७ पुस २०८१ आइतबार
image/svg+xml
अन्य

टिका फुकाउने

राती एकबजे भरतपुर अस्पतालको आइसियुमा ड्युटी डाक्टरले नवल परासीका उन्नाइस बर्षिय आशिष मगरको मृत्यु भइसकेको भन्दै अक्सिजन मास्कलगायतका लाइफ सेभिङ उपकरणहरु हटाएपछि अठाह्र् बर्षिया सोनाली मगरलाई लाग्यो, उस्को टाउकैमा कसैले भूइँचालोको नरिवल फुटाल्यो। तर टाउको फुटेन, उछिट्टिएर गिदी पनि छताछुल्लिएन। भक्कानो भने अड्कियो, आँशु भने थोप्पै फुटेन।

आघात पनि ठिक्कैको भए मात्रै मान्छेले प्रतिकृया गर्न सक्छ, प्रतिकार पनि गर्न सक्छ। तर थेग्नै नसक्ने भूकम्पले थिचेको मान्छे भने अइया भन्नुअघि नै पाताल भइसक्छ। अनि केको अइया, केको आत्था गर्न सक्छे र, तिन महिना पनि नबित्दै पति गुमाएकी सोनाली मगरले। चेतै गर्न सकिरहेकी छैन सोनालीले, कि के भइरहेको हो। बेहोस छैन, होस छ। होस छ तर बोध छैन।

भएको त अकल्पनिय नै हो। विहानै आशिष चोरमारा गएर एक सिलिन्डर ग्यास लिन्छु भनेर बाइकमा गएको थियो। शित लहरले बिहानभर हुस्सुले ढाक्ने सडकमा अराजक बस र ट्र्कहरुले रकेट उडाउँदै मान्छे मार्ने घटना बारम्बार भइरहन्छ यस नवलपरासीमा। केही बर्षअघि मात्रै मर्निङ् वाकमा गएका आमा बाउ छोराछोरीलाई बसले एक गाँसमै निलेको घटना सम्झेर सोनाली सँधै शशंकित हुन्छे, आशिष बिहानै बाइकमा निक्लने अवस्था आउँदा। आज पनि मन झस∙ै भएकै थियो, सोनालीको। तर नगई नहुने स्थिति थियो। भारतीय प्रधानमन्त्री मोदीको नाकबन्दी र नेपाली प्रधानमन्त्री केपि ओलीको कानबन्दीले खुलारुपमा बजारमा ग्यास पाइन नसकेरै ज∙लको कुनामा ग्यास लिन जानु परेको थियो, झिसमिसेमै।

दिउँसो बाह्र् बजेतिर फर्केको थियो आशिष। जिब्रो हल्का रातो भएकोले डेटोल पानीले कुल्ला गरेको थियो। के भो थाहै भएन रे। खै बाइकमा हुइँकेको बेला ज∙लको बिचमा अचानक कुनै किरा आएर मुखमा ठोक्किएको जस्तो लागेको त थियो, अहिले हेर्दा रातो पो भएछ, हेर त भन्दै आशिषले जिब्रो देखाउँदा सोनालीले कल्पनै गर्न सकेकी थिइन, काल बनेर किराले टोकेको कुरा। डाक्टर देखाउनु पर्ने आवश्यक्ता देखिने कुरा पनि त भएन।

साँझतिर अचानक जिब्रो फुल्न थालेको फुलेको फुल्यै भयो। सासै फेर्न कठिन हुन थालेपछि अस्पताल लान त लगियो। परन्तु कारण पत्ता लगाउन सकेनन्। जिब्रोले पुरै धाँटी थिचियो। डोरीमा फाँसी लागेको जस्तो कस्सिँदै गयो। आँखा लाल लाल भयो। अक्सिजन मास्क हालेर भरतपुर अस्पताल ल्याउन त ल्याइयो। तर कारण पत्ता लाउन नसक्दै डाक्टरले आशिषलाई मृतक घोषित गर्योा।

मर्नु के छ, लाश जलाउन हतार। पिडा, आघात, अन्धकार सब आफ्नै ठाउँमा। परन्तु जिम्दो हुँदाका प्रियजनको पहिलो चिन्ता, चितामा जलाएर हतार हतार शरिरको अंश अंश खरानी बनाएर बगाउनु। रीतिथीति सँस्कार।

