१० मंसिर २०८१ सोमबार
image/svg+xml
अन्य

कवितामा विभेद विद्रोह

‘क्षत्रीको छोरो यो पाउ छुन्छ घिनले छुँदैन,
मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन।
बोकेर लग्यो भोटेले घर, ऊनमा बिसायो,
पानीको घुट्का पिलाइदियो दयाले रसायो’
(मुनामदन)।

नेपाली कविता साहित्यमा स्थापित प्रिय लोकलय र गम्भीर सन्देशयुक्त कृति मुनामदनमा महाकवि लक्ष्मीप्रसाद देवकोटाले वि.सं १९९२ मै यस्ता सुन्दर मानवतावादी अभिव्यक्ति प्रकट गरेका थिए। विद्यालयदेखि विश्वविद्यालयसम्मका पाठ्यपुस्तक, कक्षाकोठा र आम पाठकका कण्ठस्थ स्मृतिमा यी कविताका हरफ जातीय विभेदविरुद्ध दृष्टान्तका निम्ति निकै प्रयोग गर्ने गरिन्छ। साहित्य समालोचना, सिद्धान्तको बहस र मानवतावादको प्रवचनका निम्ति प्रिय मानिए पनि यस्ता महान् कविताका उक्तिलाई हाम्रो समाजमा व्यावहारिक दृष्टिले के कति उतारियो भन्ने सवाल पेचिलो बनेको छ।

यसअघि नेपाली कविताको पृष्ठभूमि अवधि अर्थात् पूर्वप्राथमिक कालमा जोसमनि सन्त परम्पराका सन्त कविहरूले समाजमा व्याप्त अन्धविश्वास मानवीय छुवाछुतका कारणले बढेको स्वीकार गरेका छन्। ती कविले कर्मकाण्ड, धार्मिक अन्धविश्वास र जातीय विभाजनले जात–जात बीचको पृथक्ता सिर्जना गरेको भाव आफ्ना कवितामा व्यक्त गरेका छन्। उनीहरूले मानवतालाई कर्मका दृष्टिले हेर्दै जातीय भेदभावको अन्त्य गर्न समतामूलक भावधारामा कविता रचना गरेको पाइन्छ। कठोर जात–व्यवस्थामा आधारित तत्कालीन नेपाली समाजमा कविहरूले मानवतावादी भावनालाई मुखरित गर्न अग्रसर हुनु नेपाली कविताको प्रगतिशील उपलब्धि हो। प्रगतिशील कविताले समाजलाई उन्नतिशील बनाउन, आधुनिकताको प्रकाश छर्न र मानवलाई मानव भएर बाँच्न उत्प्रेरित गर्छ।

वर्गीय खाडल र दलित समस्याका विरुद्ध रचना गर्ने कविले मानवतावादी समाजशास्त्रीय विश्वदृष्टिका साथ कविता सिर्जना गर्दै आएका छन्। चर्चित निग्रो कवि क्लाउड म्याक्के लेख्छन् :
‘मलाई संसार जत्तिकै प्राचीन नदीहरू थाहा छ,
मानिसका नसाहरूमा बग्ने रगतभन्दा पनि पुराना।’
लामो समयसम्म गोरा जातिको प्रत्यक्ष दमन र दासतामा काला जातिले कष्टमय जीवन बिताउनुपर्‍यो। विभेद र उत्पीडनविरुद्ध साहित्य सिर्जना गर्ने साहित्यकार पनि चरम यातनामा बाँँच्न विवश हुनुपर्‍यो। म्याक्केका उपर्युक्त हरफमा संसारका नदीहरू जसरी सबै मानवका लागि साझा रूपमै बगेका छन्, त्यसैगरी सिङ्गो मानव रक्तनलीमा सबैको रातो रगत बगेकाले कसैमाथि पनि असमानताका दृष्टिले व्यवहार गर्नु हुँदैन भन्ने महान् विचार अभिव्यक्त भएको छ। त्यस्तै, समग्र मानव जातिलाई रङ, वर्ण र भाग्यमा हेर्नु हुँदैन, कर्मको कसीमा हेरिनुपर्छ, प्रकृतिको साझा चेतनशील प्राणीका रूपमा बराबर सम्मान दिनुपर्छ भन्ने भाव यस कवितामा प्रकट भएको छ।

