२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
अन्य

पैदल यात्रीलाई स्थानीय सरकारको साथ

बाँकेको राप्तीसोनारी गाउँपालिकाले ब्यवस्थापन गरेको ट्याक्टरमार्फत पैदल यात्रीलाई कोहलपुरतर्फ लैजादै। तस्बिर ः अर्जुन ओली/नागरिक

नेपालगन्ज - राजमार्ग क्षेत्रमा पैदल हिडिरहेका ब्यक्तिलाई गन्तब्यमा पुर्याउन सर्वोच्च अदालतले सरकारलाई आदेश दिइसकेको छ। तर, सर्वोच्चको आदेश विपरित सरकारले उल्टो आवत–जावत  नै बन्द गर्ने निर्णय गर्यो। राजमार्गमा पैदल यात्रा गरिरहेकाप्रति संघीय सरकार अनुदार भइरहेका बेला यहाँका स्थानीय तह (सरकार)ले भने राजमार्गका पैदल यात्रीलाई खुलेरै साथ दिएका छन्। 

राजमार्गसँग जोडिएका स्थानीय सरकारले पैदल यात्रीलाई खाना खुवाउने र आफ्नो सीमासम्म पुर्याउने ब्यवस्था मिलाएका हुन्। बाँके र दाङको सीमासम्म आइपुगेका पैदल यात्रीलाई जिल्लाको राप्तीसोनारी गाउँपालिकाले विगत तीन दिनदेखि ट्याक्टर र ट्रकमार्फत कोहलपुरसम्म पु¥याउने ब्यवस्था मिलाइरहेको छ। पुर्वमा शिवखोलादेखि पश्चिममा कोहलपुर नगरपालिकाको सिमाना ७१ किलोमिटर क्षेत्र राप्तीसोनारी गाउँपालिकामा पर्दछ। उक्त गाउँपालिकाले दाङको सीमाबाट करिव ७५ किलोमिटर पश्चिममा पर्ने कोहलपुर बजारसम्म पैदल यात्रीलाई पुर्याउने काम गरिरहेको गाउँपालिका अध्यक्ष लाहुराम थारुले बताए। 

‘लकडाउनको समय दोस्रो पटक थपिएपछि जब मानिसहरु राजमार्गमा पैदल हिड्न थाले, त्यसपछि नै हामीले आफ्नो गाडीबाट पैदल यात्रीलाई बोकेर सीमा कटाउन थालेका थियौं, पैदल यात्रीको चाप अत्यधिक रुपले बढ्न थालेपछि तीन दिनदेखी त ट्याक्टर र ट्रकको ब्यवस्था गरेर पठाइरहेका छौं,’ उनले भने। 

संघीय सरकारले लकडाउन गरेपनि चर्को गर्मीमा पैदल हिड्ने सर्बसाधारणलाई आफूले मानवियताको ब्यवहार गरेको उनले सुनाए। अध्यक्ष थारुले भने, ‘पैदल यात्रीलाई सीमा कटाउने कामको सुरुवात अहिले सबै स्थानीय तहले गरिरहेको देख्दा खुसी लागेको छ, मेरो अझैपनि आग्रह छ, सरकारले गरेको लकडाउन त छदैछ, तर सबै स्थानीय तहले पैदल यात्रीलाई यसरी आ–आफ्नो सिमासम्म पुर्याउने ब्यवस्था मिलाउने हो भने उनीहरु छ्टिटै यो समस्या समाधान हुन्छ।’ 

‘सबै स्थानीय तहले पैदल यात्रीलाई यसरी आ–आफ्नो सीमासम्म पुर्याउने ब्यवस्था मिलाउने हो भने उनीहरु छ्टिटै यो समस्या समाधान हुन्छ’ ः लाहुराम थारु, (अध्यक्ष) राप्तीसोनारी गाउँपालिका।

पैदल यात्रीको ब्यवस्थापनका लागि राजमार्गमा पर्ने छिकेकी पालिका प्रमुख र उपप्रमुखसँग पनि समन्वय भइरहेको अध्यक्ष थारु बताउँछन्।गाउँपालिकाको समन्वयमा स्थानीय उद्योग ब्यापार संघले शम्शेरगन्जमा खाना खुवाउने ब्यवस्था मिलाएको उनले जनाए ।

