भोजपुरको गोगने, लेखर्क, खावा, नागी र खोटाङको खिदिमा, च्यानडाँडा र रतन्छाबीचमा पर्ने टेम्के प्राकृतिक, धार्मिक, सांस्कृतिक र भौगोलिक रूपले विशिष्ट छ। ट्याम्के क्षेत्रका जंगलमा दुम्सी, मृग, सालक, मुनाल, घोरल लगायतका पशुपंक्षी छन्। जंगलमा चिराइतो, मजिठो, ठूलोओखती, पाखनभेद, नागबेली वनकरेला, मुसेकरेला, सतुवाजरा जस्ता प्रशस्त मात्रामा जडिबुटी पाइन्छ।
चैत–वैशाखमा गुराँसले डाँडै राताम्मे बन्छ।
डाँडामा सिद्धेश्वर महादेव, महांकाल देवी मन्दिर छन्। जहाँ बालाचतुदर्शी र शिवरात्रिमा मेला लाग्छ। मेला भर्न राजधानीलगायत भारतबाट समेत आउँछन्। विशेषतः हिन्दु, किरात, बौद्धमार्गी आउँछन्।
मेलामा सतबीज छरिन्छ। त्यति बेला झाँक्रीको प्रदर्शन कम्ता रोचक हुँदैन। डाँडामा बसेर दही–चिउरा खाँदा मृत्युपश्चात् स्वर्गमा पुगिने विश्वास छ। त्यस्तै मंसिरे पूर्णिमाका दिन चन्द्रोदय र सूर्यास्त एउटै समयमा देख्न सकिन्छ।
इतिहास र अनुसन्धानकर्ताका अनुसार १६ औं शदाब्दीतिर किरातीले काठमाडौं उपत्यकाबाट धुलिखेल हुँदै सुनकोसी, दूधकोसी, तमोर, अरुणपूर्वदेखि सबै भू–भागमा क्याम्प खडा गर्दै लगे र टेम्के आसपास शासन सुरु गरे। टेम्के क्षेत्रमा भने खोटे नामका किरातीले राज्य गरे। राजाले यसलाई महŒवपूर्ण किल्ला बनाएका थिए। त्यस बेला खोटे राजा यसलाई टेम्मा भन्थे। किराती भाषामा अग्लो र समथर भागलाई तेर्पाचुङ्ग (टेम्मा) भनिन्छ। यही तेर्पाचुङ्ग (टेम्मा) बाट अपभ्रंस भई ट्याम्के नाम रहन गएको जानकारको भनाइ छ।
प्राकृतिक, धार्मिक, सांस्कृतिक र पर्यटकीय रूपले सम्पन्न हुँदाहुँदै पनि भौगोलिक रूपमा विकट भएकाले ट्याम्केको संरक्षण र विकास हुन नसकेको टेम्के सेल्मे संरक्षण समितिका अध्यक्ष नन्दमणी राई बताउँछन्। 'उचित प्रचार–प्रसार र संरक्षण अभावमा ट्याम्के ओझेल पर्योम,' राईले भने, ...यस क्षेत्रको प्रचार–प्रसार र संरक्षण गर्न राज्यले सहयोग गर्नुपर्छ।'
मनसुनमा भुइँकुहिरोसँग रमाउँदै ट्याम्केमा प्रकृतिसँग लुकामारी खेल्न सकिन्छ। डाँडाको विकासमा राज्यले हेला गरेको स्थानीयको गुनासो छ। जिविस, पर्यटन बोर्ड, सरकारलगायत सरोकारवालाको नजर परेमा ट्याम्के क्षेत्रको आर्थिक अवस्था माथि पुग्नेछ। ट्याम्के पर्यटन गन्तव्य बन्नेछ।
कसरी पुग्ने : खोटाङ सदरमुकाम दिक्तेलदेखि ५० किलोमिटर पूर्व र भोजपुर सदरमुकामदेखि ५५ किमि पश्चिममा ट्याम्के। काठमाडांैबाट भोजपुर वा खोटाङका विमानस्थलमा ओर्लिएर सडक यातायातबाट पुग्न सकिन्छ।
प्रकाशित: १८ असार २०७२ २०:४२ शुक्रबार