कास्कीकाे अन्नपूर्ण गाउँपालिकाले उदाहरणीय काम गरेको छ। अन्नपूर्णले स्थानीय उत्पादनमा जोड दिँदै दिगो विकासमा सघाउने रणनीति लिएको छ। धेरैले राहत सामग्रीका रूपमा चामल, मैदा, आटा, दाल, तेल, नुन, चाउचाउ, बिस्कुट, भुजा, चिउरा लगायत खाद्यवस्तु जुटाएर बाँडिरहेका छन्। तर, कास्कीको अन्नपूर्ण गाउँपालिकाले भने चामल, मैदा, चिउरा, बिस्कुट, चाउचाउको साटो कोदो वितरण गर्ने नीति लियो। पर्याप्त पौष्टिक तत्व हुने र गाउँमै उत्पादन हुने भएकाले कोदो वितरण गर्न थालेको गाउँपालिकाको भनाइ छ।
गाउँपालिका अध्यक्ष युवराज कुँवरका अनुसार कोदो वितरण गर्दा दुईवटा फाइदा छन्। पहिलो हो, कोदोबाट मानव शरीरलाई पर्याप्त पोषण मिल्छ। कोदो खाँदा शरीर स्वस्थ हुने र त्यसले शरीरको रोगसँग लड्ने क्षमता बढाउने उनको भनाइ छ। दोस्रो फाइदा हो, गाउँमै पर्याप्त कोदो उत्पादन हुने भएकाले खरिद गर्न बाहिर जानुपर्दैन। गाउँको कोदो गाउँमै खपत हुँदा पैसा पनि गाउँमै रोकिन्छ। चामल किन्दा पैसा बाहिरिन्छ। तर, गाउँमै पर्याप्त कोदो पाइने र गाउँपालिकामार्फत खरिद गर्दा गाउँलेले घरबाटै कोदो बेच्न पाउँछन्। गाउँमै कोदो बिक्री गर्न पाउँदा गाउँलेको आम्दानी बढ्छ। यसले दिगो विकासमा फाइदा दिलाउँछ।
उनका अनुसार गाउँपालिकाले प्रत्येक वडामा ५० देखि एक सय मुरी कोदो खरिद गरेर राख्ने निर्णय गरेको छ। प्रतिपाथी १५० देखि २ सय रुपैयाँ (प्रतिमुरी ३ देखि ४ हजार)का दरले गाउँपालिकाले किसानसँग गाउँमा कोदो खरिद गर्नेछ। खरिद गरिएको कोदो गाउँपालिकाममै संकलन गरिनेछ। उनका अनुसार पौष्टिकताका हिसाबले कोदो उत्कृष्ट अन्न हो। गाउँमै पर्याप्त कोदो फल्ने भएकोले पनि किन्नका लागि बाहिर जानुपर्दैन। गाउँपालिकाभित्रका एकै जना किसानले वर्षमा ४० मुरी जति कोदो फलाउँछन्। गाउँपालिकामा वर्षमा करिब ६ हजार मुरी कोदो उत्पादन हुने उनको भनाइ छ। अध्यक्ष कुँवरले भने, ‘हामीले कोदोबाट पर्याप्त फाइदा हुने देखेर गाउँलेलाई प्रोत्साहन गर्न पनि यो निर्णय गरेका हौ।’
गोरखामा पनि यस्तै सक्रिय स्थानीय तह छन्। गोरखाको सिरानचोक गाउँपालिकाले कोरोना रोकथाम र न्यूनीकरणका लागि बन्दाबन्दीयता टोलटोललाई सक्रिय बनाएको छ। गाउँमा को, कहाँबाट र कहिले आए भन्ने जानकारी लिने, होम क्वारेन्टाइनमा राख्ने काम गाउँपालिकाले गरेको छ। ‘मानिस भीडभाड हुन नदिन हामीले मलामी जाँदा १२ जना मात्रै जान र कसैको घरमा कोही पाहुना भएर आउन–जान दिएनौं,’ वडा नम्बर ७ का अध्यक्ष सुरज ढकालले भने। छिमेकी जिल्ला र पालिकाबाट सिरानचोक गाउँपालिकामा माइती आएकी चेली, हजुरबुबा भेट्न आएका नातिलाई पनि स्थानीयले क्वारेन्टाइनमा बस्नुपर्छ भनेपछि आफ्नै घर फर्केका थिए।
प्रकाशित: ११ वैशाख २०७७ ०८:३४ बिहीबार