लोकगायनमा रामजी खाँडको स्वर अहिले निकै रुचाइनेमध्ये पर्छ। पाँच हजारको हाराहारीमा गीत रेकर्ड गराइसकेका उनका भागमा अहिले पनि महिनामा २० गीत पर्छन्। स्टेज कार्यक्रममा पनि उत्तिकै माग छ उनको। यो तीजमा उनको स्वरमा १३ वटा गीत सुन्न पाइनेछन्। पोखरालाई आधारथलो बनाएर पनि लोकगायनमा कृष्णा गुरुङले छुट्टै ठाउँ बनाएकी छिन्। रोमान्टिक शैलीका गीतहरूबाट चम्किएकी उनी स्टेज जमाउने गायिकामध्ये पर्छिन्।
रामजी खाँड र उनको स्वरमा रहेका अधिकांश गीत हिट छन्। 'एकादशी बजारमा'बाट स्वरमा सहकार्य गरेका उनीहरूका यतिबेला 'प्यार हुन्छ' र 'निधारैमा लेखेसि' चर्चित छन्। चाँडै नै उनीहरूको युगल स्वरमा 'जय बाबा भोले' बजारमा आउने भएको छ। रामजी र कृष्णासँग धनबहादुर खड्काको अन्तरंग कुराकानीः
केमा व्यस्त हुनुहुन्छ आजभोलि?
तीजको सिजन छ। त्यसैको रेकर्डिङ र सुटिङ चलिरहेको छ।
तीज त दिदीबहिनीलाई लाग्नुपर्ने होइन र?
अचेल दाजुभाइलाई पनि उत्तिकै लाग्छ। किनभने, तीजका गीत केटा र केटी दुइटैले गाउने खालका धेरै बन्छन्।
यो सिजनमा तपाईंको स्वरमा कतिवटा तीजे भाका रेकर्ड भए?
तेह्रवटा तीजका गीत गाएँ।
मोडलिङ पनि गर्नु थाल्नुभएको छ। तीजका भाकामा नाच्नु पनि भयो होला?
कृष्णा गुरुङ र मैले गाएको एउटा गीतमा अभिनय गरेको छु। तर, त्यो तीजका लागि मात्रै लक्षित गीत होइन। अरू सिजनमा पनि उत्तिकै चल्छ।
तीजका गीत अचेल के विधि छाडा भएका हुन्!
धेरै गीत तीजका हुन् कि रत्यौली, छुट्याउनै गाह्रो भइरहेको छ। पछिल्लो समय तीजका गीत बढी नै उत्ताउला हुन थालेका छन्।
तपाईंहरूले गाउने लोकगीतबाट लोकपन हराउँदै गएको सुनिन्छ। तपाईंलाई त्यस्तो लाग्दैन?
सबै कुरा समयअनुसार फेरिन्छ। लोकगीत यसबाट अछुतो रहने कुरा भएन। हामीले चाहेर पनि झलकमान गन्धर्वलगायत दाइहरूको जस्तो लोकपन ल्याउन सक्दैनौँ। धेरै साथीहरूले लोकदोहोरी गायनमा मेरो उदयसँगै आधुनिकता भित्रिएको आरोप लगाउँछन्। वास्तवमा मैले नयाँ पुस्तालाई लोकगीतप्रति आकर्षित गर्न लोकगायनमा केही फरकपन ल्याउन खोजेको हुँ। त्यो रुचाइएपछि सबैले उस्तै र त्योभन्दा अझ अघि बढेर गीत निकाल्न थालेपछि बिग्रिएको हो।
औसतमा प्रतिमहिना कतिवटा गीत तपाईंको स्वरमा रेकर्ड हुन्छन्?
२० वटा जति।
पहिलेको तुलनामा घटेको हो?
निकै नै। मेरो करिअरको पिक आवरमा मैले एकैदिन छ वटा गीत पनि रेकर्ड गरेँ। तर, अचेल नयाँ प्रविधिका कारण आफ्नै स्वरमा गीत रेकर्ड गराउने बढेका छन्। हामीलाई पनि रेकर्डिङमा भन्दा स्टेज कार्यक्रममा बढी फाइदा हुन्छ।
स्टेजमा असाध्यै डिमान्ड छ कि क्या हो?
