विश्वराज अधिकारी
वीर अस्पताल नजिक रत्नपार्कको पर्खाल छेउमा बसेको एक ज्योतिषीलाई देखेर ज्ञानबहादुरलाई आफ्नो आजको भाग्य हेर्ने तीव्र इच्छा जाग्यो। साँझ हुन लाग्दासम्म पनि उसले कतै कसैको भारी बोक्ने काम पाउन सकेको थिएन। हातमा नाम्लो बोकेर ऊ घण्टौसम्म महाबौद्धका साहूहरूको दैलोदैलोसस्म पुगेको थियो।
हातमा रहेको बिस रुपैयाको नोट अगाडि सार्दै उसले भन्यो, ‘लौ ज्योतिष बा, मेरो आजको ग्रहदसा हेरिदिनुहोस। बिहानदेखि भारी बोक्ने काम पाएको छैन।’
ज्ञानबहादुरको हातमा रहेको नोट झ्वाट्ट तान्दै ज्योतिषले उसलाई चामल छाम्न दियो। छामेको चामल ज्ञानबहादुरको हातमा राख्दै उसको हातका अनेक रेखाहरू हेर्न थाल्यो।
ज्योतिषले भन्यो, ‘तिमीलाई आजदेखि साढेसाती चढेको रहेछ। यो ग्रहदसालाई शान्त पार्नुपर्छ।’
ज्ञानबहादुरले सोध्यो, ‘ग्रहदसा शान्त पार्न के गर्नुपर्छ ज्योतिष बा ।’
ज्योतिषले सोध्नेबित्तिकै भन्यो, ‘शान्तिस्वति गराउनुपर्छ। त्यो गर्न तपाईले थप बिस रुपियाँ खर्च गर्नुपर्छ ।’
संकटमाथि संकट थपिएको देखेर ज्ञानबहादुर झनै चिन्तित हुँदै कहिले सडक कहिले ज्योतिषतिर हेर्न थाल्यो।
‘ज्ञान दाइ, भारी बोक्ने होइन । चाइनिज जुत्ताहरू बोकेर महाबौद्धदेखि न्यूरोड पिपलबोटसम्म पुरयाउनु छ छिटै ’ ज्ञानबहादुरको कानमा ठोक्कियो।
तर तत्काल दृश्य र परिस्थिति परिवर्तन भएको देखेर ज्ञानबहादुर आश्चर्यमा पर्यो। नगरपालिकाका प्रहरीहरूले फुटपाथमा बसेका व्यापारी र व्यवसायीहरूलाई उनीहरूको सामान खोस्दै समात्दै थिए। ज्योतिष ज्ञानबहारले दिएको पैसा खल्तीमा राख्न पनि नभ्याई ज्ञानबहादुरको हातमा खसाएर विपरीत दिशा भागेको थियो।
केही क्षण पहिले आफूले ज्योतिषलाई दिएको पैसा ज्ञानबहादुरले खल्तीमा हाल्यो अनि भारी बोक्न हिंड्यो, महाबौद्धतिर।बाटाभरि ज्ञानबहादुरले सोंचिरह्यो, ‘कसलाई ग्रहदसाले थिचेको रहेछ । आफूलाई वा त्यो ज्योतिषलाई।’
ज्ञानबहादुरले आफैसँग प्रश्न पनि गर्यो, ‘आफ्नै ग्रहदसा थाहा नपाउने कस्तो ज्योतिष ? ’
प्रकाशित: २ श्रावण २०७७ ०५:२९ शुक्रबार