समीक्षक शारदाप्रसाद घिमिरेले विश्वका कविको जीवनी नामक कृतिमा महाकवि म्याक्केका रंगभेदविरोधी चोटिला र मर्मस्पर्शी कवितालाई साभार गरेका छन्। उनका कवितालाई उग्रवादीको विशेषता प्रदान गरिएको सन्दर्भ समेत उल्लेखनीयछ। तर, गोरा जातिको उग्र दमनका विरुद्ध रचिएका म्याक्केका कवितामा वर्णभेद, दलित उत्पीडन तथा मानवतामाथिको घोर अन्यायप्रति आक्रोश व्यक्त हुनुलाई न्यायोचित कविता वाणी मान्नु यथोचित ठहर्छ। ‘पिसाच र प्रकाश’ शीर्षकको कवितामा म्याक्केले काला जातिलाई दिइएको ‘पिसाच’को संज्ञाप्रति तीव्र कटाक्ष गरेका छन्–

तिमी सोच्दछौ कि तिमीझैँ म पनि पिसाच हुन सक्तिनँ ?
तिमी सोच्दछौ कि हातमा बन्दुक लिएर
एक निग्रोको हत्याको बदला
दश गोराहरूको हत्या गरेर लिन सक्तिनँ?
...मेरो मातृभूमि अफ्रिका हो ः काला पिसाच,
प्रेतात्मा, अजिङ्गर र हिंस्रक नरभक्षकहरूको देश !
परन्तु ती महेश्वरले मेरो आत्माको पाप
तथा अन्धकार खिचेर लिई मलाई आज्ञा दिए–
जाऊ तिमी पृथ्वीका प्रकाश ह्वौ
श्वेत पिसाचका माझमा गएर बस।

यस कवितामा शब्दहरू प्रत्यक्ष रूपमा आए पनि भाव निकै गम्भीर र आलंकारिक छन्। शब्दमा कठोरता छ, तर आसयमा मानवताको सौन्दर्यगामी समान संसार निर्माण गर्ने उद्देश्य निहित छ। धर्तीमा अनवरत परिश्रम गरेर मानव बस्ती बस्न लायक बनाउने बलिया अफ्रिकीलाई दासतामा राख्ने र पिसाच भन्ने अमानवीय व्यवहारप्रति कविको जाग्दो विद्रोह संसारका कवि कलाकार, आममानिस र दलित उत्पीडनमा बाँच्न बाध्य वर्गका लागि अति नै मार्मिक अभिव्यक्ति बनेको छ। हुन त कविता विम्बमा बोल्छ, तर शासकहरू बन्दुकमा बोल्छन्। यही अन्तरले कवि र शासकका बीचमा सुन्दर समन्वय हुन कठिन हुन्छ। कविता त्यसभन्दा माथि प्रतीकमा बोल्छ, तर शासकहरू त्यसलाई आफूहरूको सत्ताविरोधी आवाज ठान्छन्। त्यसकारण कवि र शासकका बीचमा सही सम्बन्ध कायम हुन कठिन छ। त्यसका निम्ति शासकमा पनि कवि हृदयको द्वार खुल्नुपर्छ र तिनमा मानवतावादी वैचारिक समानता व्यवहारसम्मै आइपुग्नुपर्छ। समाजलाई वर्ण, जात, लिंग, वर्ग, धर्म लगायत पक्षबाट विभेद गरिनुहुन्न भन्ने सही मानवता बोध जनता, शासक, अभियन्ता, स्रष्टा र समस्त बौद्धिक तप्कामा गढ्नुपर्छ, त्यसअनुसारका चिन्तन र व्यवहार व्यक्तिदेखि परिवार, कार्यालय, संस्था र अन्तरराष्ट्रसम्म प्रसार हुनुपर्छ।

