भू–स्वर्गका रुपमा चिनिएको खप्तड क्षेत्र यसबेला सेताम्य छ। स–साना थुम्कैथुम्का भएका पाटन यतिखेर पूरै सेताम्य भएको हो। प्राकृतिक हिम गलैचामाथि उडिरहेका रंगिविरंगी पुतली। घना रुखहरू। रुखहरूमा सेताम्य हिउँले ढाकिँदा देखिने त्यो सुन्दर दृश्य कस्तो होला भनेर हिउँ खेल्न डडेल्धुराको शाहूखर्क, हगुल्टे लेक पुग्नेहरु खप्तड माथिको हिउँको कल्पनामा डुब्न थालेका छन्।
हिमपातपछि हिउँ खेल्न हगुल्टे लेक पुगेका धनगढी फूलबारीका कृतबहादुर बिष्टले भने, ‘डडेल्धुरासम्म पुग्दा त हिउँले रमाएँ, झन खप्तडमै पुग्दा कस्तो होला।’ हिउँले खप्तडका पाटन, धुपी सल्लाका हाँगाबिँगा र रुखहरु कस्ता भएका होलान् भनेर काल्पनिक चित्र समेत कोरिरहेको उनी बताउँछन्। यस वर्षको पहिलोपटक मंसिर २० गते परेको हिमपातपछि पुस र माघमा गरी तीन पटक खप्तडमा हिमपात भइसकेको छ।
हिमपातले अहिले खप्तडका पाटन करिब ३ फिट पुरिएका छन्। लगातारको हिमपातपछि भू–स्वर्ग खप्तड हिउँको घुम्टोले छोपिएको छ। ‘खप्तड अहिले सेताम्य छ,’ खप्तड राष्ट्रिय निकुञ्जका गेमस्काउट धर्मराज भट्टराईले भने,‘यहाँ अहिले करिब ३ फिट हिउँ अझै छ।’ हिउँले खप्तडमा अहिले रमाइलो दृश्य देखिएको उनले बताए। त्रिवेणी, सहश्रलिंग, माईका थान, नागढुंगालगायत खप्तडका २२ वटा पाटन हिउँले ढाकिएको उनले बताए। छिनमै वर्षात, छिनमै हिउँ। केही बेरमै हावाहुरी त उत्तिखेरै टन्टलापुर घाम मौसमी विशेषता भएको खप्तडमा अहिले हिउँले झनै मनमोहक बनेको उनले बताए। ‘बिहानै सूर्योदय हुने बेला त झन हिउँ टल्किएर सेतै देखिन्छ,’ उनले भने,‘बिहान र बेलुकीको दृष्यले मनका पीडा सबै भुलाइदिन्छ।’
डोटी, अछाम, बझाङ र बाजुराको संगम स्थल खप्तडको त्रिवेणीमा अवस्थित त्रिवेणी मन्दिर र वरपर २२ पाटन छन्। खप्तड पर्यटकीय स्थल मात्रै नभएर खप्तड बाबाले ५० वर्ष तपस्या गरेको ज्ञानभूमि भएकाले पनि धार्मिक रूपमा प्रसिद्ध छ। वर्षको ६ महिना हिउँ पर्ने खप्तड क्षेत्र हिन्दूहरूको पवित्र तीर्थस्थान मानिन्छ। यहाँको खप्तड बाबाको कुटी, सहस्र लिंग, त्रिवेणी नदी, खापर दह, शिव मन्दिर, गणेश मन्दिर, नागढुङ्गा, केदारढुङ्गाजस्ता धार्मिक स्थल छन्। पुराणअनुसार महादेवले खप्तडको जडीबुटीको प्रयोग गरी बिरामी निको पार्ने गरेकाले उनलाई वैद्यनाथ भनिन्छ। खप्तडमा लाग्ने विविध सांस्कृतिक मेला सदियौंदेखि प्रचलित र प्रख्यात छन्।
प्रकाशित: २४ माघ २०७८ १५:२१ सोमबार