११ माघ २०८१ शुक्रबार
image/svg+xml
फोटो फिचर

टुँडिखेलमा ल्होछार रौनक

काठमाडौं-उनी ठकुरी समुदायकी हुन्। गुरुङ पोसाक उनको मन पर्ने पहिरन। मन मिल्ने साथी मगर र तामाङ। ललितपुर पाटनढोकाकी मन्दिरा ठकुरी बुधबार गुरुङ पहिरनमा सजिएर सहपाठी विजय मगर र सञ्चमाया तामाङसँग हातेमालो गर्दै टुँडिखेलमा तमु ल्होछारमा रमाउँदै थिइन्।

‘मलाई सबैको संस्कृति प्यारो लाग्छ,' पाटन उच्चमाविमा कक्षा ८ मा अध्ययनरत ठकुरीले भनिन्, ‘अघिल्लो महिना गुरुङको पर्वमा रमाएकी थिएँ, आज तमु ल्होछार मनाउँदैछु।' घरमा गुरुङ ड्रेस नभएकाले दुई सय तिरेर भाडामा लिइन्। ‘पोसाकसहित पर्वमा सभागी हुँदा झनै रमाइलो,' उनले हाँस्दै भनिन्, ‘त्यही भएर भाडामै भए पनि लगाएँ।'


उनीसँगै हातेमालो गरेका विजय मगरका बुबाआमाको अन्तरजातीय विवाह भएको हो। ‘आमा श्रेष्ठ, बुवा मगर,' छातीमा ‘आई लभ नेपाल' लेखेको टिसर्ट लगाएका विजयले, ‘मलाई त सबै जाति र पर्व प्यारो लाग्छ।'


सँगै रहेकी सञ्चमाया तामाङ उनीहरुका कुरा सुनेर मुस्काइन्। खासमा पर्व उनको थियो। तर उनका साथी पनि उस्तै रमाएका थिए। ‘त्यही भएर उनीहरु मेरा मिल्ने साथी हुन्,' उनले भनिन्, ‘हामी एकअर्काको संस्कृति मिलेर मनाउँछौं।'

तामाङ समुदायको ल्होछार पर्वमा सहभागी हुन आएका प्रधानमन्त्री सुशील कोइरालाले पनि मञ्चबाटै ‘सबैको जय' भन्दै नारा लगाए। ‘पहाडमा बस्नेको जय होस्, हिमालमा बस्नेको जय होस्, तराईमा बस्नेको जय होस्,' कोइरालाले मञ्चबाटै भने, ‘दलित, पिछडिएका र नेपामा बस्नै सबै जातजातिकोे जय होस्।'

बुधबार देशभरमा तामाङ समुदायले हर्षोल्लासपूर्वक ल्होछार पर्व मनाए। देशका विभिन्न भागबाट उपत्यकामा रहेका उनीहरुले खुल्लामञ्च, टुँडिखेल, स्वयम्भु, बौद्ध लगायत विभिन्न स्थानमा सांस्कृतिक कार्यक्रम साथ राष्ट्रिय पर्व ल्हुक ल्होछारमा झुमे।


कार्यक्रममा केटाकेटी, युवायुवती तथा वृद्धवृद्धाको बाक्लो उपस्थिति रह्यो। मञ्चमा तामाङसेलो घन्कँदै गर्दा चौरमा रहेका उनीहरुले झुन्डझुन्डमा नाचगान गरे।
तामाङ समुदायसँगै अन्य समुदायका मानिस पनि पर्वमा झुमेका थिए। ‘मैले पनि तामाङ टोपी लगाएर सेलरोटी खाएँ,' डल्लुबाट आएका एलिसा गजुरेलले भनिन्, ‘मलाई निकै रमाइलो लागिरहेको छ।' उनले घर गएपछि टोपी नफुकालेको सुनाइन्। ‘अझै मेरो टाउकोमा तामाङ टोपी छ, ‘नागरिकसँग उनले फोनमा भनिन्, ‘परिवारमा मानिस पनि मलाई हेरेर रमाएका छन्।'


हरेक वर् षको माघ शुक्ल प्रतिपदामा मनाइने यस पर्वलाई बौद्ध धर्मावलम्बीले नया“ वर् षका रुपमा लिन्छन्। हरेक १२ वर् षमा युग परिवर्तन हुने र परिवर्तन हुने वर् षलाई १२ वटा जन्तुको प्रतीकका रूपमा लिने गरिन्छ।

यो पर्व नेपाललगायत चीन, मकाउ, सिंगापुर, मंगोलिया, भारत, थाइल्यान्ड, भुटान, जापान लगायत देशमा मनाउने गरिन्छ। सोनाम ल्होछारको प्रधानमन्त्रीले मञ्चबाटै शुभकामना दिँदै भने– ‘जय नेपाल, ल्यासो, फ्याफुल्ला।'

तस्बिर: दिनेश गोले/ उपेन्द्र लामिछाने