प्रा . डा बेनी जंगम रावल
लोकगीतको चर्चा गर्न ‘लोक’ र ‘गीत’लाई बुझ्नु जरुरी हुन्छ। ‘लोक’ शब्दले राष्ट्रका सर्वसाधारण सबै जनता भन्ने अर्थ बोध गराउँछ। यही अर्थ दिने गरी अंग्रेजीमा ‘फोक’शब्दको प्रयोग गरिन्छ। हिन्दी र नेपाली भाषामा प्रयोग गरिने लोक शब्द ‘फोककै पर्याय र प्राचीन शब्द हो। संस्कृत एवं पाली ग्रन्थमा लोकका लागि ‘जन’ शब्द प्रयोग गरिएको पाइन्छ। यस दृष्टिमा जन र लोक शब्दमा धेरै समानता भए पनि प्रयोग र परम्पराका दृष्टिले ‘फोक’का लागि लोक शब्द नै उपयुक्त मानिएको छ। यसले राष्ट्रका सर्वसाधारण सबै जनता भन्ने अर्थ बोध गराउँछ।
दोस्रो शब्द ‘गीत’व्युत्पत्तिको आधारमा तत्सम शब्द हो ।गीत शब्द ‘गै’ धातुमा ‘क्त’ प्रत्यय लागेर बनेको छ, जसले ‘गाइएको’ अथवा ‘गाउन मिल्ने’ रचना भन्ने अर्थ जनाउँछ। गीतलाई अर्थाउन अंग्रेजीमा ‘सङ्’ तथा ‘लिरिक-लिरिक्स’ आदि गाइने वा गाइएको पद्य गीतको रूपमा प्रयोग भएको पाइन्छ। यसर्थ नेपालीमा ‘गीत’ पद्य साहित्यको एउटा प्रकार र गायनमा प्रयोग गरिने विधाका रूपमा विकसित भएको मानिन्छ। ‘लोकगीत’ मेरो बुझाइमा लोकको गीत हो, जुन जनसाधारणमै हुर्की, बढी परिपक्व भई सिर्जित भएको गीत–संगीत रचना हो। विभिन्न स्थान र अवसरमा आफ्नो संस्कृति र आवश्यकताअनुसार गाइने गीतहरूलाई लोकगीत भनिन्छ। लोकगीत जुनसुकै बेला गाउन सकिन्छ। यो समय र स्थानको बन्धनबाट मुक्त भएकाले बन्धनरहित गीत हो। लोकगीतलाई भरिया र किसानले गाएका छन्, दाउरापात गर्दा थकाई मेट्नका लागि सुसेलीका रूपमा पनि गाइन्छन्।
लोकगीतले लोकसाहित्यलाई आत्मसात गर्छ, लोककाव्यलाई स्पर्श गर्छ र लोकगाथा गाउ“छ। त्यसकारण लोकगीति छन्दको जीवन्ततालाई बुझेर यससँग सम्बन्धित व्यक्ति वा जमातले मात्रै होइन, राज्य र सम्बन्धित संस्थाहरूले समेत लोकगीतको महत्तालाई चिन्न र संरक्षण गर्न आवश्यक छ ।
कुनै पनि उमेरका मानिसले सजिलै टिप्न सक्ने खालको लय र शब्दयोजना हुने भएकाले यसले जनसाधारणलाई चा“डै आकर्षित गर्छ। लोकगीतको लोकप्रियताका कारण यसको सशक्त भाव, सरल गायनशैलीलाई नै मान्नुपर्दछ। यो साधारण, स्वाभाविक र प्राकृत भएका कारण लोकप्रिय पनि छ। लोकगीतका अनेक प्रसंगलाई हेर्दा यो लोककै इतिहासका पाना हुन् जस्तो लाग्छ। हाम्रो समाजमा सामाजिक रूपमा यस्ता अनेकौँ सामग्रीहरू लोकगीतको रूपमा छरिएका छन्। ती सामाजिक घटनावलीलाई जोडेर लोक कलाकारले गीतका रूपमा प्रकट गर्ने हुँदा लोकमा यसको महत्व छ।
यसरी लोकगीतले तत्कालीन समाज र इतिहासलाई मात्रै पोख्दैन, तिनका भाका, विविध छन्द, लय, रस, अलङ्कार समेत प्रवाहित गर्ने भएकाले साहित्यिक र सांगीतिक रूपमा पनि यसलाई महत्वपूर्ण मानिन्छ। लोकगीत लोक परम्परा वा मौखिक परम्पराको रूपमा विकसित हुँदै आएको भेटिन्छ। यसैलाई पूर्वीय सन्दर्भमा श्रुति परम्परामा आधारित श्रव्यधारा पनि भनिन्छ भने पश्चिमा देशहरुमा मौखिक परम्परा भनिन्छ। जुन ज्ञानलाई सुनीसुनी पुस्तौँपुस्ता सुरक्षित राखिन्छ ।
लोकगीतको क्षेत्र र वर्गीकरण