आशिषका जेठा दाजु सुवास मगरले ठुलासंग सल्लाह गरी निर्णय गरे। लाशलाई भरतपुर अस्पतालमा राख्ने। भोली वंसजहरु जम्मा नभएसम्म नारायणघाटमा लजमा बस्ने। तिन महिनाको गर्भ बोकेकी सोनालीसंग कसैले पनि केही सोधेनन्। रीतिथीति सँस्कार।

०० ००

विहानैदेखि आफ्न्तहरुको ओइरो लाग्न थालिहाल्यो। देवघाटमा जलाउने तयारीका लागि एक हुल घाट लागे। कसैले बाँस ल्याएर खट बनाइहाले। कसैले कात्रो बेराएर लाशलाई खटमा हाले। एकजना बुढाले रामनामी ओढाएको देखेर एक युवा कराए, हामी मगरलाई रामनामी ओढाउनु हुँदैन। हामी हिन्दु हैनौँ। तत्कालै बजार गएर उन्ले तिब्बती खादाहरु ल्याए र सबैलाई खादा बाँडे। खासमा कहां र तिब्बती, नेपालका सबैभन्दा पुरानामध्येका मगरहरु? मगरलाई खाँटी हिन्दु मान्ने बुढाहरुले भने फूलकै माला ओढाए। केही समय पुराना र नयाँबिच, मगर हिन्दु हो र मगर हिन्दु हैन भन्ने तर्क बितर्क भइरहे। मरेको आशिषले थाहै पाएन, मरेपछि उसको धर्म हिन्दु हो कि तिब्बती होको मुद्दाको सुनुवाई भइरहेको छ, मगरलाई हिन्दु मान्ने र तिब्बती मान्ने मगरहरुका बिच।

अचानक सुमु र बोलेरोका लस्कर आइपुगे। पोखराबाट सोनालीका माइतीहरु आइपुगेका रहेछन्। छलफल शुरु भयो। पहिले मसिनो स्वरमा, पछि चर्को, अनि झन चर्को। झगडाको वातावरण बनेको देखियो।

सोनालीका मामा माननीय सांसदज्यूले तत्कालै लाश जलाउन नहुने अडान राखे। सालाज्यूलाई खवर भइसकेको छ। ब्रुनाईबाट पाइने पहिलो प्लेनबाट उनि काठमान्डु आउँदै छन्। उनि यहाँ आएर मृतक ज्वाइँ र छोरीको टिका नफुकाई लाश जलाइएमा जिन्दगीभर भान्जीले माइती जाने बाटो बन्द हुने। भान्जी मात्र होइन, भान्जीका कोखबाट जन्मने सन्तानले समेत मामाघर देख्न नपाउने। मरेकै अवस्थामा भए पनि टिका फुकाउन छोरी एक्लैलाई नमिल्ने, ज्वाइँ र छोरीलाई एकैपटक साथसाथ टिका लगाएर फुकाउनुको विकल्पै नरहेकोले मरेकै भए पनि ज्वाइँलाई टिका लगाएर फुकाउनै पर्ने व्रम्हसत्य किटानी गरे माननीयज्यूले। रीतिथीति सँस्कार।

माननीयज्यूका मित्र रोल्पाका पार्टी सभापतिले रोल्पाका मगरहरुको चलन सुनाए। टिका नफुकाए पनि माइती आउन कुनै बाधा छैन, उता त नाती नातिना भएपछि आफ्नो अनुकुल टिका फुकाउन आउने कति हुन्छन् कति। उता त देहरी उकेल्ने अर्थात दैलोमा उकेल्ने विधि नामाकरण गरिए पनि, चहाडबहाडमा टिका लगाउने कर्मकाण्डबाहेक अर्थोकमा छेक हुन्न।

मामाजीले रोल्पाली मगरको चलन यता चल्दैन भनेर अडान लिए पनि सभापतिजीले पनि तर्क दिन छाडेनन्, मानौं कुनै मन्चमा घनघोर बादबिवाद भइरहेको छ, यसबेला। क्षेत्रीबाउनजस्तो हामी मगरहरुमा पोइल जाने भनिन्न। केटाका आमाबाहरु केटीकहाँ गएर कुरा मिलाएपछि पनि आखिर बिहे त यसरी नै केटाले अपहरण गरेर गरिने परम्परा भएकोले यो विहेलाई धर्मले नै मान्यता दिइसकेको अवस्था आएकोले ज्वाइँको काजकृया चोखिएपछि छोरीले एक्लै गएर टिका फुकाउनु धर्मको विपरित नहुने ति रोल्पाली मगर सभापतिज्यूले तर्क दिए पनि माननीयज्यूको अडान नै कायम रह्यो। अरु कोहीले असहमत जनाएन्, माननीय मामाज्यूलाई।