राम्रै छ। सिजनको बेला त भ्याइ–नभ्याइ हुन्छ। यस्तो समय पनि थियो, काठमाडौँबाट निस्केपछि एक महिनासम्म एउटा ठाउँबाट अर्काे ठाउँ हुँदै बित्थ्यो। रातभरि यात्रा गर्ने, दिनभरि गीत गाउने काम पनि गरियो।
निकै ठाउँ पुगिसकियो होला?
नेपालका पश्चिम क्षेत्र पूरै पुगियो, पूर्वका दुईचारवटा ठाउँमात्रै गएको छु। विदेशमा नेपाली धेरै बस्ने ठाउँमध्ये अमेरिका र क्यानडा गएको छैन। अरू ठाउँमा दोहर्यादएर, तेहर्याछएर पुगिसकेँ।
फेरि तीज, दसैँजस्ता पर्व आउँदै छन्। कत्तिको अफर आइरहेको छ?
यो तीज र दसैँ पूरै विदेशमा भइन्छ। तीज सुरु भएदेखि दसैँ नसकिएसम्म मेरो सेड्युल बनिसकेको छ।
विदेशमा बस्ने नेपालीले लोकगीत त्यस्तो विधि रुचाउँछन्, है?
कार्यक्रम गर्न दर्शक जम्मा गर्नका लागि लोकगीत अनिवार्य भएको छ। आधुनिक गीत गाउनेको वा हास्य कलाकारको वा ब्यान्डकै किन नहोस्, उनीहरूले एक दुईजना लोकगायक/गायिकालाई सँगै मिसाउँछन्।
आजको अवस्थासम्म आइपुग्न कति समय लाग्यो?
मेरो स्वर रुचाइन थालेको जम्मा पाँच/छ वर्ष भयो। म गायक बन्छु भनेर काठमाडौँ २०५६ सालमा आएको हुँ। 'वालिङ बजारमा', 'बस्यौ दिलभरि' जस्ता गीत पनि गाएँ। यी गीतले मलाई कहीँ पुर्याएन। त्यसपछि मलाई पूरै १० वर्ष लाग्यो।
त्यतिबेला तपाईंको यही स्वर नरुचाइनुमा कहाँ खराबी रहेछ?
खराबी स्वरमा भन्दा बढी एल्बम निकाल्ने कम्पनीको स्वभावमा थियो। नयाँ प्रतिभाहरूलाई प्रमोट गर्न खोज्दैनथे। लोकगीतमा राजु परियारको राज थियो। उहाँको स्वर नभएको गीत कम्पनीले बजारमा पठाउन मान्दैनथे। मेरा दुई एल्बममा मैले पनि उहाँलाई गाउन लगाउनुपरेको थियो। उहाँले गाएपछि म हिट हुने कुरै भएन।
१० वर्ष काठमाडौँमा कसरी टिकियो? यत्रो लामो समय स्ट्रगल गर्दा संगीत क्षेत्रप्रति वितृष्णा जागेन?
दिउँसो एउटा क्यासेट कम्पनीमा काम गर्ने बेलुका दोहोरी रेस्टुरेन्टमा गाउने काम गरेर काठमाडौँमा बाँच्ने आधार बनाएँ। यहाँ बसेर केही नहुने देखेपछि दुबई जानका लागि म्यानपावर कम्पनीलाई पासपोर्ट दिइसकेको थिएँ। तर, मेरो सौभाग्य भिसा आउन ढिलो भयो। यही समयमा शिव हमाल र म मिलेर निकालेको 'पछ्यौरी लेऊ बैना' हिट भयो। त्यसपछि मेरो स्वरमा गीत रेकर्ड गराउन चाहनेको लहरै चल्यो र म आज गायकका रूपमा परिचित छु। अहिले सोच्छु– चाँडै भिसा आएर कसो मजदुरी गर्न दुबई पुगिएनछ!
प्रकाशित: ५ श्रावण २०७१ ०९:५३ सोमबार





