सीता विष्ट कार्की सीबिका
समय झन् भन्दा झन् निकै त्रास र भयले जकडिएको छ । भित्र बस्दाबस्दा मनमस्तिष्क पनि साँगुरिदै जान थालिसक्यो । कसरी यो समयलाई पार गर्ने , भयरहित समयभित्रको उज्यालो कस्तो होला भन्ने मानिसलाई भएको छ । ठूलाका लागि त यति गाह्रो भइरहेको छ भने बालबालिकाका लागि कति गाह्रो भयो होला भन्ने कुरा सहजै अनुमान गर्न सकिन्छ । घरमा साना बालबालिका रमाएर खुसी भए भने घर उज्यालो हुन्छ , अभिभावकहरुको पनि खुसी र आनन्दित मन हुन्छ ।
आजको दुनियाँमा रमाउने , खेल्ने र मनोरञ्जन गर्ने भन्ने साधनको रूपमा सबैको हातहातमा हुने मोबाइललाई लिएको पाइन्छ । भर्चुअल माध्यमबाट मनोरञ्जन दिने साधनको रूपमा अभिभावकहरूले बालबालिकालाई प्रायः मोबाइल दिएको पाइन्छ ।
मोबाइलमा पनि बच्चालाई सिर्जनशील बनाउने खालको भैदिए त हुने , उल्टो गेम र कार्टुनमै समय बिताउँछ्न् । मनोरञ्जनबाहेक के हुन्छ र त्यसमा । गेम खेल्न र कार्टुन हेर्न थालेपछि खाना खान पनि भुल्छ्न्, समय बितेको पत्तै हुँदैन ।
अन्वेषणअनुसार पनि अहिले १८ वर्षमुनिका ८०५ बालबालिका डिजिटल प्रविधिसंगको सम्पर्कमा रहेको पाइन्छ , जस्तै डिजिटल प्रविधिअन्तर्गत मोबाइल फोन ,ल्यापटप , डेस्कटप , ट्याब्लेटहरू आदि पर्द्छ्न ।
बालबालिकाको स्वभावतः जिज्ञासु हुन्छन् । त्यसैले पनि डिजिटल प्रविधिमा बालकहरूको ध्यान त्यतातिर आकर्षण हुन्छन् र एक किसिमले उनीहरूका लागि कडा नशा बसेको पाइन्छ , जस्तो खाना खाँदासम्म उनीहरूलाई मोबाइल चाहिने भयो , कि गेम खेल्दै खाना दिने कि कार्टुन हेर्दै अचेल यस्तो समस्या घरघरमै पाइन्छ । वास्तवमा यो सबै हामी अभिभावककै दोष भन्ने लाग्छ । हामीले उनीहरूलाई मोबाइल चलाउन , खेलाउन दिन , खाना खान धेरै जसो बालबालिका स्वभावैले किचकिचे नै हुन्छन् । यसका लागि डिजिटल प्रविधिबाहेक बालबालिकालाई भुलाउने अरू उपाय पनि अबलम्बन गराउन सकिन्छ ।
अर्को कुरा अहिलेका अभिभावक पनि अलि बढी सचेत अनि व्यस्त पनि हुन्छन् । त्यसैले उनीहरूलाई खाना खुवाएर उम्काई आफू आफ्नो काममा जानुपर्ने हुँदा भोक नलागे पनि बच्चाले खानुपर्ने अवस्था पनि आउन सक्छ । जसले गर्दा उनीहरूमा कडा नशा बस्द्छ । यो नशा हटाउन उनीहरूलाई निकै गाह्रो हुन्छ ।
वैज्ञानिक अनुसन्धानबाट थाहा भएअनुसार हामीले प्रयोग गर्ने मोबाइल फोनबाट मानिसको मस्तिष्कलाई असर पार्ने एक किसिमको विकिरण पैदा हुन्छ । यसको असर ठूलो मानिसमा भन्दा बालबालिकामा दुईदेखि पाँच गुना बढी हुने कुरा वैज्ञानिकले अनुसन्धान गरेका छ्न् ।
बालबालिका भोलिको देशका बलिया खम्बा हुन् । उनीहरूको स्वस्थ शरीर र मस्तिष्कले सुन्दर घर , परिवार , समाज र राष्ट्रको परिकल्पना गर्नसक्छ । बालकहरूको विकासको चरण भनेको आठदेखि दस वर्षसम्मलाई लिएको छ । यो बेला उनीहरूको कलिलो मस्तिष्कमा विकिरणले नकारात्मक असर पार्ने हुँदा यसका लागि अभिभावकले गहन रूपमा ध्यान दिनुपर्दछ ।
यसका असरहरू जस्तै धेरै चकचक गर्ने , अरू साथीहरूसँग घुलमिल हुन नसक्ने , रूखो व्यवहार , भावनात्मक समस्याहरू देखिन सक्छ । वैज्ञानिकअनुसार यदि निरन्तर डिजिटल प्रविधिको प्रयोग गर्न दिएमा बालबालिकाको मस्तिष्कको कोषहरूको पनि विनाश हुन सक्ने संभावना रहन्छ । जसले गर्दा सुस्त मनस्थिति भएर बच्चामा सिर्जनशीलता हराएर स्वस्थ जीवन यापनका लागि असहज हुन्छ ।
हरेक कुराको समस्यासंगै समाधान पनि रहेको हुन्छ । यसका समाधानका लागि मोबाइललाई सुत्ने बेलामा आफूदेखि टाढा राख्ने गर्नुपर्दछ । जसले गर्दा त्यसको विकिरणले असर नपरोस् ।
– लामो समयसम्म मोबाइलमा कुरा गर्दा हेडफोनको प्रयोग गर्ने ।
– बालबालिकालाई मोबाइल दिँदा एरोप्लेन मोडमा राखेर दिने ।
– विकिरण कम गर्न घरको वाइफाई बन्द गर्ने ।
– खाना खुवाउने बेलामा मोबाइलको सट्टा बरु कथा भन्दै खुवाउने गर्ने हो कि ।
यसप्रकार मोबाइलको नशाबाट बालबालिकालाई टाढा गर्नु अनिवार्य छ । जीवनलाई सिर्जनशील बनाउन बच्चाहरूलाई सानैदेखि बानी पार्नुपर्छ , डिजिटलदेखि अलि टाढा राखेर खेलौनाको रूपमा कापी र कलम , रंगीन सिसाकलम दिएर चित्र कोर्न सिकाऊ , आफ्नै तोते बोलीमा बालगीतहरू गाउन सिकाऊ ।
लकडाउनले बालबालिका घरमै थुनिएका छ्न् । यो बेलामा उनीहरूको भरसक चित्त नदुखाँऊ । उनीहरूसंगै रमाउनुपर्छ । उनीहरूले गर्न सक्ने नयाँ नयाँ काम सिकाऊ । उनीहरूको विकासका लागि हरेक अभिभावकले पनि केही न केही सिर्जनशील बन्नुपर्छ नत्र मोबाइलमा झुन्डिनेबाहेक अर्को विकल्प भेटिन सकिदैन ।
बालबालिकाको खुसी र मुस्कानले घर स्वर्ग हुन्छ । समाज र राष्ट्रका चम्किला ताराहरू आशा र भरोसाको सुनौलो ज्योति बोकेर लम्कनेछ्न् ।
प्रकाशित: २७ असार २०७७ २२:२९ शनिबार