लाशलाई पुनः मुर्दाघरमा थन्काइयो। लोडसेडिङका कारण मुर्दा कुहिने भन्दै अस्पतालले नमाने पनि, माननीयज्यूले स्वास्थ्य मन्त्रीज्यूमार्फत फोन गर्न लगाए। नौतनवाबाट आइस सिलहरु ल्याउन रुपन्देही प्रहरी यसपिलाई गृहमन्त्रीबाट फोन खसाए। सोनालीका पिता आएर टिका नफुकाएसम्मका लागि सबै तितरबितर भए। मामाहरु पोखरा लागे, अरुहरु नवलपरासी, सभापति रोल्पातिर।

यत्रा खलबल भए, यत्रा छलफल भए, लाशलाई खटमा हालियो, चिता तयार पारियो, माला र खादा चढाइयो, फेरि लाश लगेर मुर्दाघरमा राखियो। अहिले नजलाउने निर्णय भयो। तर एक वचन पनि कसैले सोनालीसँग सोधेनन्, न त घरकाले, न त माइतीकाले। सोनाली सुरुक्क परिवारसाथ नवलपरासी फर्की। रीतिथीति सँस्कार।

००

सोनाली धनी खानदानी हुनेखाने हाइ क्लासकी छोरी। आशिष भएखाने किशान परिवारको लोअर क्लासको छोरो। पोखराकी सोनाली मगर र नवलपरासीको आशिष मगरको प्रेमगाँठो भने मनकामनामा कस्सिएको थियो पुजा गर्न लाइन बसेका बेला। आँखा जुधेका थिए। प्यारको झर्ना फुटेको थियो दुवैतिर। केबल कारबाट ओर्लनेबेलासम्म त पुराना दोस्त बनिसकेका जोडी फेसबुक, च्याट र मेसेज तथा मोबाइलका भरमा बिहे गर्ने निर्णयमा पुगेका थिए। तल्लो क्लासकाहरुलाई छोरी दिन सोनालीका माननीय मामा तयार नभएपछि ब्रुनाई पुलिसमा महिनाको चारपाँच लाख कमाइरहेका अफिसर सोनालीका बाबा शमशेर मगरले पनि स्विकार्ने कुरै भएन। अन्तत सोनालीलाई मगर परम्परा अनुशार नै सोनालीकै सहमतिमा अपहरण गरेर घर भित्र्याएको थियो आशिषले। त्यसपछि सोनाली माइतीबाट वहिष्कृत नै भएकी थिई। टिका फुकाउनका लागि सोनालीका पिता मानसिकरुपले तयार भए पनि माननीय भिनाज्यूको हैकमवादका सामु सोनालीलाई देहरी उकेल्ने कार्य गरिएन। आमा र बाबासंग पनि फोनको सम्पर्क भने कायम रहेकै थियो।

००

तेश्रो दिन शमशेर मगर काठमान्डु हुँदै सिधै नारायणघाट आइपुग्ने खबर आएपछि नवलपरासीबाट सबै देवघाट पुगेका छन्। मामा माननीयले दुई चरणमा विधि हुने घोषणा गरे अनुशार पहिलो चरणका लागि माइती खलक देवघाटको पुलको उत्तरतिरको चौतारमा जम्मा भएका छन्। आशिषको लाश चौतारामा राखिएको छ। सोनालीका परिवारहरु अर्कै स्थानमा घाटमा पर्खेर बसेका छन्। माइतीको कर्मकाण्डमा उनिहरुलाई प्रवेश नगर्न आग्रह गरिएको छ। पिता सिधै भरतपुर बिमानस्थलबाट आइपुगे। सोनालीलाई लाशनजिक माइती आउने रंगिन लुगाफाटामा सजाएर ल्याइएको छ।

लाश गन्हाएर बसिनसक्नु भयो सोनालीलाई। अस्तिसम्म त आशिष बास्ना आउँथ्यो। नशा चढ्थ्यो आशिषको बास्नाले। परन्तु यति छिटो दुर्गन्ध! गन्ध हटाउन अस्पतालको झोलका बोतलै खन्याएर धुपैधुप बालिए पनि तिन दिनमै लाश सडिसकेको छ। खुला राखिएको आशिषको मुख हेरी, कालो विभत्स मुख छ। यही हो त चाटेर नअघाउने आशिषको मुख?

