१९ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्य

थाहा नगरमा 'साइक्लिङ'

साइक्लिङ

मकवानपुरको थाहा नगरपालिकामा साइक्लिष्ट

साइक्लिङका हिसाबले दामन उत्कृष्ट गन्तव्य हो । त्यहाँ दुई दिन समय सदुपयोग गर्न सकिन्छ । काठमाडौंको दक्षिणपश्चिम कुनामा चन्द्रागिरि पर्वत उभिएको छ । त्यहीँबाट मकवानपुरको थाहा नगरपालिका शुरू हुन्छ ।  

न्यायिक, स्वच्छ, स्वस्थ्य समाज, दिगो विकासका लागि मान्छे भित्रको मान्छे जागृत हुनुपर्छ भन्ने अभियानमा लाग्नु भएका निष्पक्ष सक्रियताको अभ्यास ‘थाहा’ दर्शनका प्रवर्तक रुपचन्द्र विष्ट मकवानपुर जिल्लाकै पालुङ, घर्तीखोलामा जन्मनुभएको थियो । विष्टको ‘थाहा’ दर्शनबाट प्रेरित स्थानीयकै प्रस्तावमा साविकका दामन, पालुङ, बज्रबाराही र चित्लाङ गाविस समेटेर बनेको नगरपालिको नामकरण ‘थाहा नगरपालिका’ राखिएको छ । यस क्षेत्रमा घुमफिर गर्न आकर्षक गन्तव्य छन् ।    

काठमाडौंको त्रिपुरेश्वरबाट थानकोट पुरानो चेकपोस्ट करीब १० किमि दूरी तय गरेपछि गोदामचौर हुँदै चन्द्रागिरि भञ्ज्याङ पुगिन्छ । उकालो बाटो साइकलमा उक्लन निकै चुनौतीपूर्ण छ । हाल यो बाटो स्तरोन्नति हुँदैछ । विकल्पका रुपमा कारमा जान सकिन्छ । आकाश खुलेका दिन चन्द्रागिरि उक्लँदा उत्तरतर्फको हिमशृङ्खला र डाँडा फेदीकोे उपत्यकाको मनोरम दृश्यपान गर्न सकिन्छ । 

इन्द्रसरोवर वरपर साइकलमार्ग र पदमार्ग  बनाउन सम्बन्धित निकाय तात्नुपर्छ । पर्यटन प्रवद्र्धन गर्न स्थानीयस्तरबाट साइकल दौड, हाफ म्याराथन, ट्रायथलन, डुवाथलन जस्ता प्रतियोगिता बर्सेनि आयोजना गरिनुपर्छ । 

चित्लाङ  
चन्द्रागिरि भञ्ज्याङबाट ६ किमि ओह्रालो बाटो लागेपछि पुरातात्विक महत्वको प्राचीन शहर चित्लाङ पुगिन्छ । बजारको शुरूमै ट्राउट माछा फारम छ । मूलबाटो छाडेर दायाँतर्फको पुरानो पैदल मार्गबाट बस्ती छिचोल्दा ऐतिहासिक धरोहर अवलोकन गर्न सकिन्छ । यहीँको गुर्जुधारामा बसेर महाकवि लक्ष्मीप्रसाद देवकोटाले ‘यात्री’ कविता लेखेका थिए । बजारका पुराना दरबार, पौवा र सत्तलहरू खण्डहर हुँदैछन् । त्रिगजुरेश्वर महादेवस्थान, बस्नेत पाटी, स्वच्छन्द भैरव, सात धारा, नारायण हिटी यहाँका मुख्य आकर्षण हुन् ।  

कुन्छाल

घुमफिर गर्दा स्थानीय परिकार चाख्नुपर्छ । चित्लाङ पुगेर चिज नखाए यात्रा अपुरो हुन्छ । बाख्राको चिज, सिजन अनुसार आरुबखडा, नासपाती, भुईँस्याउ जस्ता फलफूल र बेमौसमी तरकारी चाख्नुपर्ने कुरा हुन् । छोटो दूरीको यात्रा पश्चात यतै विश्राम लिन सकिन्छ । यहाँ घरवासको व्यवस्था पनि छ ।

