेपाल इज ओपन फर टुरिजम' भन्दै वैशाख १२ को भूकम्पपछि बन्द सम्पदा क्षेत्र सोमबारबाट औपचारिक रुपमा खुलेको घोषणा गरे।
पर्यटक आगमन बढे सर्वसाधारणको जीवनस्तर उकासिने विश्वाससाथ धेरै पर्यटक नेपाल आइदिए राम्रो हुने विश्वास राखे। ‘नेपाललाई माया गर्नुहुन्छ भने आगामी बिदा नेपालमा मनाउनोस्,' संसारभरका पर्यटकलाई लक्षित कार्यक्रममा उनले भने, ‘यही नै हामीलाई ठूलो सहयोग हुनेछ।' भूकम्पका कारण क्षति भएको र पर्यटक सुरक्षाका कारण बन्द गरिएको सम्पदा क्षेत्र सामान्य मर्मतसम्भार र सरसफाइपछि खुला गरिएको उनले बताए। ‘अब नेपाल सुरिक्षत छ,' उनले भने, ‘तपार्इंहरु आगामी बिदा नेपालमा मनाउनुहोस्।'
परम्परागत महाकाली नृत्यले स्वागत गरिएको कार्यक्रममा पर्यटकले समेत धारणा राखेका थिए। कार्यक्रममा कतिपयले रेसम फिलिली बोलको गीत गाउँदै पर्यटकको नेपालप्रेम कायमै रहेको सुनाए।
नेपाल पर्यटन बोर्डका अध्यक्ष तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेशमान श्रेष्ठले भूकम्पले ७ सय ४२ धरोहर भत्केको बताउँदै तिनको पुनर्निर्माणका लागि १० देखि १२ अर्ब रुपैयाँ लाग्ने बताए।
२ देखि ५ वर्षमा यी सम्पदा फेरि पुरानै अवस्थामा फर्कने उनको विश्वास छ। अब पर्यटकले ‘काठमाडौं, भक्तपुर, पाटन दरबार लगायत पशुपति बौद्धनाथ र स्वयम्भु क्षेत्र जान पाउनेछन्। ती क्षेत्रमा भग्नावशेषका कारण तोकिएका केही निषेधित क्षेत्रबाहेक अन्य ठाउँमा जान पाउने उनले सुनाए।
यसअघि काठमाडौं महानगरपालिकाले काठमाडौं दरबार क्षेत्र आउने पर्यटकलाई शुक्रबारबाटै शुल्क उठाएर पठाउन थालिसकेको छ। युनेस्कोले सुरक्षाको कारण देखाउँदै कतिपय सम्पदास्थल खोल्दा सरकारलाई सजग रहन सचेत गराएको छ। धेरैजसो स्मारक स्थल सुरक्षाका हिसाबले अझै जोखिमपूर्ण अवस्था देखाउँदै काठमाडौंस्थित युनेस्को कार्यालयले सावधानी अपनाउन अनुरोध गरेको हो।
तस्बिर : उपेन्द्र लामिछाने, दिपेश श्रेष्ठ, केशव थोकर