मान्छेलाई चुनौतीपूर्ण कामबाटै आत्मसन्तुष्टि मिल्छ । वाइल्ड लाइफ फोटोग्राफी पनि साहसिक काम हो । यसमै सक्रिय तन्नेरीको नाम–दिपक राजवंशी । उनले आफ्नो क्यामेरामा बाघ, भालु, गैंडा, हात्ती, गोही, मयुर लगायत थुप्रै जीवजन्तु कैद गरिसकेका छन् ।
बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र बर्गदा (ठाकुरबाबा नगरपालिका–४) मा जन्मेहुर्केका राजवंशी शोखले फोटोग्राफी गर्छन् । दालभात जोहो गर्ने उनको पेशा हो ‘नेचर गाइड’ । उनी पर्यटकलाई निकुञ्जमा डुलाउँछन् । त्यहाँका वनस्पति, चराचुरुङ्गी र जनावर देखाउँछन् । साथै तिनका बारेमा जानकारी पनि दिन्छन् ।
उनले गाइड शुरु गरेको पाँच वर्ष भयो । फोटोग्राफी गरेको पनि पाँच वर्षै भयो । उनका दाइ ओमप्रकाश र मामा राजन चौधरी पनि प्रख्यात नेचर गाइड हुन् । उनीहरूबाट प्रकृति संरक्षणका काममा लाग्न प्रेरणा पाएका । उनका फोटोग्राफी गुरुचाहिँ ओम यादव ।
निकुञ्जमा ८५ वटा वयस्क बाघ छन् । त्यहाँ चैतदेखि असारसम्म बाघ भेटिन्छन् । ती पानीमा डुबुल्की मार्न निकुञ्जभित्रका खोलामा आउँछन् । त्यस्तो बेला टाढा बसेर धेरैले तस्बिर खिच्छन् । तर, दिपक त्यस्ता फोटोग्राफर हुन् जसले बाघसँग जम्काभेट हुँदा धेरैपटक तस्बिर खिचेका छन् ।
एउटा घटना, उनी निकुञ्जमा जीप हाँकिरहेका थिए । त्यही ट्रयाकमा परबाट बाघ आउँदै गरेको देखे । उनले हत्तपत्त जीप रोके । मनमा डर पस्यो । तर, त्यो डरलाई राम्रो तस्बिर खिच्न पाइने लोभले जित्यो । उनी छेउमा रहेको क्यामेरा झिकेर बाहिर निस्के ।
‘म ओर्लेर भुइँमा बसें । त्यो बाघ पनि ७० मिटर जति वर आएर बस्यो’, २५ वर्षे राजवंशी दुई वर्ष अगाडिको घटना सम्झन्छन्, ‘मैले फटाफट तस्बिर खिचें ।’ करीब ४ मिनेट जति बसेपछि बाघ उठेर अगाडि बढ्यो । बाघ झन्झन् नजिक आयो । उनले तस्बिर खिचिरहे ।
भित्र जीपमा बसेका विदेशी पाहुना आत्तिए । सँगै जीपमा रहेका नेचर गाइड मामा राजमान सुस्तरी बोले, ‘भान्जा गाडीमा चढ ।’ गाडी खुल्लै थियो । उनी हतारहतार गाडी चढे । बाघ पनि लुसुक्क जंगल पस्यो ।
यसरी बेलाबेलामा जंगली जनावरसँग जम्काभेट भइरहन्छ । तर, सधैं फोटा खिच्न भ्याइँदैन । ‘कहिलेकाहीँ त सातोपुत्लै उड्छ । के गरौं के गरौं हुन्छ’, उनी सुनाउँछन्, ‘त्यसैले हिम्मत र विवेकले काम गर्नुपर्छ ।’
उनी मन बलियो बनाएर तस्बिर खिच्छन् । बाघ सधैं देखिन्न । चरा भने सधैं देखिन्छन् । उनले धेरै किसिमका चरा खिचेका छन् । तिनका आनीबानी पढेका छन् । उनी संरक्षणकर्मी, नेचरगाइड पेशाबाट दालभातको जोहो हुन्छ । फोटोग्राफीबाट उल्लेख्य कमाइ भैसकेको छैन । बरु यसबाट आत्मसन्तुष्टि मिलेको छ ।
बाघसहितका जीवजन्तुको बासस्थानका रूपमा रहेको निकुञ्ज ९६८ वर्ग किमिमा फैलेको छ । सन् १९६८ मा शाही शिकार आरक्षका रूपमा स्थापना गरिएकामा सन् १९८८ मा निकुञ्ज घोषणा गरिएको थियो । यहाँ ४१ वटा एक सिंगे गैंडा, १२० जति जंगली हात्ती र ५२७ प्रजातिका चरा पाइन्छन् ।
उनले जीवजन्तुका साथै थारु संस्कृतिका तस्बिर पनि खिचेका छन् । यतिबेलाचाहिँ लकडाउनले उनी फुर्सदमा छन् । पहिलापहिला यो समय निकुञ्जमा बाघ हेर्नेहरूको भीड लाग्थ्यो । अचेल जंगलमा मान्छे जाँदैनन् । मान्छे नदेखेर जनावर नियाँस्रो मान्दैछन् कि !
‘म शमशेरगञ्जस्थित आफन्तकोमा बसेको छु’, उनले भने, ‘बिहानीपख नजिकैको सामुदायिक वनमा चराका तस्बिर खिच्ने गरेको छु ।’
सुकर्मले उनी बर्दियाका अघोषित पर्यटन दूत बनिसकेका छन् । ‘बर्दिया चिनाउन दिपकको उल्लेख्य भूमिका छ’, पर्यापर्यटन विकास मञ्च, बर्दियाका अध्यक्ष मोहनलाल चौधरी भन्छन्, ‘उनी हाम्रा गौरव हुन् ।’
साहसिक तन्नेरी दिपक राजवंशीले काठमाडौंमा तस्बिर प्रदर्शनी गर्ने योजना बनाएका छन् । कोरोनामुक्त भएर मुलुक लयमा फर्केपछि काठमाडौंबासीले उनका तस्बिर हेर्न पाउनेछन् । चुनौतीपूर्ण काममा रमाएका राजवंशीलाई धेरैधेरै शुभकामना !