१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अन्य

सुखद् खबर, छिम्केश्वरीको निम्तो

तनहुँ जिल्लाको सबैभन्दा अग्लो डाँडो छिम्केश्वरीमा फागुन २५ देखि २७ गतेसम्म छिम्केश्वरी पर्यटन तथा सांस्कृतिक महोत्सव हुँदैछ। आँबुखैरेनी गाउँपालिका–५ मा अवस्थित छिम्केश्वरी (२,३२४ मिटर)लाई धार्मिक पर्यटन गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले तेस्रो पटक महोत्सव गर्न लागिएको महोत्सवका संयोजक एवं छिम्केश्वरी पर्यटन विकास समितिका अध्यक्ष तिलबहादुर गुरुङ बताउँछन्।

यसअघि विसं २०६५ र विसं २०६८ मा महोत्सव गरिएको थियो। वर्सेनि फागु पुर्णिमाका दिन छिम्केश्वरी मन्दिरमा मेला लाग्दै आएको छ। त्यही मेलामा विभिन्न गतिविधि जोडेर महोत्सवका रूपमा मनाउन लागिएको हो। छिम्केश्वरीको काखमा लाब्दी र भोटेश्वारा गाउँ छन्। त्यहाँ होमस्टे सुविधा छ। ‘हजारौंले मेला भर्ने अनुमान छ’, गुरुङ भन्छन्, ‘हामी पाहुनालाई गाउँका घरघरमा बाँडेर राख्नेछौं।’

छिम्केश्वरी हिमालय दर्शका लागि समेत प्रख्यात छ। डाँडाबाट अन्नपूर्ण, मनास्लु, र लाङटाङ हिमश्रृङ्खला देखिन्छ। महोत्सवका आकर्षणहरूमा पदयात्रा, साइक्लिङ, छिम्केश्वरी दर्शन, जातजातिका परिकार र नाचगान आदि छन्। महोत्सवलाई गाउँपालिका, पर्यटन बोर्ड, उद्योग वाणिज्य संघ लगायत संस्थाले सहयोग गर्दैछन्।

छिम्केश्वरीका प्रतिनिधिहरूले अघिल्लो साता काठमाडौंमा पत्रकार सम्मेलन गरेर महोत्सवमा विशेषतः आन्तरिक पर्यटकलाई निम्तो बाँडिसकेका छन्। विसं २०७५ साउनमा समिति दर्ता भएपछि यसले छिम्केश्वरीको विकासमा अगुवाइ गर्दै आएको छ। अचेल आँबुखैरेनीबाट मन्दिर नजिकैसम्म मोटर बाटो खनिएको छ। जीपबाट ओर्लेर ४० मिनेट हिँडेमा मन्दिरमा पुगिन्छ। सम्पर्क ः तिलबहादुर गुरुङ–९८४६५३८१३९

भक्तपुरमा सामुदायिक होमस्टे


भक्तपुर जिल्लाको दक्षिणी भेक दधिकोट क्षेत्रको सिरानीमा अनन्तलिंग डाँडा छ। शान्त वातावरणमा उभिएको डाँडाबाट ललितपुर, काठमाडौं र भक्तपुरको मनमोहक दृश्य देखिन्छ। साथै मौसम उघ्रिएका बेला हिमालय दर्शन पनि चित्ताकर्षक हुन्छ।

सूर्यविनायक नगरपालिका–४ मा पर्ने डाँडामा धमाधम भ्यूटावर निर्माण भैरहेको छ। त्यहाँ भर्खरै ‘अनन्तलिंगेश्वर सामुदायिक होमस्टे’ सञ्चालनमा ल्याइएको छ। क्षेत्री र ब्राम्हणका १० घरमा होमस्टे गराइन्छ। वडा कार्यालयको सहयोगमा होमस्टे प्रवद्र्धन गरिँदैछ।

त्यहाँको प्रमुख आकर्षण अनन्तलिंगेश्वर मन्दिर हो। मन्दिरमा हातामा सातौं शताब्दीमा राजा नरेन्द्र देवले राख्न लगाएको शिलालेख छ। यसरी यो १३ सय वर्षभन्दा पुरानो मन्दिर  हो। जंगल बीचमा कलात्मक अनन्तलिंगेश्वर (१,४३०मिटर)। मन्दिर बाहिर चाहिँ बासुकि, उमामहेश्वर, गणेश,लक्ष्मी, सरस्वती, गरुड आदिका मूर्ति छन्।