आशिषका परिवारका तर्फबाट विधि अनुशार देउरीपातका रुपमा पठाइएको यौटा सृुगुरको पाठो र एक डालो रोटी, छोरी ज्वाइँका तर्फबाट माइतीमा देउरीपात कोशेली बुझाउन लगाइयो, सोनालीलाई। पिताले सेतो अक्षता टिका पहिले छोरी र ज्वाईँको निधारमा लगाए। लगतै आमाले पनि लगाइदिइन्। टिका लगाउँदै पिताले भने, छोरी आजबाट तिमीहरुको टिका फुक्यो, मन लागेको बेला विनाखवर माइती आएहुन्छ।

मामाले पनि भने भान्जी मामाघर पनि तिमीहरुका लागि खुला भएको छ। यो 'हरु' भनेको को? जिम्दो आशिष त निषेधितमै मरिसकेको छ। लाश अब जल्छ। यो मामाले भनेको हरुमा कुन चैं अरु 'हरु'? झस्का उठ्छ, सोनालीका चेतमै। स्स... लामो सास आउँदा नआउँदै ठस्स अड्छ! छोरीको मन किन छामिदैन? किन सोधिदैन एकपटक पनि? किन फुकाउनु परेको यो टिकासिका? छि....। तर यि सब मनमनै मात्र।

सबले ताली बजाए। आशिषको मुख छोपियो। भर्खर टिका फुकेपछि ज्वाईँको मृत्युको ज्ञान भएको अभिनय गरिएझैँ भयो। अब टिका फुक्यो, विधि सकियो, रीतिथीतिको नाटक पनि सकियो। अनि आमाले छोरीलाई अंगालेर रुन थालिन्। बाबाले पनि आँशु खसाले। अघि मुखमा नक्कली हाँसो टाँसेर रीतिसँस्कारको पाखण्डी पालन गर्ने सबै माइतीखलकमा शोक प्रष्ट देखिन थाल्यो। परन्तु सोनालीमा कुनै परिवर्तन आएन। मौन रही। आमाबाबा आफ्न्त कसैको शोकको प्रभाव उसमा देखिएन। निर्विकार, रेजिन र फाइबर ग्लास पगालेर बनाएको मूर्तिजस्तै। उसलाई पनि आशिषको मृत्युको असाध्य रापले सायद पगालेर बनाएको छ, रेजिन र फाइबर ग्लासको मूर्ति। रेजिनको? शायद आशिषको मृत्युको रेजिन! फाइबरको? शायद ग्लास जस्तै चकनाचुर उ स्वयंको ग्लासफाइबर!

घरकाहरु आइपुगे। सोनाली र आशिषलाई एकै गाडीमा हाले, र आशिषको लाशलाई जलाउन घाटतिर लगे। अस्तिदेखि एक वचन पनि बोलेकी छैन सोनालीले। र अहिले आमाबाले टिका फुकाउँदा पनि केही बोलिन। सायद लाश जलाउँदा पनि केही नबोल्ने होला।

जे होस माइती जाने बाटो भने अब खुल्यो। तर बाबाले भनेजस्तै आशिषलाई साथ लगाएर भने हैन। उसको जीवनकालमा नखुलेको वन्देज अहिले पनि कहाँ खुल्यो र, आशिषै आउन नपाउने भएपछि?

यसो सोच्दासोच्दै अचानक सोनाली चिच्याएर रुनथाली। तिनदिनदेखि बाँधिएको गण्डक बाँध अचानक फुट्यो। तर मोटरको आवाजमा उसको चिच्याई हरायो। उ आफैबाहेक कसैले पनि थाहै पाएनन्, उसको जिन्दगीकै गण्डकी बाँध फुटेको कुरा। उ चिच्याएको कुरा। यौटा सानु किराले पनि भूइँचालो लेराउन सक्दो रहेछ, ठूलो जिन्दगीमा।

प्रकाशित: १२ चैत्र २०७२ २३:३९ शुक्रबार