नेपाली लोकगीतको क्षेत्र अति व्यापक छ। त्यसकारण यो विधालाई वर्गीकरण गर्नु त्यति सहज छैन। लोकजीवनको समग्र पक्षहरूको प्रतिविम्ब लोकगीतमा भएकाले लोकजीवनका संस्कार, परम्परा, रीतिरिवाज, सुख–दुःख र त्यस क्रममा आउने सामाजिक, आर्थिक, प्राकृतिक एवं ऋतुगत प्रभाव यसमा देखिन्छ। यसको सर्वाङ्गीण अध्ययनभित्र सैद्धान्तिक स्वरूप पनि प्रस्ट्याउनु जरुरी छ। असंख्य रूपमा रहेका लोकगीतका अनेक रूप, भेद र विषय छन्। समयको परिवर्तनसँगै लोकगीतका ती विभिन्न रूप र भेद पनि परिवर्तित भइरहेका छन्। त्यस्तै हिजो गरेका अध्ययन र अनुसन्धानहरू पनि आजका ज्ञाताहरूले वैज्ञानिक अध्ययन भएको ठान्दैनन् र यसको खोज आ–आफ्नै तरिकाले अध्ययन र वर्गीकरण गरेका छन्।
लोकगीतमा विविधता, बहुरूपता र नित्य नवीनता देखिनाले यसको वर्गीकरण गर्दा कुनै विद्वान्ले आपूmभन्दा पहिलेका विद्वान्ले गरेका वर्गीकरणलाई आलोचना गर्ने र नयाँ वर्गीकरण पेस गर्ने गरेका छन्। तर, लोकगीतको क्षेत्र असीमित, असंख्य र समयको परिवर्तनसँगै परिवर्तन हुने र स्थिरता नहुनेजस्ता रूप र गुण अनि विषयगत विविधताका कारण यसको वर्गीकरण एउटै नरहनु स्वाभाविकै हो। यस विषयमा धेरैले वर्गीकरण गरेका छन्। लोकगीत वातावरणअनुसार बेग्लाबेग्लै छन्। सांस्कृतिक झाकीलाई गीत-संगीतको माध्यमबाट व्यक्त गर्नु नै वास्तविक लोकगीत हो। प्रत्येक प्रादेशिक क्षेत्रले आ–आफ्नो लोकसंस्कृति झल्काउने भाका व्यक्त गरेका हुन्छन्, त्यसैले लोकगीतलाई समाजको ऐना, समाजको मौखिक इतिहास, प्रतिनिधि स्मृति साहित्य भनिएको हो। यहाँ नेपाली लोकगीतका क्षेत्र र यसका वर्गीकरणका आधारलाई यस प्रकार लिन सकिन्छ। क्षेत्रीय आधारहरू मुख्यतया नेपाली लोकगीतलाई निम्नानुसार वर्गीकरण र विश्लेषण गर्न सकिन्छ :
हिमाली खण्ड
नेपालको उत्तरी भागमा रहेको हिमाली क्षेत्रमा लामा, शेर्पा जातिहरू बसोबास गर्छन्। भोट संस्कृतिबाट प्रभावित यी लामा, शेर्पा, गुरुङ, तामाङ आदि जातिहरूका आफ्नै किसिमका लोकगीत छन्। हिमालको चिसो हावाको संसर्गको रहन–सहनले गर्दा यिनीहरू हिमालको बयान आफ्नो गीत सेब्रुमा प्रकट गर्छन्। सेब्रुगीत र नृत्य धार्मिक–सामाजिक दुवै किसिमको पाइन्छ। यिनीहरूको गायनशैली, भाका र नाच, पाँच स्वरयुक्त औडव स्वरहरूको भाका, तार सप्तक गायनशैलीमा गाउने विशेषता पाइन्छ। उनीहरू ल्होसार, मनिरिम्बु, दुम्जे आदि चाडपर्वमा स–साना गीतदेखि लामा–लामा धार्मिक गीत, नाट्यहरू गरेर रमाउ“छन्। उनीहरूको विशेष वाद्य ढ्याङ्ग्रो, झ्याली, घण्टी, लाभा, चोसरङ्गा, स्वगचाम, शङ्ख, डम्फु, नगरा र टुङ्ना आदि हुन्।
पहाडी खण्ड
उत्तरी हिमालय खण्डको संस्कृति भोट संस्कृतिबाट प्रभावित छ भने दक्षिण तराईको संस्कृति भारतीय संस्कृतिबाट प्रभावित छन्। बीच पहाडी खण्डको संस्कृतिमा भने आफ्नै मौलिकता र मान्यता छन्। त्यसैले यहा“का लोकगीतहरूमा आफ्नै किसिमको संस्कृतिको छाप देखिन्छ। यस खण्डमा विभिन्न धर्म र संस्कृतिका मानिस बसोबास गर्छन्। यहाँ प्रायः ब्राह्मण, क्षेत्री, मगर, गुरुङ, तामाङ, दमाई, कामी, सार्की, गाइने आदि जातजाति पनि आफ्नो सामाजिक प्रभावमा बसेको पाइन्छ। त्यसकारण आ–आफ्ना जातीयता झल्काउने लोकगीतहरूलाई आफ्नै भाषा र भाकामा छन्द, शैलीको निश्चित नियमभित्र बसी प्रस्तुत गरेको पाइन्छ। पहाडी लोकगीतको रचनामा शब्दानुसारको मीठो लयात्मकता देखिन्छ। शब्दानुप्रासको आलङ्कारिकता र अन्त्यानुप्रासको तुकबन्दी पहाडी भेकमा गाइने लोकगीतको विशेषता हो।