बज्रबाराही 
चित्लाङ नारायणहिटीबाट दायाँ लागेर करीब ३ किमि दूरीको अर्को रमाइलो गाउँ बिसिंखेल आउँछ । बाटो छेवैमा चम्पेश्वर महादेव मन्दिर छ । बिसिंखेलबाट करीब ५ किमि दूरीमा लिच्छविकालिन ऐतिहासिक शहर बज्रबाराही पुगिन्छ । बज्रबाराहीमा नेवारी खाजा पाइन्छ । अर्डर गरे बमोजिम दालभात पनि पाक्छ । बजारबाट पुल तरे पर चौरमा पुगिन्छ । चौरमुनि शक्तिपीठ छ । यहाँ सतीदेवीको पीठ पतन भएको जनविश्वास छ ।  

बज्रबाराही कटेपछि भिरालो जमिनमा रातो टायले छानो भएको झुरुप्प बस्ती देखिन्छ । बस्तीको सुन्दरताले लोभ्याउँछ । कुन्छालको उकालो लाग्दा पुरानो गोपाली गाउँ र बज्रबाराहीको तस्बिर क्यामेरामा कैद गरे राम्रो । गोपाली गाउँमा अहिले घरबास संचालनमा छ । समय भए यता अलमलिन सकिन्छ । बज्रबाराहीबाट ४ किमि हल्का उकालो पार गरेपछि त्रिभुवन राजपथ भेटिन्छ । मुलुकको सबैभन्दा जेठो राजमार्ग त्रिभुवन राजपथ । यसले नगरको करीब बीच भागबाट चिर्दै केन्द्रीय राजधानी काठमाडौं र बागमती प्रदेशको राजधानी हेटौंडालाई जोडेको छ ।  

पालुङ  
त्रिभुवन राजपथ जोडिने ठाँउलाई कुन्छाल भनिन्छ । कुन्छालबाट करीब  ५ किमि दूरी तय गरेपछि ठाना बजार आउँछ । ठाना बजारबाट खोलाको किनार पहिल्याउँदै २ किमि दूरीमा पुरानो पालुङ बजार पुगिन्छ । समय र शरीरमा ऊर्जा बाँकी भए प्राचीन, ऐतिहासिक पालुङ शहर र पाण्डुकेश्वर महादेवस्थान घुमेर दामनतिर उकालो लाग्न सकिन्छ ।  

ओखर बजारको पुल तरेपछि मन्द उकालो शुरू हुन्छ । करीब तीन किमि उकालो लागेपछि शिखरकोट बजार पुगिन्छ ।

दामन
कुन्छालबाट दामन करीब १५ किमि दूरीमा छ । ठाना बजारबाट दामन पुग्न करीब १० किमि उकालो लाग्नुपर्छ । नागबेली उकालो बाटो निकै रोमाञ्चक छ । हिमाल, पहाड र उपत्यकाको संयोजन हेर्दै जाँदा थकाइ  अनुभव नै हुँदैन । दामन (२,३२२ मिटर) क्षेत्रमा तामाङ जातिको बाहुल्य छ । भ्यूटावर, गौरीशंकर होटल लगायत यहाँ खाने र बस्ने ठाउँ प्रशस्त छन् । पहिलो दिनको यात्रालाई यतै बिट मार्दा बेस ।