दलित सौन्दर्य चिन्तनलाई अभिव्यक्त गर्नु कविहरूकोकवि कुशलता मात्र होइन, विचारको प्रखरता र मानवतावादी विश्वदृष्टिको गहिरो बुझाइ पनि हो। दलित चिन्तन र विद्रोहलाई विषय चयन गर्ने कविहरूमा समाजको रूपान्तरण मूल प्राथमिकतामा परेको हुन्छ।
 

मानवताले भरिपूर्ण र जातिगत उत्पीडनको विरोधमा कलम चलाउने कविहरू सम्मानित भएको समाजमा सबै जात, वर्ग, संस्कृतिवाहक, लिंग, पेसा, संस्कारका मानिसको मान–सम्मान र न्याय प्राप्त हुन्छ। दलित सौन्दर्य चिन्तनलाई अभिव्यक्त गर्नु कविहरूकोकवि कुशलता मात्र होइन, विचारको प्रखरता र मानवतावादी विश्वदृष्टिको गहिरो बुझाइ पनि हो। दलित चिन्तन र विद्रोहलाई विषय चयन गर्ने कविहरूमा समाजको रूपान्तरण मूल प्राथमिकतामा परेको हुन्छ। किनभने मानव मानव बीचको अन्तरलाई समानान्तर नबनाएसम्म मानव सभ्यताले सही आकार ग्रहण गरेको हुन्न। समाजको रुग्णतालाई नफालेसम्म विकास र समृद्धि पनि नारा र प्रवचनमा मात्रै सीमित हुन्छ। यही विसंगतिको अन्त्यमा केन्द्रित भएर यस धाराका वैचारिक कवि जातीय समस्याको मानवीय समाधान खोज्ने प्रयासमा रहेका छन्।

‘चोखा बाहुनको गर्भ कामीकी छोरीमा रहे,
भ्रूणको जात के हुन्छ ? लौ श्रुति स्मृति खोल्नुहोस्’ (मानव)।
दलित सौन्दर्य चिन्तनमा आधारित बाहुनवादी जातीय कुसंस्कारको व्यंग्यमा केन्द्रित उक्त कवितांश कवि मोदनाथ प्रश्रितको मानव महाकाव्यबाट साभार गरिएको हो। मानिस जातका आधारमा सानो ठूलो नहुने विचार प्रश्रितले आफ्ना विभिन्न विधाका रचनामा प्रस्तुत गरिरहेका छन्। मेहनत गरेर लुगा सिलाउने, घन पिटेर भाँडा बनाउने, जुत्ता लगायत छालाका सामग्री बनाउनेहरू अछुत नहुने न्यायसंगत विचार उनको छ। मानिसको साझा घर पृथ्वी हो र मानिसको मूल मानिस नै हो भन्ने विचार बोक्नेकवि प्रश्रितले ‘देवासुर सङ्ग्राम’मार्फत जातीय अन्याय विरुद्ध सङ्घर्ष गर्नुपर्ने विचार व्यक्त गरेका छन्–

‘यो देवासुर संग्राम चलिरहन्छ सधैँसधैँ,
धर्ती हुन्न जबसम्म मान्छे भई बस्न लायक’ (देवासुर सङ्ग्राम)। यी पंक्तिले न्यायका लागि संघर्ष चाहना नभई आवश्यकता भएको बोध हुन्छ। मान्छेले मान्छेबाट मान्छेको दर्जा, स्थान नपाएपछि त्यहीँबाट युद्धको जन्म भएको कविताले संकेत गरेको छ। ठूलो र सानो जातको वर्ग रेखामा राखेर अपहेलित, दमित, उत्पीडित बनाएपछि मानवताले भरिएका कवि हृदय विस्फोट हुन्छ र यस किसिमका विद्रोह कविता भएर जन्मन्छ। कवि प्रश्रितले जातीय दमनविरुद्ध उठ्न, वर्गीय खाडल अन्त्य गर्न र समतामूलक समाज बनाउन सबैलाई र विशेषतः उत्पीडित वर्गलाई प्रेरित गरेका छन्।

