४ मंसिर २०८१ मंगलबार
image/svg+xml
अन्य

कृषि वैज्ञानिक बन्ने लक्ष्य छ

भावना पौडेल

कक्षा –६,  

अरुणिमा मावि बौद्ध, काठमाडौं ।

अहिले लकडाउन चलिरहेको छ । लकडाउनका कारण विद्यालय बन्द छन् । म घरमा परिवारसँग बसेर पढ्दै छु । म नजानेको कुरा बाबाममीलाई सोध्छु । घरमा उहाँहरूसँगसँगै बस्न पाउँदा खुशी छु । यसले एक किसिमको नयाँ ऊर्जा र ज्ञान बढेको छ ।  बाबाममीले कसरी घरको काम गर्नुहुँदो रहेछ । ती काम कसरी र कुन तरीकाले गर्नुपर्ने रहेछ । यी कुराको अहिले म नजिकबाट अनुभव गरिरहेकी छु  र ती काम गर्न म आफू पनि सिक्दै छु । आखिर घरको काम त सबैले जान्नैपर्ने रहेछ ।

हाम्रो घरको नजिक सानो करेसाबारी छ । म ममीसँग करेसाबारीमा तरकारीको हेरचाह र गोडमेल गर्न जान्छु । म ममीलाई झार उखेल्न सघाउँछु । उखेलेको झार सानो खाल्डामा हालेर जैविक मल बनाउन सकिन्छ । तरकारी केलाउँदा निस्कने फोहोर र उब्रिएको खानेकुरालाई पनि म त्यहीँ खाल्डामा हाल्छु । यसबाट राम्रो मल बन्छ । बजारमा पाइने मलभन्दा यो धेरै राम्रो हुन्छ । यसबाट फलेको तरकारी मीठो हुन्छ ।

करेसाबारीमा बोडी, रायो, रामतोरिया, काक्रो र पिँडालु छ । मलाई रायो साग औधी मन पर्छ । मलाई मन परेर रोपेको खरबुजाको बोट उम्रिएको केही दिनमा कीराले काटेर मरयो । मलाई कीराले विरुवा खाने रहेछ भन्ने कुरा पनि थाहा भयो । कीरा नियन्त्रणका लागि घरेलु विषादीको प्रयोग गरेका छौं । गाईको गहुँत र असुरोको पातबाट यस्तो विषादी बन्दो रहेछ । यो कुरा मैले बाबाबाट सिकें ।

सानो टुक्रा बारीमा मकैका बोटहरू बढ्दै छन् । ती मकै गोडमेल गरिसकिएको छ । अहिले मकै झन्डै दुई फुटका भएका छन् । हरिया मकैका बोट देखेर म रमाइरहेकी छु । अबको केही दिनमा घोगा लाग्नेछन् । मकै पाकेपछि म मकैलाई पोलेर र भुटेर खान्छु ।  

रामतोरिया आँख्लैपिच्छे फलेको देखेर म दंग छु । मलाई रामतोरियाको सब्जी मीठो लाग्छ । रायोका लामालामा पात देखेर छाडा गाईवस्तु यता आउँछन् । म बेलाबेला तिनीहरूले मेरो साग खान्छन् कि भनेर चनाखो बन्छु ।  

काँक्रो भर्खर फुल्दै छ । पहेँला फूलहरू देखेर म गाउँमा फलेका ठूला काँक्राको बोट सम्झन्छु । तर, यहाँको काँक्रो सानो खालको हो । यसको नाउँ खिरा हो रे ममीले भन्नुभएको । यो भर्खर फल्ने तरखरमा छ ।  

बोडीका लहरामा ससाना कोसा लाग्न थालेका छन् । मलाई काँचो बोडी पनि मन पर्छ । म बारीमा गएको बेला एकदुई कोसा टिपेर काँचै खान्छु । ममीले  काँचो खाँदा पेट दुख्छ, खानु हुँदैन भनेर सम्झाउनुहुन्छ । त्यसो त नधोई कुनै पनि चीज खानु हुँदैन भनेर स्कुलमा गुरुमाले पढाएको कुरा पनि म सम्झन्छु । तर आफ्नो सफा करेसाबारीमा कुनै फोहोर र विषादी नभएको हुनाले काँचै खान नडराएकी हुँ । मलाई खेतीमा चासो पनि छ । भविष्यमा कृषि वैज्ञानिक बन्ने र देशको सेवा गर्ने लक्ष्य लिएकी छु । 

प्रकाशित: २८ जेष्ठ २०७७ ०९:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App