६ आश्विन २०८१ आइतबार
image/svg+xml
अन्य

माया बाँड्ने पर्व

शुष्मा आचार्य, कक्षा : १० 
रेन्बो एकेडेमिक होम्स,पोखरा, कास्की ।

हजुरबुबाबाट जयन्ती, मंगलाकाली, भद्रकाली...सुन्नेवित्तिकै मलाई ज्यादै आनन्द लाग्छ । आर्शिबाद पाइने पर्व भएकाले मलाई दसैं एकदम मनपर्छ । सुन्दर वातावरण, मिठो खाना र आर्शिबादको संगम–दसैं । 

शरद ऋतुको हरियाली सर्वत्र मुस्कुराएका बेला नेपालीको घरआँगनमा आइपुग्ने महान पर्व । हर्ष र खुसीको पर्व । आस्विन शुक्लपक्षमा न जाडो हुन्छ न गर्मी । दसैंको स्वागतमा हामी बाटोघाटो, घरआँगन, मठमन्दिर सबै सरसफाई गर्छौं । 

अनुहारमा हाँसो बोकेर हामी दसैंको स्वागत गर्छौं । के गरिब, के धनी सबैका घरमा मिठो, मसिनो पाक्छ । उत्साह र उमंग छाउँछ । 

हामी घटस्थापनाका दिनमा बालुवा र माटोमा पवित्रता एवं समृद्धिको प्रतीक मकै, गहुँ, जौ लगायत छर्छौं । त्यसबाट जमरा उम्रिन्छ । त्यसपछिका नौ दिन शक्ति रुपा महाकालीका विभिन्न रुपको पूजाअर्चना गरिन्छ । मठमन्दिर घुमिन्छ । 

सुन्दर वातावरण, मिठो खाना र आर्शिबादको संगम भएकाले मलाई बडादसैं ज्यादै मन पर्छ । 

खासमा आस्विन शुक्ल प्रतिपदादेखि कोजाग्रत पूर्णिमासम्म मनाईने उत्सव नै दसैं हो । त्यसो त चैत महिनामा पनि दसैं मनाउने चलन छ । प्राचीन समयमा चैतमा मात्र दसैं मनाइन्थ्यो । तर, मौसम राम्रो र किसानलाई पनि हिलोमैलोबाट फुर्सद हुने समय भएकाले असोज–कात्तिकमा बडा दसैं मनाउन थालिएको भनाई छ । 

बडादसैंको दिनलाई दशमी पनि भनिन्छ । बडादसैं अर्थात टीकाको दिन सबैभन्दा पहिला हजुरबुबाबाट निधारभरी रातो टीका, कपालमा जमरा, अनि जयन्ती मंगलाकाली आशिबार्द पाउँदा निकै रमाइलो लाग्छ । परिवारका सबै सदस्य, आफन्त र इष्टमित्रसँग टीकाटालो गरिन्छ । त्यसैले दसैं आत्मीयताको पर्व हो । 

टीका र प्रसाद ग्रहणपश्चात जमिन छाड्नु पर्छ भन्ने मान्यता छ । उपलब्धता अनुसार रोटे, जाँते र लिंगे पिंग खेलिन्छ । म पनि पिंग खेल्छु । 

दसैंसँग नेपाली समाजको संवेदना जोडिएको छ । ब्राम्हण, क्षेत्री, नेवार, तामाङ, मगर, गुरुङ, राई, लिम्बु लगायत सबैले आ–आफ्नै किसिमले दसैं मनाउँछन् । त्यसैले सरकारी तथा निजि कार्यालय र शैक्षिक संघसंस्थाले लामो दसैं बिदा दिन्छन् । 

हाम्रो शहरी परिवेशमा दसैंमा चंगा उडाउने चलन छ । आकाशमा रंगविरंगका चंगा उड्दा इन्द्रेनी जस्तै देखिन्छ । घरआँगन लिपपोत गर्ने, देवीदेवताको पूजा गर्ने, आफन्तसँग माया बाँड्ने पर्वको ठूलो महत्व छ । त्यसैले दसैं राम्रो लाउने र मिठो खाने पर्व मात्र होइन, आपसी सद्भाव, सहिष्णुता र राष्ट्रिय भावना बढाउने पर्व पनि हो । 

हिन्दूको महान चाड दसैंमा अन्य धर्मावलम्बीहरूको पनि सहभागीता देखिन्छ । धार्मिक, सांस्कृतिक र पारिवारीक मूल्यका दृष्टिले दसैं एकता, मैत्री र सद्भावको प्रतीक हो । यस पर्वलाई चिरस्थायी बनाईराख्न आडम्बर, विकृती, विसंगती एवं पाखण्डपनलाई त्याग्नु पर्छ । 

हामी सबैले घाँटी हेरी हाड निल्नु पर्छ । आफ्नो क्षमता अनुसार खर्च गरेर चाडपर्व मनाउनु पर्छ । फजुल खर्च गर्नु हुँदैन । रमाइलोका नाउँमा जुवातास खेल्ने र मदिरा सेवन गर्ने प्रवृत्ति त्याग्नु पर्छ । 

आज हामी कोरोना संक्रमणबाट बच्न हामी लकडाउनमा छौं । केही महिना पछि दसैं आउनेछ । दसैंका सम्झना गर्दै मन रमाउन थालिसकेको छ । अहिलेलाई सुरक्षित भएर घरमा बसौं, कोरोनामुक्त भएपछि चाडपर्व मनाउँला ।

प्रकाशित: २१ वैशाख २०७७ ०२:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App