‘छालाका भरमा गोरा बनेका देवताहरू
आयो तिम्रा जरा काट्न काला राक्षसका दल
अर्काको श्रममा मोज लुट्ने मालिक वर्ग हो
अधिकार खोस्न आए श्रमजीवी निशाचार।
ए कामचोर माथिल्ला जात साहेब हो ! पख !
धुस्रे–फुस्रे दल आयो कामी–सार्की अछुतको !
बस्दैनौँ पुर्पुरो ठोकी भाग्यको नाममा अब
गरिबहरू भई एक लड्नका निम्ति उठ्दछौँ’ (देवासुर सङ्ग्राम)।
यस कवितामा कवि प्रश्रितले शोषक वर्गविरुद्ध शोषित वर्ग जागेको भाव वा आवाज बुलन्द गरेका छन्। जसले भरपुर दशनंग्रा खियाउँछ उसैलाई गरिब बनाइएको, पाप र भाग्यको नाममा ढाँटिएको विरुद्ध तल्लो वर्ग ब्युँतिएको भाव यस कवितांशमा आएका छन्।

यसको सामाजिक विश्लेषण समाजशास्त्र, मानवशास्त्र, राजनीतिशास्त्र, संस्कृति र साहित्यशास्त्र सबै तहमा हुनुपर्छ। यस प्रकारका कविताका अभिव्यक्ति केवल कविता रचना गर्नका लागि मात्र लेखिएको नभई समाजलाई समुन्नत र समानतावादी बनाउन गरिएका बौद्धिक हतियार हुन्। यस्ता बौद्धिक हतियारका विरुद्ध प्रतिहतियारका रूपमा कविता फुर्सदको शब्द खेल हो, मनोरञ्जन र कविको रुचिको अभिव्यक्ति हो, कविको मनोविलास र अनुत्पादक कर्म हो भनेर समाजमा भ्रम छर्ने उपभोक्तावादी सांस्कृतिक दुष्चेष्टा भएको पाइन्छ। समाजमा विभेद अन्त गर्न नचाहने वर्गले त्यस प्रचारलाई आगोमा घिउ थप्ने गरेको देखिन्छ। कुनै कविको जीवनलाई नमुना बनाएर कविताको मानवीय दर्शनको ओज र गरिमालाई होच्याउने तथा कविको विलक्षण प्रतिभामा रहेको सभ्यताको हार्दिकतालाई नजरअन्दाज गर्ने कामले पनि दलित वर्गको उन्मुक्तिमा बाधा पु¥याएको पाइन्छ। कवि, कविता र समाजसित गहिरो र प्रत्यक्ष सम्बन्ध रहेको छ। कवि बाँचेको समाज कवितामा संरचित भएको छ र त्यहाँ युग युगान्तरका मानवीय सुख–दुःखका आरोह–अवरोह चित्रण भएका छन्।

कवि अनुत्पादक शक्ति होइन, बरु समाजलाई मानवतामुखी बनाउन र मानव श्रमको उत्पादनलाई समान वितरण गरी समताको सुन्दर समाज निर्माण गर्ने अभिरुचि भएको विशिष्ट प्रकारको उत्पादक जनशक्ति हो। कविको कविताले उत्पादन प्रणालीमा देखिएका यस्ता जातीय अन्यायमाथि न्यायको दृष्टियुक्त घोषणा गर्न सक्छ, जुन मानव न्यायलयको उच्चतम् ढोका हो। कवि र कविता कानुनको स्रोत र द्रष्टा पनि हो, जसले संसारका अन्यायी अन्धकारलाई शब्द र भावमा सजिलै अनि सरल तरिकाले प्रकट गर्न सक्छ। किसान आन्दोलनसँगै दलित वर्गको मुक्तिमा अभियान चलाएर कवितालाई पनि साथमा लिएर हिँड्ने अर्का प्रतिभा हुन्, केवलपुरे किसान। उनका कवितामा तत्कालीन सामाजिक अन्धविश्वासको खरो चित्रण रहेको छ। आफू जन्मले बाहुन परिवारको सदस्य भएर पनि यसभित्रको विसङ्गतिमूलक सामाजिक रूढ व्यवस्थाप्रति उनको कविता यसरी बोलेको छ :