विशेषगरी खेत, वन, पाखा, प“धेरा, नदीनाला, उकाली–ओराली आदि पहाडी भेकका ध्वन्यात्मक लय र सुस्केरा हुन्। रेलिमाई, निरमाया, हजुर, कान्छी रिमै आदि पहाडी भेकका लोकगीतका थेगो हुन्। यस भेकका सबैजसो जातिले दसै“–तिहार आदि पर्व धुमधामका साथ मनाउ“छन्। विशेषगरी हिन्दूहरू दसै“मा मालश्री, तिहारमा भैली–देउसी, विवाहमा रत्यौलीबाहेक अन्य गीत, बालन, स“गिनी, सोरठी र कर्खा आदि गाउ“छन्। क्षेत्र र वातावरणअनुसार लोकगीत गाउने र नाच्ने परम्परा पनि आ–आफ्नै छन्। जस्तोः पूर्व पहाडतिर झ्याउरे, सेलो, च्याप्भ्रुङ, स“गिनी, बेठी, समला, चण्डी, बिरानी आदि प्रचलित छन्। मेलापात, जुहारी, दोहरी, चाडपर्व, उत्सव, जात्राहरूमा समय र परिस्थितिअनुसार मादल, सनई, डमरु, शङ्ख, च्याप्भ्रुङ, ढोलक, सारङ्गी, खै“जडी, ट्याम्को, टुङ्ना, चा“प, मुरली, बा“सुरी, नरसिङा, दमाहा, डमरु, झ्याली, कर्णाल आदि बाजालाई आवश्यकताअनुसार प्रयोग गरी गाएको पाइन्छ।
उपत्यका खण्ड
देशको राजधानी काठमाडौं (कान्तिपुर) सँगै ललितपुर (पाटन), भक्तपुर (भादगाउ“) ठूलो उपत्यकाभित्र पर्दछन्। नेपालको पहाडी खण्डमै पर्ने यो उपत्यकाभित्र आदिवासीको रूपमा नेवार जातिको विशिष्ट संस्कृति, संस्कार र भाषा पाइन्छ। नेवारहरू अन्य पहाडी क्षेत्रमा धेरथोर बसाइ“ सर्दै गए तापनि उपत्यका यो जातिको प्रमुख स्थल हो। आफ्नै जीवनशैली भएको यस जातिका चाडपर्व, उत्सव, जात्रा, रीतिरिवाज, चालचलनमा प्राचीनताको छाप प्राचीन अभिलेख र शिलालेखहरू र आफ्नै भाषाको लिपिद्वारा पनि प्रस्टिन्छ। यिनीहरू महादेव अर्थात् नासःद्योलाई नृत्य र सङ्गीतका देवताको रूपमा पुज्छन्।
तन्त्रवादी नेवार जाति ‘षोडसो लास्य’ नामका १६ प्रकारका नाचगानका देवतालाई पनि पूजा गर्छन्। जस्तैः चर्या, महाकाली, लाखेनाच, नवदुर्गानाच, देवीनाच, कुमारीनाच आदि यी सबै नाचलाई उत्कृष्ट परम्परागत गायनले साथ दिएको पाइन्छ। यी परम्परालाई मल्ल राजाका पालादेखि नै विभिन्न गुठी तथा खलःहरू (दापाखलः, भजनखलः आदि) ले जीवित राखेका छन्। १४औ“, १५औ“ शताब्दीदेखिका नेवारी लोकगीतहरू घाटु, मालश्री, बिहा“चुली, बाह्रमासे आदि अझै जीवित छन्, जसमा आफ्नै प्रकारका राग, ताल आदिले पनि बेग्लै अस्तित्व कायम राखेका छन्। हिजोआज चलनचल्तीका लोकगीत जस्तैः वसन्त, फागु, बिहाचुली, सिलु आदि छन्।
लोकगीतमा नेवार जातिले आफ्नै वाद्य प्रयोग गर्छन्। जस्तैः खीं, मगःखीं, पच्छिमा, बासुरी, बय्, भुस्या, छुस्या, धिमे, नेकुबाजा, काः, पोगा, ताः र नाय्खींं आदि। उपत्यकाका नेवारी लोेकगीतमा विविधता पाइन्छ। मौलिक परम्परामा जन्मने, हुकर्ने र फैलने लोकगीतहरू परिवर्तित हुदै जान्छन्। तर युगौ“देखि बा“चेको आफ्नै किसिमको परम्पराले ओगटेको लोकगीतलाई सकेसम्म परिवर्तनतिर नलगी जस्ताको त्यस्तै बचाई राख्नसक्नु लोक–संस्कृतिको जर्गेना गर्नु हो। यो कुरा नेवारी समाजले हिजोआज यस्ता सामग्री सङ्कलन गरी संरक्षित र सुरक्षित गर्दै आएको अनेकौ“ गीतिसङ्ग्रह र पुस्तकहरूबाट स्पष्ट हुन्छ।