दोस्रो दिन
दामनबाट बिहान सबेरै सूर्योदय, भ्यू टावरबाट हिमालको दृश्य हेर्ने । साथै शितोष्ण बागबानी नर्सरी, पर्वतीय वनस्पति उद्यान, ऋषेश्वर महादेवस्थान, छिमी ज्यामछुक गुम्बा हुँदै सिमभञ्ज्याङसम्म यात्रा गर्ने ।   वरपरका केही स्थान अवलोकन नगरे यात्रा अलि अपुरो हुन्छ । आकाश खुलेका बेला यहाँबाट हिमशृङ्खलाको दृष्यपान गर्दा आँखा कहिल्यै थाक्दैनन, मन कहिल्यै भरिँदैन । समय छ भने चरा अवलोकन गर्न सकिन्छ ।  

ऋषेश्वर
ऋषेश्वर महादेवस्थान यस भेगकै धार्मिक आस्थाको प्रतीक हो । ऋषेश्वरप्रति हिन्दू र बौद्ध धर्मावलम्बी आस्था राख्छन् । धार्मिक सहिष्णुताको नमुना बनेको छ मन्दिर जहाँ गुरु पद्यमसंभवले तपस्या गरेका थिए । मूल सडकबाट १ किमि हिँडेपछि गुम्बामा पुगिन्छ । यो गुम्बाको नाम छिमी ज्याम्छुक गुम्बा हो । गुम्बाबाट अलि पर ऋषेश्वर महादेवस्थान आउँछ । हरेक वर्ष ठूलो एकादशी र फागु पुर्णिमाका यहाँ दिन मेला लाग्छ । महादेव दर्शन गरेर वर मागेमा चिताएको कुरा पुग्ने जनविश्वास छ । गुम्बामा पुगेपछि लामा गुरुसँग भेटेर चिया खान आनन्द आउँछ । गुम्बामा जाँदा केही खानेकुरा लानु बेस हुन्छ ।  

इन्द्रसरोवर 

सिम भञ्ज्याङ  
ऋषेश्वरबाट सिमभञ्ज्याङ जाने पदमार्ग छ । समय भए सिमभञ्ज्याङ अवलोकन गर्दा राम्रै हुन्छ । मकवानपुरकै सबैभन्दा उँचो ठाउँ  सिमभञ्ज्याङ (२५०० मिटर) । मूल सडकबाट दामनबाट सिमभञ्ज्याङसम्मको दूरी ७ किमि छ ।  

दोस्रो दिन काठमाडौं फर्कने भए यता धेरै अलमल नगर्नु बेस । फर्कंदा दामनबाट अर्किड ट्रेल भएर यात्रा गर्नु उपयुक्त हुन्छ । मार्खुबाट विभिन्न रुट भएर फर्कन सकिन्छ । अर्किड ट्रेलबाट मार्खु, चित्लाङ, चन्द्रागिरि हुँदै पुनः काठमाडौं । कलंकी, चखेलदेउराली, मातातीर्थ, सतुंगल वा कलंकी फाखेल, हुमाने, फर्पिङ हुँदै बल्खु निस्कन सकिन्छ ।  

अर्किड ट्रेल
तामाङ जातिको बाहुल्य भएको पातलो गाउँ । कच्ची बाटो, पर्वतीय वनस्पतिले भरिएको वनपाखा छिचोल्दै साइकलमा हल्का ओह्रालो लाग्नुको मजा बेग्लै छ । पदयात्रा र साइकल कुदाउन वरदानै सावित छ यो बाटो । दामनबाट मार्खुसम्मको दूरी ११ किमि । मार्खु झर्दा डाँडाबाट देखिने कुलेखानीको सौन्दर्यले त्यसै भुलाउँछ । अलिकति ढुंगे सिंढीबाट डाँडाको फेदीमा झरेपछि इन्द्रसरोवरको किनारमा पुगिन्छ ।  झोलुङे पुल पारी मार्खु बजार छ ।    