‘अछुतमा गनिएका दमै, सार्की, कामी
चमार र पोडे च्यामे वादी र धामी
प्रजातन्त्र साँच्चै भए पाउँथे यिनले हक
के को हुन्थ्यो प्रजातन्त्र खाली फोस्रा गफ’ (समातेर पछार)।
यो अछुत प्रथाले मूलतः श्रमजीवी वर्गलाई दयनीय जीवन बाँच्न बाध्य पारेको छ। धेरै काम गर्नेले धेरै दुःख र थोरै सुखको जीवन जिउनुपर्ने दलित वर्गीय विकृतिले नेपाली समाजलाई ग्रस्त तुल्याएको छ। कविहरू यसप्रति ध्यानाकर्षण गर्छन् र समाजलाई चेतना र संघर्षको खुराक कविताकै माध्यमबाट पस्कन्छन्। सांस्कृतिक आन्दोलनमा सामेल भएर वर्गीय उत्पीडनको सिकार भएकाप्रति साहस र साथ दिन तयार कवि डम्बर पहाडी ‘एलाक’ले पनि दलित चेतनाको सौन्दर्य चिन्तनलाई संयोजन गरेका छन्। एक लाइन कविता अर्थात् एलाकका प्रवर्तक पनि रहेका पहाडीले आफ्ना कवितामा दलित पीडाको चित्रलाई कविताको सम्प्रेषण शिल्पमा यसरी प्रस्तुत गरेका छन् :

कामी दाइ–
तिमीले बनाएको
हतियार÷गोली र संगीनले
देशको इतिहास खोपिन्छ
दर्जी दाइ र दिदीहरू–
तिमीले तुनेका
दौरा÷सुरुवाल र टोपीहरूले
सामन्तहरूको
लाज र चेतनाको भण्डार सुरक्षा खातिर छोपिन्छ
सार्की दाइ–
तिमीले खुटेका जुत्ताहरूले
तिनैका पाइताला र इज्जत जोगिन्छ (प्रहर)।

संसारका श्रमशील वर्गलाई शोषण गर्न ल्याइएको छुवाछुत तथा पानी नचल्ने प्रथा अमानवीय कृत्यको एक पराकाष्ठा नै हो भन्ने प्रमाण उक्त कवितांशले बोलेको छ। कविहरू समाजका आलोचक हुन्। साथै उनीहरू समाजका सम्पादक पनि हुन्। कविले सप्रेको स्थानमा प्रशंसा र बिग्रेको स्थानमा आलोचना गरी समाजलाई स्वस्थ र पूर्ण मानवीय बनाउन आफ्नो कलम त्यतातिर ताकेका हुन्छन्। कविहरूका दृष्टिको समाजको गठन र विघटनमा आधारित हुन्छ। साथै कविहरू मान्छेलाई मान्छेका दृष्टिले हेर्न चाहन्छन् र यस्ता दलित समस्याको समाधानमा आफ्ना कलात्मक कवित्वलाई बलियो बनाउन अग्रसर रहन्छन्। समाजको दुरुस्तीकरण होइन, समाजको विश्लेषण र मार्गदर्शनमा कविको भूमिका सार्थक रहेको हुन्छ। यसले कविहरू मनोविलासका निम्ति नभई कलात्मक बान्कीको प्रस्तुतीकरणले मनोरञ्जनका साथै मूलतः समाजलाई सफा गर्न वैचारिक कुचीलाई सार्थक शब्द र भावको संयोजनमा लगाउँछन् भन्ने स्पष्ट हुन्छ। यस सन्दर्भमा कवि र समालोचकको रूपमा आफूलाई स्थापित गरिसकेका अर्का प्रतिभा रामप्रसाद ज्ञवाली दलित चिन्तनलाई यस प्रकार अघि सार्छन्–