तराई खण्ड
नेपालको दक्षिण भागको समतल भूभाग तराईमा बसोबास गर्ने नेपाली जातिमध्ये मैथिली, भोजपुरी, थारू, सतार, राजवंशी, कोचे, मेचे, धिमाल जस्ता आदिभाषीको विशेष स्थान छ। तराईको जनजीवनमा हाटबजार जाने, चाडपर्व मनाउने र खेतीपाती तथा सुखदुःखको घामछायामा खेल्ने जीवन चाहे मैथिली होस् वा धिमाल, चाहे थारू वा भोजपुरी भाषा बोल्ने होस्, झन्डैझन्डै उस्तै पाइन्छ। त्यहा“को प्राकृतिक वातावरणमा पनि धेरै कुराको सामञ्जस्यता पाइन्छ। त्यसकारण यिनीहरूका लोकगीतमा व्यक्त सामाजिक भावना भिन्नाभिन्नै भाषा र बोली भईकन पनि मिल्दाजुल्दा छन्। तराईका लोकगीतहरूमध्ये मैथिली, भोजपुरी, धिमाल, झा“गड, झिझिया, गौना, होरी, रसिया आदि प्रसिद्ध छन्। तराईका लोकगीत निकै सम्पन्न छन् भन्ने कुरा अध्ययन र अन्वेषणबाट स्पष्ट भइसकेको छ।
समान संस्कृति, आपसी पारिवारिक सम्बन्ध र खुला सीमा आदि कारण तराई खण्डका बाजा धेरैजसो भारतका बाजास“ग मेल खाएको देखिन्छ। तराईका लोकबाजामध्ये ढोलक, मुरली, बा“सुरी, उर्नी, गोमना, तुझाई, पश्चिमा, मादल, तबला, चाप, झ्याली, दोदरा, झ“ाझर, मुजुरा, कठताल, चिम्टा, तासा, एकतारे र नागबेली आदि हुन्। उपरोक्त बाजाहरूलाई लोकगीतअनुसार बजाई आफ्ना रीतिस्थिति, रहनसहन विश्वासका साथ गाएर आफ्नो भावमा अभिव्यक्त गर्छन्। स्थान विशेषको भौगोलिक छाप र प्रभाव उनीहरूका लोकगीतमा उत्तिकै पाइन्छ। केही लोकगीतले क्षेत्रीय सीमा पार गरी राष्ट्रिय रूप लिएको पनि पाइन्छ। झ्याउरे, देउडा, मङ्गल गीत आदि यस्ता लोकगीत हुन्। यीबाहेक लोकगीतलाई निम्न आधारमा वर्गीकरण गर्न सकिन्छ ।
स्वरूपका आधारमा
लोकगीतको स्वरूपमा गीतको आकार र त्यसमा प्रयुक्त आख्यान पर्छन् ।आकारका आधारमा लोकगीत तीन प्रकारका छन्।
१) लघुतम गीत : प्रबन्धात्मक आकार भएको ऐतिहासिक घटनाको चर्चा भएको कर्खा, चाँचरी, भारत घाँटु (गुरुङ, नेवारी) सोरठी आदि।
२) लघुगीत : छोटोछोटो आकारमा रचिएको अन्तरारहित गीतजस्तो झ्याउरे, चुड्का, रोइला, गाइने गीत, भैले, देउसी आदि ।
३) मध्यम लोकगीत : यसमा स्थायी र अन्तरायुक्त हुन सक्छ। जस्तोः मालश्री, फागु, बाह्रमासा, सोरठी, घाँसे (स्थायी अन्तरासहित) आदि।
लोकगीतमा प्रयुक्त कथ्यलाई आधार मान्दा तीन प्रकार वर्गीकरण गर्न सकिन्छ–आख्यानयुक्त, आख्यानमुक्त र फुटकर। यसलाई विद्वान्हरूले कथावस्तुका आधारमा मुक्तक गीत, कथात्मक गीत, भावप्रधान, प्रबन्धात्मक र विविध भावनासँग सम्बन्धित विषयवस्तु भएका छोटोछोटो गीत समेतलाई स्वरूका आधार दिई आ–आफ्ना ढङ्गले व्यक्त गरेका छन्।
उपयोगिताका आधारमा
