७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
अन्य

महिला हिंसाविरुद्ध साइकलयात्रा

सुयोग मान सिंह बस्न्यात

कक्षा– ६,

विद्या संस्कार विद्यालय(चेल्सी इन्टरनेसनल एकेडेमी स्कुल) गोकर्णेश्वर–८, काठमाडौं ।

गत फागुन १० गते बिहान सबेरै बाबाले ‘सुयोग जाऊँ’ भनेर साइकल निकाल्नुभयो । म पनि साइकलमा बाबाको पछिपछि लागिहालें । कहाँ किन जाने केही थाहा थिएन । न त  बाबाले केही भन्नु नै भयो न त मैले नै सोधें । जब हामी पद्मकन्या बहुमुखी क्याम्पस बागबाजार पुग्यौं अनि बल्ल थाहा भयो, हामी तः पद्मकन्या क्याम्पस विविएम  सातौं सेमेस्टरका दिदीहरूले आयोजना गर्नुभएको साइकल रयालीमा भाग लिन पो हिंडेका रहेछौं । रयाली आउँदै गरेको नारी दिवसलाई लच्छित गर्दै, ‘महिला हिंसाविरुद्ध जनचेतना जगाउने’ उद्देश्यले गरिएको रहेछ । उक्त रयालीको संयोजक त बाबा आफैं पो हुनुहुँदो रहेछ । उक्त साइकलयात्रालाई झन्डै १ सय वर्ष पुरानो पञ्चअष्टनारायण (प्याङ्क) साइकल पसलले मुख्य रूपमा सहयोग गरेको रहेछ । 

बाबा र म त्यहाँ पुग्दा साइकलयात्रीहरू जम्मा हुन थालिसकेका थिए । चउरमा एक छेउमा सिंगारिएको मञ्च थियो । मञ्चअगाडि  मिलाएर कुर्सीहरू राखिएका थिए   । त्यसको अलि अगाडि दाहिनेपट्टि साइकलरयालीसम्बन्धी ठूलो होडिङबोर्ड, जहाँ फोटो खिच्दै गरेका साइलयात्री, अनि स्टेजको देब्रेपट्टि लस्करै राखिएको डेक्स र बेञ्चमा बसेर  क्याम्पसका स्वयमसेवी दिदीहरू साइकलयात्रीहरूको नाम रुजू गर्दै टिसर्ट, पानी र खाजाको कुपन दिंदै हुनुहुन्थ्यो  ।  प्याङ्कको विजरत्न र तिरेक मानन्धर अंकल उहाँहरूलाई सहयोग गर्दै हुनुहुन्थ्यो  ।

यो साइकलयात्राभन्दा पहिले पनि दुईतीनवटा अरू रयालीमा भेट भएको तारा जैसवाल, सविता ओली, सविना चौधरी, अस्मिता राउत, मञ्जु श्रेष्ठ र त्यहीं चिनजान भएको अमिसा बाराकोटी, क्रान्ति नेम्वाङ लगायतका दिदीहरू उक्त साइकलयात्राको आयोजक हुनुहुँदो रहेछ । त्यसैले उहाँहरू यताउता दौडने अनि मेरो बाबालाई सबै कुराको जानकारी गराउँदै फेरि खुरुरु यताउता दौडदै गरेको र म्यूजिकको तालमा चउरमा नाच्दै गरेको साइकलयात्री ती सबै दृष्य हेर्दा रमाइलो देखिन्थ्यो ।

विजयरत्न अंकलले साइकलयात्रीहरूलाई यात्रामा पालना गर्नुपर्ने अनुशाससन, साइकलयात्राको मार्ग र साइकलसम्बन्धी केही प्राविधिक कुरा बताएपछि, क्याम्पस प्रमुखले यात्राको उद्घाटन गर्नुभयो । अनि यात्रा सुरु भयो । यात्राको नेतृत्व गर्ने मौका मैले र उदयबहादुर श्रेष्ठ अंकलले पाएका थियौं । क्याम्पस प्रमुख, द्यद्यः डाइरेक्टर लगायतले केहीबेर हामीसँगै साइकल चढेर यात्राको शोभा बढाउनुभयो । यात्रा बागबजार, पुतलीसडक, अनामनगर, बबरमहल, माइतीघर, मण्डला, थापाथली, कुपण्डोल, पुल्चोक, मंगलबजार, कृष्ण मन्दिर परिसर हुँदै फेरि पुल्चोक, कुपण्डोल, थापाथली, त्रिपुरेश्वर, न्यूरोड, वसन्तपुर, हनुमानढोका, जमल, घण्टाघर, बागबजार हुँदै क्याम्पस परिसरमा गएर रयालीको अन्त्य भयो । साइकलयात्रीहरू मंगल बजारमा पुग्दा ललितपुर साइकल समूहका सुरेश अंकल र सुनिल (हान्ताई) अंकलले भव्य स्वागत गर्नुभयो ।

प्रमुख अतिथि वरिष्ठ समाजसेवी अनुराधा कोइरालाले ‘केही दिनअघि गौशालामा हिंडिरहेको समय एक महिलाले उहाँलाई स्कुटरले ठक्कर दिई लडाएर भागेको अनि एक जना साइकल चढिरहेको नौदश वर्षको बच्चाले देखेर त्यो स्कुटरको नम्बर टिपेर उहाँलाई दिएको र उहाँले पुलिसमा रिपोर्ट गरेपछि ती महिलाले उहाँसमक्ष माफी मागेकोले माफ पनि गरिदिएको’ कुरा सुनाउनुभयो । उहाँले साइकल, स्वास्थ्य र वातावरणको सम्बन्ध र महत्वबारे बोल्नुभयो । सरकाले साइकललेन बनाउनुपर्ने कुरामा जोड दिनुभयो । महिला हिंसाविरुद्ध धेरै कुरा बोल्नुभयो । महिला हिंसाविरुद्ध साइकल रयाली गरेकोमा आयोजक दिदीहरूलाई धन्यवाद दिनुभयो ।

समाजसेवी अनुराधा कोइराला

बोल्ने क्रममा बाबाले पनि ‘महिलाको सम्मान नभएसम्म सभ्य समाजको कल्पना गर्न सकिंदैन र समाजको उत्थान पनि हुँदैन’ भन्नुभयो ।

कलेजको १ सय ५० र बाहिरको ५० जना गरी जम्मा २ दुई जना साइकलयात्रीको सहभागिता थियो । कलेजका दिदीहरूले सांस्कृतिक भेषमा गर्नुभएको नृत्य ज्यादै राम्रो थियो । यात्राको शोभा बढाउन विशेष अतिथिको हैसियतले विश्व साइकलयात्री तथा सगरमाथा आरोही पुस्कर अंकल पनि आउनुभएको थियो ।

साइकलयात्रा, मर्यादित, अनुशासित र सुरक्षित बनाउन प्याङ्क साइकल पसलबाट खटिआएका स्वयंसेवीहरूको राम्रो भूमिका रह्यो । यात्रा सभ्य,  भव्य र पूर्ण रूपमा सुरक्षितसाथ सम्पन्न भयो ।

प्रकाशित: १ श्रावण २०७७ ०९:३७ बिहीबार

जूनकीरी