पिलाए जसले पानी
पानी बार्छौ तिनैसित
तिम्रो कृतघ्नता देखी
कृतघ्न छ लज्जित (पुतली र झुसिल्किरा)।
पानी काढेर पानीको खोजी गर्ने अन्धविश्वासीहरूको समाजलाई कविले तीव्र प्रकारले विरोध गरेका छन्। जसले पानीको कुलो खन्छ, डुँड बनाउँछ, गाग्री निर्माण गर्छ, ताउलो बनाउँछ, बाटो खन्छ अनि उसैलाई पानी बार्ने, मन्दिर पस्न नदिने, छोइछिटो गर्नुपर्ने जस्ता ढोङ रच्नु गुनलाई बैगनु लाउनु नै हो। कविको दृष्टिकोण मानवताको अपेक्षामा आधारित छ, तर समाजमा पानी बारेर अमानवीय बिस्कुन सुकाउने मूर्खताहरू असरल्ल छरिएका छन्। यसको सटीक चित्रणमा कवि अर्को कवितांशमा यसरी प्रस्तुत हुन्छन् :

रोप्दै विभेदका बीज
अन्धविश्वासका जरा
छर्दै विद्वेषका नीति
धर्म, जात, परम्परा,
हामीलाई लडाएर
हाँस्ने सामन्तवाद हो
वर्गसंघर्षले मात्रै मास्न सक्छ विभेद यो (इन्द्रधनुष)।
कवि ज्ञवालीले समस्याको चित्रण र समस्याको बाटोलाई पनि संकेत गरेका छन्। सामन्ती चिन्तनको पराकाष्ठा जाति विभेद हो भने यसको छिनोफानो वर्गसंघर्ष नै हो। वर्ग युद्ध र यसको परिणाम मानवतावादको व्यावहारिक प्राप्ति हो। कविको लक्ष्य वर्ग उन्मूलन गर्नु हो र समतामूलक समाजको स्थापना गर्नु हो। दलित तथा छुवाछुतको समस्या समाज मनोवैज्ञानिक रूपमा पनि गढेको छ। कथित उपल्लो जातका मानिसलाई तल्लो जातका मानिसले छोएको मात्र होइन, अघि लागेको, देखेको, बोलेको पनि अशुभ लाग्ने गर्छ। दलितमाथिको अपहेलनाको कार्य यतिसम्म अघि बढेको छ कि कसैलाई देख्दा अशुभ हुन्छ र सुनपानी छर्केर चोख्याउने गर्नुपर्छ ! उफ् ! यो हदसम्मको सामाजिक रूढिलाई हाम्रो समाजले कहिले निमिट्यान्न पारेर खुर्किन सक्छ ? ज्वलन्त प्रश्न अझै जब्बर भएर बाँचेको छ। यस सन्दर्भलाई कवि शोभा दुलालले आफ्नो विचार यसरी व्यक्त गरेकी छन् :