लोकगीत मनोरञ्जनका लागि मात्र गाइने नभई त्यसभित्र उपयोगिता खोज्ने परम्परा समेत छ। कुनबेला कहाँ, के गर्दा ती लोकगीत गाइन्छ भन्ने देखाउनु नै उपयोगिता हो। यस्ता विशेष महिना, दिन, चाडपर्वमा र कार्यका अवसरमा मात्र गाइने धेरै लोकगीत छन्। कति लोकगीत ऋतु परिवर्तनसँग सम्बन्धित छन् भने कति लोकजीवनका आफ्नै धारणा, परम्परागत मूल्य–मान्यता र विश्वाससँग सम्बन्धित। यस प्रकार खास अवसर वा समयमा मात्र गाइने लोकगीतको आफ्नै उपयोगिता हुन्छ। प्रचलित लोकगीतलाई उपयोगिताका आधारमा चार भागमा वर्गीकरण गर्न सकिन्छ– गायन समयका दृष्टिले, पात्रो वैधानिक दृष्टिले, गायन अवसरका दृष्टिले र प्रकार्यका दृष्टिले।
यहाँनेर ‘गायन समय’ भनेर निश्चित समयमा गाइने लोकगीत बुझ्नुपर्छ। कुनै लोकगीत बिहान मात्रै गाइन्छ भने कुनै साँझ त कुनै दिउँसो। जस्तोः बिहान–बेलुका गाइने आरती, भजन हुन् भने दिनमा गाइनेमा बाह्रमासे गीतहरू पर्छन्। विशेष महिना–दिन (जन्मदा, मर्दा, छैँटी, न्वारन, बिहे, व्रतबन्ध)मा गाइने संस्कार गीतलाई पात्रो वैधानिक उपयोगिता जनाउने लोकगीत भनिन्छ। कुनै लोकगीत संस्कार गर्दा मात्र गाइन्छ भने कुनै पर्व विशेषमा मात्र। गायन अवसरका लोकगीतभित्र पर्वगीतहरू पर्छन्, जस्तोः तीजगीत, माघेगीत, पञ्चमीका गीत, मालसिरी, भैलो, देउसी, धान्नेपूर्णे गीत, जन्माष्टमी गीत, उभौली, उँधौली आदि। प्रकार्यलाई विशेष काम गर्दाको अर्थमा गाइने गीत मानिन्छ। यस्ता गीत धार्मिक–कार्य, जीवन–संस्कार, चाडपर्वका पनि हुन सक्छन्। तर, यहाँ सामान्य गीतलाई कुनै श्रममूलक कार्यको अवस्थासँगै सम्बद्ध गर्न खोजिएको छ ।यस्ता श्रममूलक गीतहरू ऋतु, अनुष्ठान र महिनासँग पनि सम्बद्ध भएकाले ती प्रकार्य अवसरमूलक गीतका रूपमा असारे, साउने, भदौरे, बेठीगीत, दाइँगीत, पालमगीत आदिलाई पनि लिन सकिन्छ।
वय भिन्नताका आधारमा
लोकगीत हरेक उमेरका मानिसले गाउँछन्। सानो उमेरका केटाकेटीले गाउने मनोरञ्जनात्मक गीतदेखि ज्ञानमूलक वा अर्थयुक्त गीत, युवायुवतीले गाउने शृङ्गार रसमा आधारित प्रेमपरक लोकगीत, प्रौढले गाउने आर्थिक, सामाजिक, धार्मिक एवं सांस्कृतिक परिवेशमा उपदेशमूलक गीत आदि वय भिन्नताअन्तर्गत पर्छन्। जस्तोः केटाकेटी खेलसम्बन्धी (कुखुरी काँ, ताराबाजी लै–लै, उडकुसी–मुडकुसी, टपटप टोपी, नाचन नानी नाचन, इन्टुमिन्टु, चिमुसी चियाना आदि), युवायुवती तथा प्रेमसम्बन्धी प्रेमगीत (ख्याली, झ्याउरे, चुड्का, फागु) र प्रौढ तथा धार्मिकगीत (भजन, सिलोक, प्रभाति, मङ्गलगीत, मालश्री आदि)।
लिंग भिन्नताका आधारमा
लोकगीत पुरुष वा महिला दुईमध्ये कुनै एक वर्गले मात्र गाउने पनि छन्। यसका अध्येताहरूले लिंग भिन्नताका आधारलाई नारीगीत र पुरुषगीत गरी दुई वर्गमा छुट्याएका छन्। तर, धेरैजसो लोकगीत नारी एवं पुरुष दुवैले गाउने खालका हुन्छन्। लोकगीतलाई लिंग भिन्नताका आधारमा तीन भागमा वर्गीकरण गर्न सकिन्छ ।
१) नारीगीत (तीज गीत, भैली गीत, मागल गीत, रत्यौली गीत, घाँटु गीत, सँगिनी गीत आदि)।
२) पुरुषगीत (माघेगीत, देउसी गीत, दाइँगीत, खाँडोगीत, कौडागीत, फागुगीत, आदि) ।
३) नारी–पुरुष मिश्रित (झ्याउरे, चुड्का ख्याली, घाँसे अर्थात् बाह्रमासे, दोहोरीत, जुहारी गीत आदि)।
विषयवस्तुका आधारमा
