११ मंसिर २०८१ मंगलबार
image/svg+xml
फोटो फिचर

परराष्ट्रमन्त्रीले जलाए खाग र बाघकाे छाला (फोटो फिचर)

चितवन – दुर्लभ वन्यजन्तु गैंडाको नाकमाथि हुने सिंग जस्तो वस्तु खागमा औषधीको गुण हुन्छ भन्ने अन्धविश्वास छ ।  तर गैंडाको शरीरमा हुने रौंमा जुन रासायनिक तत्व हुन्छ खागमा पनि त्यही हुने वैज्ञानिक अनुशन्धानले देखाएको छ । अन्धविश्वासका कारण अन्तराष्ट्रिय बजारमा खागको गैर कानुनी व्यपार जारी छ । तस्करहरूले खागका लागि गैंडा मार्दा यसको अस्तित्व नै संकटमा परेको छ । 

‘वन्यजन्तुको महत्व जिउँदोमा मात्रै छ । मरेपछि उनीहरूको अंगको कुनै महत्व छैन् भन्ने सन्देश संसारभर दिन पनि जलाएर खरानी बनायौें’

यस्ता जंगली जनावरहरूको अंगको कुनै महत्व हुँदैन भन्ने सन्देश दिन सोमबार चितवनमा सयौं खागहरु आगोमा जलाएर नष्ट गरिएको छ ।  चितवन राष्ट्रिय निकुञ्जको मुख्य कार्यालय कसरामा आयोजित विशेष कार्यक्रममा परराष्ट्र मन्त्री प्रकाशशरण महतले वन्यजन्तुका अंगहरूको थुप्रोमा आगो लगाए । सरकारले बीस वर्ष अघि २०५४ साल चैत्रमा वन्यजन्तुको अंगहरू जलाएको थियो । त्यसपछि अहिले जलाइदै छ ।

अवैध कारोबार गर्दा बरामद भएका र वन्यजन्तु आफैँ मरेको अवस्थामा पनि झिकेर भण्डारमा राखेका अंगहरू कसरामा जम्मा गरेर जलाइएको हो । ‘वन्यजन्तुको महत्व जिउँदोमा मात्रै छ । मरेपछि उनीहरूको अंगको कुनै महत्व छैन् भन्ने सन्देश संसारभर दिन पनि जलाएर खरानी बनायौें’ अखेटोपहार व्यवस्थापन कार्यान्वयन समितिका संयोजकसमेत रहेका राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मनबहादुर खड्काले भने ।

वन्यजन्तुका यस्ता अंगहरूलाई अखेटोपहार भन्ने गरिएको छ । देशका जुनसुकै राष्ट्रिय निकुञ्ज तथा आरक्षहरूमा वन्यजन्तु मरेमा वा चोरी सिकारी र तस्करहरूबाट निकुञ्ज क्षेत्रमा त्यस्ता अंगहरू बरामद भएमा चितवन निकुञ्जको मुख्यालय कसरामा ल्याएर राख्ने गरिएको छ । त्यस्तै देशभरका वन क्षेत्रका अखेटोपहारहरू चितवन टिकौलीका सशस्त्र वन रक्षक तालिम केन्द्रमा राखिन्छ । 

भण्डारण गरिएकामध्ये गैंडाको खाग ३५७ वटा छन् । बाघको छाला ६७ थान छन् । चितुवाको छाला ४१८ थान छन् । ४८ प्रजातिका जनावरहरूका चार हजार १२ थान अंगहरू भण्डारण भएका छन् । खाग १० वटा, बाघको छाला पाँचवटा सुरक्षित राखेर अरु जलाइयो । अध्ययन अनुसन्धान र संग्राहालयहरूमा प्रदर्शन गर्नका लागि माग भएमा दिनका लागि केही अंगहरू नजलाइएको खड्काले बताए । 

त्यस्तै संकलन भएका हात्तीको ११ किलो दाह्रा पनि अहिले नजलाइने उनले बताए । हात्तीको दाह्रा जलाउन फरक खालको प्रविधि आवश्यक देखिएका कारण तत्काल नजलाउने खड्काले बताए । २०७० साल साउनमा तत्कालिन प्रधानमन्त्रीको अध्यक्षतामा बसेको राष्ट्रिय बाघ संरक्षण समितिको बैठकले कार्य विधि बनाएर अखेटोपहार नष्ट गर्ने निर्णय गरेको थियो ।

त्यसपछि विभिन्न तयारीहरू पुरा गरेर जलाउने दिन तय भएको वन मन्त्रालयका सहसचिव महेश्वर ढकालले बताए । जलाइएका अंगहरूको पनि विस्तृत अभिलेख तयार पारेर कम्प्युटरमा विवरणहरु सुरक्षित गरिएको छ । 

तस्बिर: सबै रमेशकुमार पाैडेल

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App