‘पँधेरा छेउको बाटोमा हिँड्दै गर्दा
पानीको गाग्री बोकेकी एउटीले
सोधी–
तिमी को नि ?
कमिनी हजुर !
उसले फतफताउँदै भनी–
देख्दिनस्, किन अघि सरेकी, पर हट् !
(ज्वालामुखी फ्टेपछि)।
मानिसलाई मानिस अशुभ लाग्ने जीर्ण विभेदी चिन्तन पालेर बसेका मानिसलाई पढाउने सच्चा गुरु तथा शिक्षक कवि भएर उभिएका छन्। समाजको ऐना देखाउने र उत्पीडक तथा उत्पीडित दुवैलाई एउटै पाठले सिकाउने काम एउटै कविताले एक साथ गर्छ। आफ्ना कवितामा दलित चेतनालाई मुखरित गर्न सक्रिय अर्का वैचारिक प्रतिभा हुन्,पञ्चकुमारी परियार। आफ्नो अनुभव र समाजको अवस्थामाथि आफ्नो बोधलाई कवितामा उनेर कवि परियारले दलित वर्गीय समस्याको चित्रण गरेको पाइन्छ। उनको जुठी कविता सङ्ग्रहभित्रको शीर्ष रचना ‘जुठी’ कविताले जिउँदो पीडालाई बाहिर ल्याएको छ। सुकुम्बासीको जीवन आफैमा कहालीलाग्दो नै हुन्छ, त्यसमाथि कैलालीको डुडेझारीमा शासन सत्ताको निम्छरो व्यवस्थापन र अमानवीय क्रियाका कारण आगलागी घटनामा मारिएको सुकुम्वासीको यथार्थ घटनामा आधारित सो कविता सहिदको रगत र आँसुको आलो पीडामा मुछिएको छ। यसको कवितांश यसप्रकार छ–

गाणतन्त्र आउँदा
पेटभरि खान पाइन्छ
आफ्नै घरमा बस्न पाइन्छ
भन्नेआशा समाउँदै झुपडी बनायौँ
सानो हजुरले आगो सल्काएर खरानी बनाउनुभयो
निःशस्त्र मेरो सन्तानलाई ताकीताकी मार्नुभयो
यही डुडेझारीमा
सन्तान गुमाएकी पागल आमा
म जुठी ! (जुठी)।

कवि परियारको सो कवितांश मानवतामाथि गोली खसालिएको र मानव हृदयले बास मागेको स्थानमा आगो लगाइएको जघन्य अपराधमूलक घटनामा आधारित रहेको छ। आलो इतिहासलाई कविताको विषयका रूपमा चयन गरिएको सो कवितांशले गणतन्त्रमा दलित वर्गको तथा सुकुम्बासीको आवाजलाई हुकुम्वासीले कसरी दबाएका छन् भन्ने मार्मिक दृष्टान्त बनेको छ। दलित चिन्तनमा कविता रचना गर्ने क्रम निरन्तर जारी रहेको छ। नेपालको राजनीतिक, सांस्कृतिक, सामाजिक सन्दर्भमा दलित वर्गको समस्याले विभिन्न रूप लिएका छन् भने कविहरूले पनि त्यसलाई सोही युग परिस्थितिको प्रतीक बनाएर आफ्ना सशक्त विचारलाई सम्प्रेषण गरेका छन्। कविको वैचारिकता र कविताको कलामा पाइने समन्वयको समीक्षाका साथै हाम्रो मानव समाजलाई सशक्त र समानतामुखी बनाउन सबैको सकारात्मक भूमिका आवश्यक रहेको छ।

अर्का प्रसिद्ध कवि हृदय तथा नारी प्रतिभा झमक घिमिरेले पनि दलित चेतनालाई आफ्ना कवितामा यसरी प्रस्तुत गरेकी छन् :
आमै ! मेरो एउटा पाइतालाले
तिम्रो सिकुवामा कुल्चँदा
अबुझ हुन्छ रे
बिटुलो हुन्छ रे
तर तिम्रा पाइतालाहरूले मेरो छातीमा
पटकपटक कुल्चँदा
त्यसलाई बिटुलो मानिएन
त्यसलाई अपवित्र ठानिएन
किन मान्छे मान्छेमा पनि यो फाटो ?
किन यो विभेद? (झमक घिमिरेका कविताहरू)।