माथि आइसकेको छ किलोकगीत कुनै न कुनै विषयमा गाइएको हुन्छ। ती विषय समाजमा घटेका घटना विशेष, व्यक्ति विशेष, धर्म विषयक, प्रेम विषयक आदि विविध पक्षसँग सम्बन्धित हुनसक्छन्। त्यसैले विषयवस्तुका आधारमा लोकगीतलाई पाँच प्रकारमा विभाजन गर्न सकिन्छ–१) धार्मिक विषयवस्तुका आधारमा (भजन–कीर्तन, आरतीगीत आदि)। २) ऐतिहासिक विषयवस्तुका आधारमा (कर्खा, भारत, लहरी आदि)। ३) पौराणिक विषयवस्तुका आधारमा (तीजे, महाभारत, रामायण, स्वस्थानी, चरित्रा आदि)। ४) सामाजिकविषयवस्तुका आधारमा (प्रेम विषयक र अन्य)। ५) विविध आधारमा (यसअन्तर्गत संस्कार लगायत गीत पर्न सक्छन्)।
प्रस्तुतिका आधारमा लोकगीत
लोकगीतका प्रकार निर्धारण गर्दा प्रस्तुतिलाई पनि महŒव दिइन्छ। यहाँ प्रस्तुतीकरणभित्र लोकगीतलाई प्रभावकारी ढंगबाट प्रस्तुत गर्न प्रयोग गरिने वाद्य, भेषभूषा आदि पर्छन्। त्यसकारण लोकगीत गाउँदा प्रयोग गरिने बाजा र नृत्यको पनि विशिष्ट भूमिका हुन्छ। अध्ययनका क्रममा स्वर मात्र झिकेर गाइने सादागीत, नाच मिलाएर गाइने गीत नृत्यगीत र बाजासँगै गाइने गीत वाद्यगीत हुन् भन्न सकिन्छ। यसरी विविध प्रकारका वर्गीकरणलाई हेर्दा लोकगीतलार्ई प्रस्तुतिका दृष्टिले तीन भागमा छुट्ट्याउन सकिन्छ :
१) वाद्यप्रयोगका आधारमा, वाद्यसहित (तामाङसेलो, बालन, भजन चुड्का, खैँजडी भजन, ख्याली आदि) र वाद्यरहित (घाँसे, रसिया, असारे आदि)।
२) पात्रसंख्याका आधारमा (सामूहिक, युगल, एकल आदि)।
३) नृत्यका आधारमा नृत्यसहित सोरठी, सँगिनी मारुनी, झ्याउरे, चुड्का आदि र नृत्यरहित घाँसे, काँठे झ्याउरे, रसिया आदि।
४) अभिनयका आधारमा, अभिनययुक्त (सोरठी, बालुन, सिलु) र अभिनयरहित लोकगीतहरू आदि। यीबाहेक लोकगीतलाई साहित्यिक, सांगीतिक आदिमा पनि वर्गीकरण गर्न सकिन्छ।
सौन्दर्यशास्त्रका आधारमा
लोकगीत मनोरञ्जन प्राप्त गर्नका लागि गाइन्छ र सुुनिन्छ। यसलाई गाउँदै र श्रोताले सुन्दै रसास्वादन गर्न सक्छ। लोकगीतमा एकै रस मात्र प्रवाहित हुँदैन, एउटै गीतमा विविध रसभाव हुन सक्छन्। छन्द वा लयले गीतलाई गति प्रदान गर्छ। लोकगीत पद्य विधा हो, त्यसैले छन्दको माध्यमबाट कविको सिर्जनात्मक अभिव्यक्तिमा गति लिए जस्तै अशिक्षित वर्गले पनि लय र छन्दकै माध्यमले लोकगीत सिर्जना गर्छ। प्रायः लोकगीत निश्चित छन्द र लयमा बाँधिएका हुन्छन्। जस्तैः झ्याउरे, चुड्का, घाँसे, दोहोरी, सवाई, सेलो छन्द आदि। तर केही लोकगीत लयको प्रभावमा गाइन्छन्।
लोकगीत बौद्धिक व्यक्तिबाट सिर्जित नभई सर्वसाधारण लोक कलाकारबाट सहज र स्वाभाविक रूपमा प्रस्फुटन हुने हुँदा अलंकारहरू पूर्वयोजनामा निर्धारित नभई चमत्कृत रूपमा आएको हुन्छ। जस्तैः उपमा र उपमानको मौलिक प्रयोगहरू काँक्रे बियाँ दाँत, लहरे छाँगो आदि शब्द आएका हुन्छन्। शब्दालंकारको रूपमा आउने वर्णहरू स्वभावतः अनुप्रास जस्तै गरेर हाँगै र बिँगै आदि ‘ल’ व्यञ्जन आदिले पनि श्रुतिरम्य तुल्याएका हुन्छन्। त्यस्तै श्लेष अलंकार, अर्थालंकार, रूपक, उत्पे्रक्षा, स्वभावोक्ति, अतिशयोक्ति अलंकार, छन्द र ताल मिलाउन शब्दको आगम र विलोपले पनि लोकगीतलाई प्रभावपूर्ण बनाउँछ।