इन्द्रसरोवर
देशकै ठूलो मानव निर्मित ताल । बिजुली उत्पादनका लागि महत्वपूर्णस्थल । यसको सौन्दर्य हेर्नलायक छ । क्याम्पिङका लागि प्रशस्तै ठाउँ छन् सरोवर वरपर । मार्खुमा डुंगा सयर गर्न सकिन्छ । ताल वारिपारि दुवैतिर खाना र बसोबासको राम्रै व्यवस्था छ । इन्द्रसरोवर छेउछाउमा क्याम्पिङ गर्ने ठाउँ पनि छन् । मार्खुदेखि बाँधसम्म सरोवरको डिलडिलमा खाना र बसोबासको राम्रै व्यवस्था छ । मार्खुबाट इन्द्रसरोवर किनारैकिनार कुलेखानीको कलंकीसम्म दूरी करीब ७ किमि छ । कलंकीबाट दायाँ लागे बाँधको चिसापानी गढी, भीमफेदी हुँदै हेटौंडा जान सकिन्छ । बायाँतर्फको बाटो फाखेल, हुमाने भञ्ज्याङ, फर्पिङ हुँदै बल्खु ४२ किमि छ । चखेल, देउराली मातातीर्थ हुँदै सतुंगलको दूरी करीब २२ किमि छ ।  

बाख्रा फारम
मार्खु–इन्द्रसरोवर करीब २ किमिमा भेडीगोठ पुगिन्छ । भिरालो जमिनलाई आकर्षक रूपमा निर्माण गरिएको छ । यसको सौन्दर्यमा रमाउन एकैछिन भए पनि रोकिए बेस । यताबाट पनि चित्लाङ हुँदै पुनः काठमाडौं फर्कन सकिन्छ ।    

चखेल देउराली
हरिया दुई पहाडका खाेंच हुँदै सलल बगेको ५ किमि नागबेली बाटो काटेर बायाँ लागेपछि चखेल पुगिन्छ । कमेरो र रातो माटोले लिपेका सुन्दर घर देखिन्छन् । मौसम अनुसारका बाली तथा फूलले गाउँको  सौन्दर्य बढाउँछ । पहाडको खोंचबाट बगेको सानो खोल्साको  समानान्तर हुँदै बिस्तारै उकालो लाग्नुपर्छ । गाउँको बाटो काटेपछि करीब ४ किमि उकालो लागे चखेलदेउराली पुगिन्छ । यहाँ ऐतिहासिक  रज्जुमार्गको बिसौनी हेर्नु बेस । हिमाल, पहाड र काठमाडौं उपत्यकाको संयोजनको मनोरम दृष्य यहाँबाट हेर्न पाइन्छ । यहाँबाट ७ किमि  ओह्रालो लागेपछि मातातीर्थ पुगिन्छ भने करीब १२ किमिमा कलंकी चोक ।

अन्त्यमा 

थाहा नगरपालिका क्षेत्र प्राकृतिक सुन्दरताका दृष्टिले अतुलनीय छ । काठमाडौंसँग जोडिएको यस नगरपालिकाको हावापानी, जैविक विविधता, मनमोहक पर्यटकीयस्थल, उर्वरभूमि, सांस्कृतिक विविधता जस्ता विशेषताले घुमफिर गर्न रोचक हुन्छ ।  

पर्यटन विकासका लागि इन्द्रसरोवर वरपर साइकलमार्ग र पदमार्ग  बनाउन सम्बन्धित निकाय तात्नुपर्छ । पर्यटन प्रवद्र्धन गर्न स्थानीयस्तरबाट साइकल दौड, हाफ म्याराथन, ट्रायथलन, डुवाथलन जस्ता प्रतियोगिता बर्सेनि आयोजना गरिनुपर्छ ।

अहिले हामी कोरोना संक्रमणको त्रासले लकडाउनमा छौं । अवस्था सहज भएपछि गाउँघर, पर्यापर्यटन र आन्तरिक पर्यटन प्रवद्र्धनका लागि साइकल सहयोगी साधन हुनसक्छ ।  

प्रकाशित: ३ जेष्ठ २०७७ ०५:२७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App