यो विभेद आज भर्खरै आएको होइन। यसका बारेमा विद्वान्हरूले आफ्ना अध्ययन र खोजलाई निरन्तरता दिएका छन्। वर्ण व्यवस्था र यसभित्र जन्मिएको जात उपजातको माथिल्लो तल्लो वर्ग रेखामाथि बहस गर्ने अनुसन्धानकर्ताले इतिहासदेखिकै आर्थिक शोषणमा आधारित वर्ग समस्याका रूपमा यसलाई औँल्याएका छन्। समीक्षक आहुतिले शूद्र र दास प्रथाको इतिहासको पृष्ठभूमिलाई स्पष्ट पार्ने कोसिस गरेका छन्।उनका अनुसार शूद्रहरूलाई ब्राह्मण र क्षत्रीहरूले षडयन्त्रपूर्वक चरण–चरणमा फुटाउ र राज गरको सिद्धान्तअनुरूप प्रयोग गर्दै दासतामा पुर्‍याएको तर्क गरेका छन्। धर्म, संस्कृति, अर्थ, राजनीति लगायतका स्वार्थमा प्राचीन कालदेखि नै दासप्रथाको एक कडीको रूपमा दलित वर्गको जन्म गराइएको पाइन्छ। इतिहासको तराजुलाई मानवीय तुलोमा जोख्ने हो भने मानव खण्डहरमा धेरै–धेरै अन्यायका तख्ताहरूको कालो इतिहास पाइन्छ। कसैलाई देवत्वकरण र कसैलाई अछुतकरण गरी सामन्ती सत्ताको संस्कार र संस्कृति निर्माण गर्ने खेलका रूपमा दलित समस्याको जन्म भएको कविहरूको कवितामा स्पष्ट बोध हुन्छ। यस सन्दर्भमा कवि केवल बिनाबी लेख्छन्–

हो ! राम
म उही शूद्र शम्बुक
तिम्रो रामराज्यको
एक अछुत ! (आफर)।
राम राज्यको इतिहासको समाजशास्त्रीय अध्ययन हुन बाँकी नै होला। त्यस जाँतोमा कति अछुतरूपी घुनहरूलाई पिसियो र देवत्वकरणमा इतिहास लेखियो अनुसन्धानको विषय हो। खास इतिहास मेटेर दलितहरूलाई सबाल्टर्न बनाइयो र सबाल्टर्नहरूको पुनःइतिहास लेखनले मात्रै त्यस अनुसन्धानलाई सही निष्कर्षमा लैजान सक्छ। आफरमासिलवाल, हरिशरण परियार लगायतले दलितका मुद्दा उठाएका छन्।

मिथक र बिम्बमा कवितालाई बुन्न रुचाउने आधुँनिक कवि सुरेश हाचेकाली दलित सौन्दर्य चिन्तनलाई पनि समावेश गर्दछन्। ग्रामीण समाजको घरेलु श्रममा आधारित उद्योगी परम्परामा दलितको श्रमको मूल्य कसरी हराएको छ ? कसले खोसेको छ ? उनले आफ्ना सुन्दर अभिव्यक्तिमा यसरी प्रस्तुत गरेका छन्–
पचास वर्षभन्दा बढी
यही कुटीर उद्योगमा फलाम पिट्यौ
यही आरनले उत्पादन गर्‍यो
गाउँभरिका लागि
बन्चरो, खुर्पा, कोदालो र खुकुरी...
(पृथ्वी सवाई)।
परिश्रमी वर्गका मानिसहरू जो दलित, दमित, उत्पीडित, शोषित तथा शाषित बन्नुपरेको छ, तर तिनकै कमाइमा रमाइ अनि रजाईं गरेर कथित माथिल्लो वर्गले जीवनलाई सुखमा परिणत गरेको छ। यो मानव समाजमा भएको मत्स्य न्याय जस्तै शक्तिवालले कमजोरलाई खाने संस्कार हो। यसमाथि कविको व्यङ्ग्य निकै सन्देशमूलक छ।

प्रकाशित: ८ चैत्र २०७६ ०४:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App