लोकगीतमा निहित काव्य सौन्दर्यको विवेचना शास्त्रीय आधारमा भएको हुँदैन। त्यसकारण संरचना तत्वका तहमा आउने गेयात्मकता लोकगीतको मूल पक्षसँगै आउने गर्छन्। यसका बाह्य संरचनामा आउने अक्षरहरूको गणना, मात्रा मौखिक नियमानुसार नै बनाइएका हुन्छन्। तैपनि गाउँदागाउँदै, बोल्दाबोल्दै लय र छन्द सन्तुलित भई गेय र सांगीतिक बनेको पाइन्छ। यसलाई पनि वर्गीकरण गर्न सकिन्छ। जस्तैः सवाई झ्याउरेको संरचना (१२ अक्षर, १३ अक्षरको), झ्याउरे भाकाको संरचना (१०-१० अक्षरको), सवाई लयको संरचना (७ अक्षरमा विश्राम भई १३-१४ अक्षरमा पूर्ण हुने), मन्त्र गीतको संरचना (अनुष्टुप छन्दमा), रोइला (६-७ अक्षरमा) आदि।
यस प्रकार बाग्मती अञ्चलमा गाइने लोकगीतलाई निम्न आधारमा वर्गीकरण गर्न सकिन्छ– १) रसका आधारमा (शान्तरस प्रधान, करुणरस प्रधान, वीररस प्रधान, शृंगार रस प्रधान, हास्यरस प्रधान आदि)। २) छन्दका आधारमा (झ्याउरे छन्द, सवाई छन्द, रसिया, घाँसे छन्द आदि)। ३) अलंकारका आधारमा (शब्दालंकार अर्थात् अनुप्रास श्लेष, अर्थालंकार, उपमा, रूपक, उत्पे्रक्षा, स्वाभावोक्ति, अतिशयोक्ति आदि)। ४) संरचनागत आधारमा (६ अक्षरे, सात अक्षरे, आठ अक्षरे, १० अक्षरे, १२ अक्षरे आदि)।
लय वा भाकाका आधारमा
लोकगीतमा स्वरगठनलाई भाका (लय) भनिन्छ भने भाकाको दोस्रो रूप लोकगीत गाउने शैली पनि हो। लोकगीतको सिर्जनामा गेय गुण हुनाका कारण यो विभिन्न लयमा उनिएर लोकको कण्ठ–कण्ठमा पुग्ने गर्छ। यसैकारण लोकगीतमा भाकाको महŒव हुन्छ। गीतका भाकालाई स्थानका आधारमा (धादिङे, पोखरेली, पूर्वेली, पश्चिमेली, कालीपारे, बन्दीपुरे) र जातका आधारमा (वादीगीत, दमाईगीत) आदि नाम दिइन्छ। मनोरञ्जनका निम्ति गाइने गीतका विभिन्न लय र भाका हुन सक्छन्। यस प्रकार भाकाभित्र स्वर र लय रहेको हुन्छ भने लयभित्र ताल र मात्रा आदि हुन्छ। यहाँ लयबद्धता र स्वरबद्धता गीतका भाकाका रूपमा आउन सक्छन्। जस्तैः झ्याउरे लय, चुड्केभाका (प्रासंगिक चरणहरू प्रयोग गरी अन्त्यानुप्रासका आधारमा बनाइएका सामान्य, उत्तम, मध्यम झ्याउरे र चुड्के भाका) आदि। यसमा भाका झिक्ने र भाका छोप्ने आदि प्रक्रिया पनि प्रयोग हुन्छन् ।
संगीतात्मकताका आधारमा
लोकगीतगेय हुन्छ। गेयता सांगीतिकताको सूचक हो। प्राचीनकालदेखि संगीत र स्वरलाई संयुक्त रूपमा लिइएको पाइन्छ। यसरी संगीत शब्दले सामान्य अर्थलाई पनि उच्च र प्रभावकारी बनाइदिएको छ। लोकगीतमा सामान्यतः शब्द, कण्ठ, लय र वाद्य आदि आवश्यक पर्छन्। गीतलाई नृत्यसँग जोड्ने तत्व पनि संगीत हो। लय लोकगीतको आवश्यक अंग हो, जसलाई संगीतात्मकता अन्तर्गत राखिन्छ। सबै नेपाली लोकगीतमा वाद्य अनिवार्य छैन, तापनि परिस्थिति र वातावरण अनुसार कतिपय गीत गाउँदा वाद्य सामेल गरिन्छ। कतिपय लोकगीतहरू वाद्यबिना नगाइने अर्थात् गायनको महत्व नझल्कने खालका पनि प्रशस्त छन्।
यस प्रकार शब्द, स्वर र तालको लयबद्ध संरचनात्मक अभिव्यक्ति नै संगीतात्मकता हो। जुनसुकै प्रकारको गीतको अभिव्यक्तिमा संगीतमयता रहेन भने त्यो सिंगो रूपमा व्यक्त हुन सक्दैन। संगीतमयता लोकगीतको अन्तरंग धर्म पनि हो। जसअन्तर्गत श्रोताको मनोभावमा हृदयस्पर्शिता आउँछ भने बहिरंग धर्ममा लय, मात्रा, ताल, विभाग, ताली, खाली आदि रागाङ्गका विशिष्ट पक्ष पर्छन्। यस लोकगीतलाई पाँच आधारमा वर्गीकरण गर्न सकिन्छ– रञ्जकता, वाद्य, ताल, स्वर र लय।
