७ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
अन्य

आफ्नै घरमा बसौँ

बालकविता

रमेशचन्द्र घिमिरे

रमेशचन्द्र घिमिरे

आफ्नै घरमा एक्लै बस्यो एक्लै पढ्यो खायो  

मेरो घरमा नआऊ भन्ने कस्तो दिन आयो

कुन घरमा को बस्दै छन् नाम ठेगाना सोद्धै

आफै आउन्न कोरोना त्यो हामीलाई खोज्दै

टेलिभिजन त्यै भन्दैछ, रेडियो त्यै भन्छ

त्यही भएर मलाई पनि घरै बस्न मन छ

जे छोए नि रोग सर्न सक्छ भन्ने सुन्छु

कतै गई आउँदाखेरि पहिला हात धुन्छु

तर्किँदै म साथीसँग भन्छु के छ यार  

हात मिलाउन छोडिसकेँ गर्छु नमस्कार  

लुखुरलुखुर  किन हिँड्नु जता पायो त्यता  

डुले पनि बजार बन्द के पाइन्छ र कता  

तिमी तिम्रै घरमा बस म नि यतै बस्छु

कैले बैठक कोठा छिर्छु कैले भान्छा पस्छु

करेसामा काम गरी बालाई सघाउँछु

आमासँग सिक्छु अनि भात पकाउँछु  

रमाइला किताब पढ्न बाँकी थियोे पैले

तिनै किताब खोजी(खोजी पढ्दै छु म ऐले

कथा लेख्छु, चित्र कोर्छु, नाच्छु, गीत गाउँछु

बन्द खुलेपछि मात्रै तिम्रो घरमा आउँछु  

लौ त साथी के भनूँ र जे पायो त्यो नखाऔं

आफ्नै घरमा बसौँ अनि अन्त कतै नजाऔं ।

प्रकाशित: १९ असार २०७७ ०६:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App