भूकम्प भुल्न फुटबल
पास–पास....गोल–गोल...हा हा हा....
त्रिपुरेश्वरस्थित रंगशालमा कुनै प्रतियोगिता भएको छैन । तर यहाँको रौनक प्रतियोगिताभन्दा कम छैन । भूकम्पको त्रासले सर्वसाधरणले आश्रय लिएको अधिकांश ठाउँमा सामान्यता उदासीपनले घेरेको छ । शिविरमा रहेका केटीहरूले चौरमा फुटबल गुडाउँदा रंगशालाको माहोल भने एकाएक रंगीन बन्न पुग्छ । भूकम्पको थर्कनले थर्कमान सर्वसाधारण ‘भूकम्पकली’हरूको खेलसँगै रमाउन थालेका छन्।
‘फुटबल खेल्दा मनको डर भाग्न थाल्यो,’ भर्खरै एसएलसी दिएर बसेकी रोशना कार्कीले भनिन्, ‘त्यही भएर धेरै समय फुटबल खेल्ने गरेको छु ।’ काभ्रे खनालथोककी कार्कीको टेकुमा रहेको डेरा चर्केसँगै विस्थापित भएकी हुन् ।
उनी मंगलबारदेखि अभिभावकसँगै यहाँ आएकी हुन् । ‘१२ गतेको भुइँचालोपछि पनि यहीँ आएका थियौं,’ उनले भनिन्, ‘त्यति बेला पनि यहाँ बसेका साथीभाइसँग फुटबल खेल्ने गरेको थिएँ ।’ पटकपटक आउने भूकम्पलाई कुरेर बस्नुभन्दा खुल्ला चौरमा बल खेल्नु निक्कै रमाइलो रहेको उनले सुनाइन् ।
प्रमिला श्रेष्ठको अनुभव पनि उस्तै छ । खासमा उनी फुटबलको सौखिन हैनन्, तर यति बेला भूकम्पको डर भगाउने औषधिजस्तै बनेको छ फुटबल उनका लागि । ‘फुटबलसँगै उफ्रिँदा पृथ्वी हल्लेको थाहा हुँदो रहेनछ,’ उनले हाँस्दै भनिन्, ‘त्यति भए पनि डर नलाग्ने रहेछ ।’ काभ्रे भुवनटारकी प्रमिलाको गाउँको घर भूकम्पले भत्काएको छ । ‘मनमा पीर त छ नि,’ उनले भनिन्, ‘तर के गर्नु, बिर्सनुपर्दो रहेछ ।’
सन्तानहरू फुटबलसँग रमाउन थालेपछि तिनका अभिभावक पनि रमाउन थालेका छन् । सन्तानले बल उफारेको उनीहरू त्रिपालको ढोकाबाट चियाएर हेर्न थालेका छन् । ‘परिवारमा एक जना रमाए पनि अर्कोलाई पनि खुसी लाग्दो रहेछ,’ उर्मिलाकी आमा दिलमायाले भनिन्, ‘बल गुडेको हेरेर मनको चिन्ता हटाउँदै छौं ।’ भूकम्पको थर्कनले आत्तिएका नानीहरू रमाएको हेर्न पाउँदा आफ्नो मन खुसी भएको उनले सुनाइन् ।
सबै तस्बिर : उपेन्द्र लामिछाने
भूकम्पकलीका परिवारसँगै वरपरका सर्वसाधरण पनि खेल हेरेर रमाइलो लिन थालेका छन् । ‘पालभित्र टोलाएर बस्नुभन्दा यही खेल हेर्नु निक्कै रमाइलो लाग्यो,’ फुटबल हेर्दे गरेका तेज बोहराले भने, ‘खेलले पीडाको समयमा पनि खुसी दिदो रहेछ ।’ नानीहरूको खेलले यहाँ रहेका सर्वसाधरण रमाउन थालेपछि साथीभाइ मिलेर खेल्ने सामानको जोहोसमेत गर्दिने गरेको उनले सुनाए।