रञ्जकता, वाद्य र ताल अन्तर्गत ६ मात्राको झ्याउरे ताल, ८ मात्राको ख्याली ताल, ४–४ (८) मात्राको सेलो ताल, चरित्र ताल, सोरठी ताल (७ र १४ मात्रा), डम्फूताल (४-४ मात्रा), खैंजडी ताल (८-८ मात्रा), चोःताल (८ मात्रा) र लँःताल, प्रःताल आदि पर्छन्। त्यस्तै, स्वरअन्तर्गत (दुईस्वरे, तीनस्वरे, चारस्वरे, पाँच स्वरे, ६ स्वरे, सातस्वरे) आदि पर्छन् भने लयअन्तर्गत (विलम्बित, मध्य विलम्बित, मध्यलय, द्रूत लय) आदिलाई लिन सकिन्छ ।
लोकगीतको प्रकृति र विकृति
लोकगीतको मूल बाटोलाई कसैले बिगार्न वा दूषित पार्न सक्दैन। नेपाली गीत–संगीत जगत्मा लोकगीत विधा स्थापित छ। हाल लोकगीतले केही ठोस उपलब्धि प्राप्त गरिसकेको महसुस हुन्छ। वास्तवमा संगीत, कला, गायन सबैको सरोकारका विषय हुन्। ती सबै दैनिक जीवन–जगत्कै गतिशीलता र विस्तारमा सहयोगी अर्थात् टेवाका लागि उभिएका हुन्छन्। नेपाली लोकगीतको ऐतिहासिकता केलाउँदा दैलेख, दुल्लुका जितारी मल्ल र जालन्धरी मल्लको गाथा (वि.सं. १३४४–१३५६), सुदूरपश्चिमको ‘रिपु मल्लको चाँचरी’ (वि.सं. १४६९ को घटनासँग सम्बन्धित), ‘बझाङको भारिखेल’ (वि.सं. १८६३ को घटनासँग सम्बन्धित) आदिले नेपाली लोकगीत परम्परा अँगाल्दै आएको देखिन्छ।
यसरी लोकगीत गायन परम्पराको विकासमा लामो इतिहास बोकेका लौकिक संस्कृति लोक परम्परामाथि हामीले गर्व गर्नुपर्छ। तर, यो परम्परामाथि कहिले, कसैले अश्लील शब्द प्रयोग गरी प्रस्तुति समेत दिई हानिकारक काम गर्न खोज्छन् भने बाटो बिराएकालाई बाटो देखाउनु, सप्रिन मद्दत गर्नु पनि हाम्रो सरोकारको विषय हुन जान्छ।
लोकगीतको संरक्षण
व्यापक अर्थमा लोकगीत विभिन्न दिशा, विभिन्न क्षेत्र, विभिन्न उमेरमा विभिन्न तौरतरिकाबाट परिभाषित हुन सक्ने माथि नै भनियो। आजको बदलिदो परिस्थिति र परिवेशमा लोकगीतको प्रामाणिकता अध्ययनको आधार बनिरहेको छ। यस्तोमा लोकगीतको अध्ययनमा पनि मनोवैज्ञानिक परीक्षण र विभिन्न विधिहरूलाई समेत अपनाउनुपर्ने आवश्यक भइसकेको छ । वास्तवमा लोकगीत लोकजीवनको सामाजिक–सांस्कृतिक प्रतिविम्ब हो। ग्रामीण जीवन होस् वा सहरी, विश्वास–अन्धविश्वास, परम्परा, कर्मकाण्ड आदिमा आधारित जीवनशैलीहरू लोकगीतद्वारा परिलक्षित हुन्छन्।
लोकगीतमा लोकजीवनका सुखदुःख, सपना–विपना, प्रतिकारात्मक कल्पना तत्व आदि मिश्रित हुन्छन्। यसको सर्वाधिक महत्व लोकरञ्जन वा मनोरञ्जन नै हो। यसलाई एक्लै–दुक्लै गुनगुनाउन वा श्रोता समूहमा गाउन सकिन्छ। लोकगीतले लोकसाहित्यलाई आत्मसात गर्छ, लोककाव्यलाई स्पर्श गर्छ र लोकगाथा गाउ“छ। त्यसकारण लोकगीतको संरक्षण एवम् विकासका लागि यस विधाप्रति लागिपर्ने जमात र व्यक्ति मात्र सजग भएर पुग्दैन, राज्य, समाज, क्षेत्र र सम्बन्धित संस्थाहरूले समेतचासो देखाउन आवश्यक छ। नेपाली कलाकारहरूले लोकगीतको महत्तालाई चिनेर माया गरिदिए नेपाली लोक परम्परा जिउदो रहने मैले देखेकी छु।
(लेखक नेपाली लोकगीत विषयकी विद्यावारिधि हुन् ।)
प्रकाशित: १८ माघ २०७६ ०७:१९ शनिबार