बुढेसकालमा राहत सकस
धादिङ- राजधानीदेखि २५ किलोमिटर पश्चिम पहाडमा अवस्थित छ जीवनपुर गाउँ। जीवनपुरकै गाविस भवनमा उनीहरु राहतका पर्खाइमा थिए। उमेरले ७० कटेका उनीहरु सबैका अनुहार मलिन थिए। वैशाख १२ गते आएको महाभूकम्पले घरपरिवार नै लगेपछि ती वृद्धहरु कसैले केही राहत दिइहाल्छ कि भन्दै बिहानदेखि गाविस भवन ढुकेर बसेका थिए। 'राहतकै लागि पल्लो गाउँबाट आएको,' ७१ वर्षीय काइला तामाङले भने, 'दैवले घर ध्वस्तै पार्यो। अन्नबाली केही छैन। कसैले केही दिहाल्छ कि भनेर बिहानदेखि ढुकेर बसेका छौं।' उनका आँखामा आक्रोश र पीडा दुवै देखिन्थ्यो।
उनीसँगै बसेका थिए धन तामाङ। उनको पीडा पनि उस्तै। 'बस्ने घर छैन। खानलाई अन्न छैन। कि मरिगए हुने, बाँच्नलाई त केही खान पार्यो नि हजुर,' मलिन स्वरमा उनले भने।
यी दुई वृद्ध त प्रतिनिधि पात्रमात्र हुन्। यी दुईको जस्तै हालत थियो त्यहाँका सबै वृद्धको।
यतिमात्र होइन, राहतकै लागि स्थानीय महिलाको उपस्थिति पनि बाक्लो थियो। बासस्थान र अन्नबाली केही नबचसेपछि वृद्धवृद्धा, महिलापुरुष र बालबालिले समेत राहतका लागि स्थानीय निकायमा धर्ना दिइ बसेको दृश्यहरु देखियो।