 संघका अध्यक्ष टिकाराम ढुंगाना भोकै हिड्ने पैदल यात्रीलाई खाना खुवाउने काम गरिरहेको बताउँछन्। ‘हाम्रो क्षेत्रमा कोही पनि भोकै हिड्न नपरोस् भनेर खाना खुवाउने ब्यवस्था गरेका हौं,’ उनले भने। तीन दिनको अवधिमा झण्डै १५ सय पैदल यात्रीलाई गाउँपालिकाले ट्याक्टर र ट्रकको ब्यवस्था गरेर कोहलपुरसम्म पुर्याइसकेको छ। यसका लागि गाउँपालिकाले चार वटा ट्याक्टर भाडामा लिएको छ। 

राप्तीसोनारीले कोहलपुर बजारसम्म पुर्याएका पैदल यात्रीलाई कोहलपुर नगरपालिकाले पनि शुक्रबारबाट आफ्नो सीमा कटाउने ब्यवस्था मिलाएको छ। कोहलपुर नगरपालिकाका उपप्रमुख सञ्जुकुमारी चौधरीले पुर्वबाट कोहलपुरसम्म आइपुगेका पैदल यात्रीलाई पश्चिममा बाँके र बर्दियाको सिमा क्षेत्र मानखोलासम्म र उत्तरमा सुर्खेत र बाँकेको सिमाना बबईमा पुर्याउने ब्यवस्था मिलाइएको बताइन्।

 ‘राप्तीसोनारी गाउँपालिकाले कोहलपुरसम्म ल्याई पुर्याएका पैदल यात्रीलाई हामीले यहाँबाट आफ्नो सिमाक्षेत्र मानखोला र बबईसम्म पुर्याउने गरेका छौंं, खानाको लागि छुट्टै ब्यवस्था छ, उनले भनिन् ‘बर्दियाको बाँसगढी र सुर्खेतको भेरीगंगा नगरपालिकासँग समन्वय गरेर यताबाट हामीले पनि मानिस पठाउने गरेका छौं।’

पैदल यात्रीमध्ये विशेषगरी दुधे बालक, महिला, सुत्केरी बढी समस्यामा छन्। दिनरात पैदल यात्रा गर्दै आइपुगेका उनीहरुको अवस्था नाजुक भइसकेको छ। काठमाडौं, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ, रसुवा, बुटवल लगायत ठाउँमा काम गर्न पुगेका उनीहरु डेरामा चुलो बाल्नै कठिन भएपछि घर फर्किएको बताउँछन्।

 डेढ वर्षको छोरा च्यापेर कैलाली जोशीपुर निवासी परिना चौधरीले बुटवलबाट पैदल यात्रा थालिन्। उनका श्रीमान जीवनसहित सबैले पैदल यात्रा सुरु गरेका थिए। चार दिनपछि मुस्किलले उनीहरु बाँके र दाङको शिवखोलासम्म आईपुगे। तर, यहाँ आउँदासम्म खुट्टा नचल्ने भइसकेका थिए। ‘ठेकेदारले काम बन्द गरेर हिड्यो, डेरामा राखेको चामल सकियो, त्यसकारण पैदल हिड्न बाध्य भएका हौं,’ परिनाले भनिन्। 

पैदल यात्राका क्रममा कुनैदिन भोकै र कुनै दिन चिउरा, चाउचाउ र पानीको भरोसामा ज्यान बचाएको सुत्केरी सुनिता थारुले सुनाइन्। चर्को गर्मीमा दुधे बच्चासँग पैदल यात्रा गर्दा धेरै दुःख, सास्ती बेहोर्नु परेको दुखेसो पोखिन्। घरमा आर्थिक समस्या भएपछि उनी श्रीमानसँग  सिन्धुपाल्चोक पुगेकी थिइन्। श्रीमानले घर बनाउने मिस्त्री काम गथ्र्ये, भने उनी त्यहाँ लेबर थिइन्। पैदल यात्राले थकित भएका उनीहरुलाई राप्तीसोनारी गाउँपालिकाले ट्याक्टरमार्फत कोहलपुरसम्म पुर्याएको छ।

प्रकाशित: ६ वैशाख २०७७ ०७:३१ शनिबार

पैदल_यात्री स्थानीय_सरकार लकडाउन