हिजो अन्तर्राष्ट्रिय बालश्रम विरुद्धको दिवस। शंकै छैन, नेपालमा पनि धेरै गैरसरकारी संघसंस्थाले यो दिवस राम्रैसँग मनाए र यसैको बहानामा कुम्ल्याउनेले धेरथोर कुम्ल्याए पनि। कतिले भूकम्पपीडित बालबालिकासँग मनोपरामर्श गर्दै यो दिवस मनाएको विगुल पनि फुके।केही हप्ताअघि मात्रै यी दाजु–बहिनी ललितपुरको हरिसिद्धि नजिकै इँटाभट्टामा पसिना बगाइरहेका थिए। रोल्पाको गाउँबाट आमाबाउसँग झरेका यिनीहरूको दैनिकी यही हो। सायदै कसैका पनि आमाबाउले पुगिसरी हुन्थ्यो भने आफ्ना छोराछोरीलाई यसरी काममा लगाउँदैन थिए। त्यसैले भन्ने गरेका होलान्— सबैभन्दा साह्रो ढुंगा, त्योभन्दा पनि साह्रो भनेकै नहुनु।
यो तस्बिरले केही नहुने गरिबको दुःखलाई प्रतिविम्बित गर्छ। भूकम्पपीडित केही हजारमा होलान् तर यस्ता बालबालिका त देशभित्र लाखौंमा छन्। यिनीहरूको दुःख त्यस दिनमात्र सकिन्छ, जुन दिन आमाबाउको कमाइले यिनीहरूको लालनपालन गर्न पुग्छ। दुई–चार बालबालिका उद्धार गर्दैमा यो समस्या सकिँदैन। समस्याको जरो भनेको नै गरिबी हो। त्यसैले बालबालिका सम्बन्धी काम गर्ने संघसंस्थाहरूले आमाबाउको जीवनस्तर उकास्ने सानातिना काम गर्नैपर्ने हुन्छ। अनिमात्र यस्ता दुःखलाग्ने दृश्य कमै देखिएला। नत्र भने अगाडि 'बाल' जोडिएका जुनसुकै दिवस आए पनि केही हुनेवाला छैन।
प्रकाशित: २९ जेष्ठ २०७२ २१:४५ शुक्रबार