मन्दिर हातामा अनन्त कुवा र पोखरी छ। मन्दिरमा साउने सोमबार, शिवरात्रि, जनैपूर्णिमा, बाला चतुदर्शी, गाईजात्रा, तीज, दशैतिहार आदि समयमा भीड लाग्छ। मन्दिर माथि कैलाशडाँडा (१,४९० मिटर) छ। दृश्यावलोकन गर्न डाँडा उपयुक्त छ। हाइकिङका लागि समेत अनन्तलिंगेश्वर क्षेत्र आकर्षक मानिन्छ। यहाँबाट पाइलटबाबा आश्रम, लाँकुरी भञ्ज्याङ, बिरुवा आदि ठाउँमा पदयात्रा गर्न सकिन्छ। अरनिको राजमार्गको नयाँ ठिमीबाट दक्षिण करिब ६ किमिमा अनन्तलिंग डाँडा छ। मन्दिरको बेस क्याम्पसम्म नयाँ ठिमी चोकबाट सार्वजनिक बस चल्छन्।
सम्पर्क ः नारायणप्रसाद धिमाल–९८६००३६७९०

जाऔं है दोलखा


गौरीशंकर हिमालको उज्यालोमा झलमल्ल दोलखामा पर्यटक रमाउने थुप्रै सम्पदा छन्। त्यहाँका जिरी, कालिन्चोक र भिमेश्वरमा चहलपहल हुन्छ। यीबाहेक पनि दोलखामा थुप्रै पर्यटकीय आकर्षण छन्। स्थापित गन्तव्यका साथै शैलुङ, मेलुङ, च्छोरोल्पा, बिगु गुम्बा लगायत सम्पदाको प्रचार गरेर पर्यटक बढाउने उद्देश्यले दोलखाका तन्नेरीहरूको संस्था पर्यटन प्रवद्र्धन मञ्च नेपालले ‘जाऔं है दोलखा’ अभियान चलाउँदै छ। नेपाल भ्रमण वर्षको अबसरमा विसं २०७७ सालभर विभिन्न कार्यक्रम गरिने अभियानका संयोजक लिलाराम खड्का बताउँछन्।

दोलखाकै जिरीमा जन्मे/हुर्केका खड्का विगत एक दशकदेखि जिरीको पर्यटन प्रवद्र्धनमा क्रियाशील अगुवा हुन्। अभियानको पूर्व सन्ध्यामा उनले काठमाडौंका केही पत्रकारलाई शैलुङ, चरिकोट, बिगु, सिँगटी र कालिन्चोक घुमाएर प्रचारात्मक कार्यक्रम गरिसके। साथै ती ठाउँका युट्युव भिडियो समेत बनाइएको छ।

अभियानमा समग्र जिल्लाको चिनारी दिने बुकलेट, ब्रोसर, पोष्टर प्रकाश एवं युट्युव भिडियो निर्माण गरिनेछ। साथै च्छोरोल्पादेखि जिरी झर्ने पदमार्गको रिब्राण्डिङ, झरनाहरूमा क्यानोनिङको संभावना अध्ययन, पर्यटनकर्मीलाई होटल व्यवस्थापन तालिम, होमस्टे प्रवद्र्धन, दोलखा काव्ययात्रा, पत्रकारलाई पुरस्कार लगायत गतिविधि गरिने खड्का बताउँछन्।

अभियान चलाउन पैसा चाहिन्छ। उनलाई कसैले रकम दिएर अभियान चलाऊ भनेको होइन, मातृभूमिको ऋण तिर्न उनले समग्र जिल्लामै पर्यटक बढाउने अभियान चलाउन लागेका हुन्। शुरूमा सिड मनि आफैं खर्च गरिरहेका छन्। बाँकी कार्यक्रमका लागि सहयोग जुटाउँदै अभियान सफल बनाउने उनको रणनीति छ।  
सम्पर्क ः लिलाराम खड्का–९८४९३०३९२०

 

प्रकाशित: १७ फाल्गुन २०७६ ०४:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App